बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइले बिरुद्धको औषधि खुवाइने

‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइले बिरुद्धको औषधि खुवाइने


  • संजय रेग्मी
  • फाल्गुन २६ २०७८, बिहिबार

पर्वत/ अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइले विरुद्धको औषधि खान नमान्दा पर्वतका केही ठाउँमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइले बिरुद्धको औषधि खुवाउने तयारी गरिएको छ ।
धार्मिक विश्वास तथा औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको हो भन्ने कुप्रचारका कारण सङ्क्रमणको नमुना परीक्षण गरिएका जिल्लाका दुई ठाउँमा पारिवारिक परिचय पत्र बनाएर स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताए । पर्वतको कुश्मा नगरपालिका–१ पाङको नुवार, टार र ततरकोट तथा फलेवास नगरपालिका–५ खानीगाउँलाई सर्वेक्षणको नमुना केन्द्रको रूपमा लिइएको छ ।

लगातार छ वर्षसम्म हात्तीपाइले विरुद्धको औषधि सेवन गरेमा त्यसपछि भने सेवन गर्नु नपर्ने भए पनि पर्वतमा भने यस पटक १३ औँ चरणमा औषधि खुवाउन थालिएको छ । पाङका तीन स्थानमा गरी तीन सय २५ जनामा गरिएको नमुना सर्वेक्षणमा तीमध्येका ५.३३ प्रतिशतमा हात्तीपाइलेको सङ्क्रमण रहेको पुष्टि भएको थियो । जबकि सङ्क्रमणको अवस्था एक प्रतिशत भन्दा तल झरेको अवस्थामा मात्रै त्यो क्षेत्र सुरक्षित रहेको मानिन्छ ।

यही अवस्थाका कारण हरेक नागरिकले अनिवार्य रूपमा औषधि खानुपर्ने बाध्यता लगाउनको लागि ‘पारिवारिक खोप कार्ड’ अनिवार्य गरेर औषधि सेवन गराउन लागिएको निमित्त कार्यालय प्रमुख पौडेलले बताए । ‘म आफै खान्छु भन्ने, स्वयंसेवीकाबाट औषधि लिने तर नखाई फाल्दिने गरेका कारण स्याम्पलमा लिएका पाँच प्रतिशतमा सङ्क्रमण देखियो । यही कारण कोभिडको खोप कार्ड जस्तै हात्तीपाइलेको औषधि सेवन कार्ड बनाएर खुवाउन लागिएको हो,’ उनले भने, ‘त्यो कार्ड नदेखाई वडा वा नगरपालिकाका सेवा लिन नपाउने अवस्था हुन सक्छ । ती ठाउँमा आवश्यक परे प्रहरी उपस्थित गराएर भए पनि स्वास्थ्यकर्मीकै अगाडि औषधि सेवन गराउनुपर्ने अवस्था पनि रहन सक्छ ।’ व्यक्तिका लागि नभई परिवारका सदस्य सबैको एकमुस्ट कार्ड बन्ने भएका कारण परिवारका कोही एक जनाले मात्रै औषधि सेवन नगरे पनि कार्ड नपाइने पौडेल बताउँछन् । हरेक वर्ष समस्या देखिएपछि यस वर्ष कडाइका साथ औषधि सेवन गराउन प्रशासनसँग समेत कुरा भइरहेको उनको भनाई छ ।

औषधि सेवन कार्यक्रमलाई जिल्लाभर नै प्रभावकारी बनाउनको लागि यस वर्ष स्वास्थ्य स्वयंसेविकामार्फत औषधि वितरण गर्ने काम रोकिएको छ । स्वयंसेवीकालाई अटेरी गरेको देखिएका कारण आवश्यक परामर्श सहित स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवाउने तयारी स्वास्थ्य कार्यालयले गरेको छ । यसो गर्दा लामो समय लाग्ने भएकाले औषधि खाने अभियानलाई एक हप्तासम्म सञ्चालन गर्न लागिएको छ ।

‘जिल्लाभरका नागरिकले स्वास्थ्यकर्मीकै अगाडि बसेर औषधि सेवन गर्नुपर्नेछ । स्वयंसवीकाहरुले आफ्नो क्षेत्रका तथ्याङ्क हामीलाई उपलब्ध गराउनुहुन्छ, तर उहाँहरूले औषधि बाँड्नुहुन्न,’ सर्ने रोगका कार्यक्रम संयोजक तेजप्रसाद सुवेदी भन्छन्, ‘अरूले छोएका कुरा नखाने धार्मिक विश्वास र विदेशीले नेपालमा ट्रायलको रूपमा औषधि खुवाएको हो भन्ने कुप्रचारका कारण आम नागरिकले यो औषधि नखाएको पाइयो । अटेर गरेमा जनस्वास्थ्य तथा रोग सम्बन्धी कानुन अनुसार जानुपर्ने अवस्था हुन सक्छ ।’
पर्वत अस्पतालका चिकित्सक डा. डी.बि क्षेत्रीका अनुसार हात्तीपाइले विरुद्ध खुवाइने औषधिले लुतो, एलर्जी, जुम्रा पर्ने लगायतका समस्याहरूको समेत उपचार गर्ने भएकाले आम नागरिकले ढुक्कका साथ औषधि सेवन गर्नुपर्ने बताउँछन् । सार्क राष्ट्रका भारत र नेपालमा हात्तीपाइले समस्या बढी रहेको बताउँदै उनले कुप्रचार र अन्धविश्वासकै कारण यो अवस्था आएको बताए । ‘दुई वर्षभन्दा कम उमेरका बच्चा, गर्भवती वा सुत्केरी भएको सात दिनसम्मका आमाहरू तथा सिकिस्त बिरामीलाई हामी यो औषधि दिँदैनौँ,’ उनले भने, ‘७० वर्ष उमेर पार गर्नुभएका ज्येष्ठ नागरिकको हकमा स्वास्थ्यकर्मीले अवस्था हेरेर विचार गर्नुहुन्छ ।’

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो वर्ष जिल्लाका ८४ प्रतिशतले औषधि सेवन गरेका थिए । यस वर्ष एक लाख ११ हजार तीन सय २५ जनालाई औषधि खुवाउने लक्षित समूहमा राखिएको छ । छ हजार ३ सय ८२ जना दुई वर्ष मुनिका बालबालिका तथा चार हजार एक सय १६ जना गर्भवती बाहेक अरूलाई लक्षित समूहमा राखिएको छ । औषधि सेवन गराउनको लागि करिब तीन सय जना स्वास्थ्यकर्मी र पाँच सय जना महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गर्ने तयारी स्वास्थ्य कार्यालयले गरेको छ ।
हात्तीपाइले बिरुद्धको औषधि सेवन गर्ने अभियान यही फागुन २८ गतेबाट सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->