बागलुङ/ गाउँभन्दा आधाघण्टा टाढाको पँधेरा पुगेर पानीको गर्जो टार्दै आएकी फलेवास नगरपालिका–३ शंखरपोखरी बिष्टपानीकी राधिका भुसालको घरमै धारा बनेको छ । राधिकाले बिष्टपानीमा आएदेखि गाग्री बोकेर पँधेरा धाउन छोडेको केही समय मात्रै भयो । घरछेउको चौरमा ‘डिप बोरिङ प्रबिधि’बाट पानी तानेपछि राधिकाको घरमा पानी प्रसस्तै छ । गाग्रीको पानी अड्कलेर प्रयोग गर्ने राधिका अहिले चाहिएको बेला धारा खोलेर प्रयोग गर्छिन् ।
यो समस्या राधिकाको मात्रै थिएन्, बिष्टपानी गाउँका १८ परिवारले भोग्दै आएको समस्या थियो । अहिले सबै घरमा बनेका धारामा जमिन मुनीको पानी खसेको छ । सामुन्द्रिक सतहबाट १२ सय ४८ मिटर उचाइमा रहेको बिष्ट गाउँमा १ सय २० मिटर जमिनमुनिबाट पानी निकालिएको छ । ३२ एमएमको पाईपमा दिनमा दुईघण्टा पानी तान्दा गाउँलाई दिनभरी पानी पुग्छ । ‘हामीले सानो मोटर राखेर पानी तानेका छौं, सफा पानी चौबिसै घण्टा आउँछ’ डिप बोरिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष अशोक भुसालले भने ‘चैत वैशाखमा सुकेन भने बिष्टगाउँका पानीका दुःख सकिए ।’
चाहिएको बेला आ¥नै आगनको धारामा पानी पाउँदा सुखको अनुभूति भएको राधिकाले सुनाइन् । ‘बिहानभरी पानी बोक्दा समय जान्थ्यो, स्कुल जाने बालबच्चालाई समेत लाइनमा राख्नुपर्ने थियो’, उनले भनिन् ‘अहिले त सुखका दिन आए, अब गाग्री बोक्न नपर्ला भन्ने छ ।’
फलेवास नगरपालिकाले तीन वर्ष लगाएर यहाँ पानी निकालेको हो । पहिलो बर्ष भूगर्भविदहरु बोलाएर माटो परीक्षण गराएको नगरले पानी निस्कन सक्ने आश्वासन पाएको थियो । दोस्रो बर्ष अध्ययन गरेर तेस्रो बर्ष भारतबाट ‘डिप बोरिङ’ मेसिन मगाएर पानी निकालेको अध्यक्ष भुसालले बताए । नगरपालिकाले यो योजनाका लागि ४० लाख रुपैयाँ खर्चेको छ ।
यसअघी पनि बिष्ट गाउँमा पानी ल्याउनका लागि धेरै प्रयासहरु भएका थिए । गाउँभन्दा ५ किलोमिटर टाढा डहरेदेउरालीबाट गाउँमा ल्याइएको पानी पनि कहिले आउँथ्यो । कहिले आउने थिएन् । बाढी आयो, पहिरो गयो भने त पानीको आसै हुँदैनथ्यो । परम्परागत पँधेरो गाउँभन्दा आधाघण्टा पर थियो । स्कुले बालबालिका हुन वा गृहणी गाउँभरीको एउटै पँधेरा भएकाले लाइन बसेर गाग्री भर्दा कयौं समय बित्ने गरेको सम्झिन्छन् ।
नजिकमा पानीका मुहान नभएको र टाढाबाट पानी ल्याउँदा बेला बेलामा आउने समस्याका कारण आजित भएका बिष्टगाउँबासी जमिनमुनीको पानी आएपछि दंग छ । गाउँभन्दा केही माथी लिफ्टीङ गरेर ट्याङ्कीमा पानी पु¥याइएको छ । ४ हजार लिटरको ट्याङ्कीबाट १८ धारामा निरन्तर पानी पुग्छ । आफ्नो कार्यकालमा पानी नभएका ठाउँहरुमा पानी पु¥याउने योजना अन्तरगतनै काम भएको नगरप्रमुख पदमपाणि शर्माले बताए । शंकरपोखरी पानिको असुविधा भएको गाउँ हो । यहाँ टाढा टाढाका पानीका मुहान र आकाशे पानी संकलन गरेरसमेत पानीको गर्जो टार्ने चलन थियो । पछिल्लो समय चलेका योजनाहरुले भने शंकरपोखरी बासिले सुविधाको सास फेर्न थालेका छन् ।





