बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कुश्मामा अब बोरिङबाट पनि पानी

कुश्मामा अब बोरिङबाट पनि पानी

चिलाउने चौतारामा १७० मिटरको गहिराइमा पानी भेटिएसँगै बोरिङको तयारी गरिएको हो ।


  • संजय रेग्मी
  • चैत्र २ २०७८, बुधबार

पर्वत / हिउँदको समयमा खानेपानीको अभावका कारण समस्यामा रहने गरेको पर्वत सदरमुकाम कुश्मा बजारका लागि बोरिङ गरी निकालिएको पानीबाट थप आपूर्ति गरिने भएको छ ।

अहिलेसम्म रहेका तीन ओटा पानीका स्रोतबाट ल्याइएको पानीले माग अनुसारको आपूर्ति दिन नसक्दा हिउँदमा मागको आधा मात्रै पानीको माग आपूर्ति हुने गरेको छ । गर्मी याम सुरु भएसँगै बजारमा पानीको अभाव हुँदै जाने परिस्थितिलाई हरेर करिब एक महिनादेखि बोरिङका लागि परीक्षण र तयारी गरिएको थियो ।

शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रवि कुमार श्रेष्ठका अनुसार कुश्मा नगरपालिका–४ चिलाउने चौतारा नजिकै परीक्षण गर्दा १७० मिटरको गहिराइमा पानी भेटिएको छ । सोमबार पानी भेटिएसँगै अबको एक हप्तामा आपूर्ति नै गर्ने गरी बोरिङ प्रणालीको काम पूरा गर्ने गरी काम भइरहेको छ । आपूर्ति दिने गरी पानी निकाल्ने बेलासम्म झन्डै ३० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

‘एक सय ७० मिटर गहिराइमा पानी भेटिएको छ । अबको एक हप्तामा ट्याङ्कीमा पानी ल्याउने लक्ष्य राखेका छौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘बोरिङबाट प्रति सेकेन्ड कम्तिमा पनि छ लिटर पानी निस्कने भएको छ । ’

कुश्मा बजारमा अहिले दैनिक करिब ४० लाख लिटर पानीको माग रहेकोमा ३२ लाख लिटरसम्म मात्रै आपूर्ति भइरहेको छ । तर। गर्मी याममा यो आपूर्ति घटेर २५ लाख लिटरसम्ममा झर्ने गरेको छ ।

संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र पौडेलका अनुसार मोदी गाउँपालिकाको पाती खोला, कुश्मा नगरपालिकाको क्यादी खोला र डम्डारे खोला गरी तीन ठाउँबाट कुश्मा बजारको लागि पानीको आपूर्ति हुने गरेको छ । गत भदौमा भएको भीषण वर्षासँगै आएको पहिरोका कारण डम्डारे खोलाको आपूर्ति अवरुद्ध छ । त्यहाँबाट प्रति सेकेन्ड दुई लिटर पानी आउने गरेको थियो । मोदी गाउँपालिकाको पाती खोलाबाट ल्याइएको पाइपमा हिउँद र बर्खा सबै समयमा प्रति सेकेन्ड १७ लिटर पानीको आपूर्ति हुँदै आएको छ । पानीको मुख्य स्रोतको रूपमा रहेको खुर्कोटको क्यादी खोलाबाट प्रति सेकेन्ड २२ लिटर पानी आउने भए पनि गर्मी याममा प्रति सेकेन्ड छ लिटरमा झर्ने गरेको छ । मुख्य स्रोतबाट नै प्रति सेकेन्ड १६ लिटर कम पाउने आउँदा बजारमा पानीको अभाव हुने गरेको छ ।

बोरिङ गरेर पानी निकालिए पनि माग अनुसार पानीको पर्याप्तता भने अझै पनि हुने छैन । सामान्य अवस्थामा प्रति सेकेन्ड ४१ लिटर पानीको आपूर्ति हुने गरेको कुश्मामा गर्मी याममा प्रति सेकेन्ड २५ लिटर मात्रै पानी आउने गरेको छ । बोरिङबाट निकालिएको पानीले प्रति सेकेन्ड ३१ लिटर आपूर्ति हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->