बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा पहिलोपटक स्ट्रबेरी खेती

बागलुङमा पहिलोपटक स्ट्रबेरी खेती

चुडामणिको कामबाट प्रभावित २० घरले कटेरी र भयरबोङगा गाउँका २० तरकारी खेती सुरु गरेका छन् ।


  • ढोरपाटन संबाददाता
  • चैत्र ३ २०७८, बिहिबार

बागलुङ/ तमानखोला गाउँपालिका वडा नंं २ को कटेरी गाउँमा स्ट्रबेरी खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । स्थानीय चुडामणि छन्त्यालले व्यावसायिक खेती थालेका हुन् । यो खेती जिल्लामै पहिलोपटक व्यावसायिक हो ।

लामो समय वैदेशिक रोजगारीमा बसेर फर्केका छन्त्यालले सहर बस्ने चाहनाभन्दा गाउँमा रमाउन खोजेका छन् । उनले गाउँमा रमाउन तरकारी र स्ट्रबेरीको खेती थालेको बताए । उनी विभिन्न देशमा गरी २५ वर्ष वैदेशिक रोजगारीमा थिए । ४७ वर्षीय चुडामणि छन्त्याल अहिले दैनिक बारीमा काम गर्दै रमाइरहेका छन् । उनले लगाएको स्ट्रबेरीले बजार पाउन थालेको छ । विदेशमा गरेको कामको अनुभवबाट उनले यो व्यवसाय थालेको बताए । उनको कामबाट प्रभावित भएर कटेरी र भयरबोङगा गाउँका २० घरले पनि तरकारी खेती थालिसकेका छन् ।
सदरमुकामदेखि १२० किमी पश्चिमको कटेरीमा उनले स्ट्रबेरी र ताजा तरकारी खेती गरेर बसेका हुन् । उनको घरसम्म हिउँदमा मात्रै मुस्किलले जिप चल्छ । बाटो अप्ठ्यारो छ । ‘काउली, बन्दा र गोलभेडा खान हामीलाई सहर पस्नुपथ्र्यो, अहिले घर घरमा फल्न थाल्यो’, स्थानीय ओम पुनले भने, ‘कटेरी र भयरबोंङगाबासीले राम्रोसँग तरकारी चिनेको दुई वर्षमात्रै भयो । त्यो पनि चुडामणीको फर्म देखेपछि मात्रै ।’ छन्त्यालले स्ट्रबेरीको खेती थालेपछि तरकारीभन्दा दोब्बर कमाउन थालेका छन् ।

चुडामणिको बारीमा चारवटा प्लाष्टिकका टनेल छन् । तीमध्ये दुइ वटामा स्ट्रबेरी छन् । २ वटामा गोलभेंडा, खुर्सानी र अन्य तरकारी फल्छ । बारीमा मौषमी र बेमौषमी अन्य तरकारी, गहुँ र जौ पनि लगाएका छन् । दुई साता अघिको हिमपातले उनका दुइ टनेल भत्केर मर्मत गर्नुपरेको बताए । २ हजार २ सय मिटर उचाइमा रहेको उनको घरबारीमा चिसोले तरकारी त्यसै फल्दैन । त्यसैले उनलाई प्लाष्टिक टनेल अनिवार्य भएको हो । खाद्यान्नका लागि उनले घरछेउमा आलु रोप्छन् । घरदेखि ४ सय मिटरमाथिको मूठाचौरमा पनि उनको आलु लगाउने जग्गा छ । फागुन महिना उनीहरुले आलु लगाएर सक्छन् ।

छन्त्यालकी पत्नि इन्द्रकुमारीले फर्ममा साथ दिएकी छिन् । छोराछोरी सहरमा बसे पनि उनीहरुले सहर बस्ने र गाउँ छाड्ने चाहना राखेनन्, गाउँमै बसेर सफल किसानमा गनिएका छन्’ स्थानीय ढालेन्द्र छन्त्यालले भने, ‘उनको मेहेनत देखेर धेरैले तरकारी खेतीमा लगानी गरिरहेका छन् ।’ चुडामणीले दैनिक ७ केजीसम्म स्ट्रबेरी बेच्ने गरेका छ्न् । उनको उत्पादन सोझै बुटवलसम्म पुग्छ । स्ट्रबेरीको खोजीमा आएका व्यवसायीले तरकारीसमेत खरिद गरेर लैजान्छन् । स्ट्रबेरीको व्यवसायिक खेती गर्ने जिल्लामै उनीमात्रै हुन् । यो खेती नौलो भएकोले माग बढिरहेको उनले बताए । आगामी बर्ष थप एक टनेलमा स्ट्रबेरी फलाउने योजना सुनाए ।

तीन बर्षदेखि उनले दर्ता गरेर ‘डायमण्ड एग्रो फर्म’ चलाएका हुन् । चुडामणीले काम थालेपछि घर घरमा प्लाष्टिक टनेल बनाएर तरकारी फलाउने अभियान सुरु भएको छ । चिसो स्थान भएकोले प्लाष्टिक टनेलमा मात्रै गोलभेडा र अन्य तरकारी फल्ने गरेको हो । कृषि व्यवसाय थपिन थालेपछि बसाइ सराइले रित्तो बन्न लागेको गाउँमा बसाइसराइ रोकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->