पोखरा/कोरोना महामारी अघि पोखराका सोम विक ट्रेकिङ व्यवसायमा आवद्ध थिए । स्वदेशीविदेशी पाहुुनासँग उनको नेपालका कुनाकन्दरामा दैनिकी बित्दथ्यो । तर, २ वर्षअघि नेपालमा कोरोना महामारी भित्रिएसँगै उनले आफ्नो व्यवसायको रफ्तारमा लगाम लगाउनु प¥यो ।
विक यसरी पर्यटन व्यवसायमा लागको पनि २ दशक भन्दा बढी भइसकेको थियो । सबै क्षेत्र ठप्प रहेकोबेला उनले विकल्प पनि सोच्न सकेनन् । लामो समय उनी घरभित्रै थुनिन बाध्य भए ।
तर, दैनिकजसो उकाली, ओराली गर्दै आएका विक कोरोना लकडाउनको महामारीमा पनि शान्त बस्न सकेनन् । ‘टाइमपास’का लागि गज्जबको उपाय फुराए, ‘बाँसका विभिन्न गरगहना बनाउने ।’ महामारीको दुविधामय फुर्सदिलो समयलाई रचनात्मक बनाउन उनले उक्त जुक्ति निकालेका थिए ।
उसो त विक अरुबेला फुर्सदको समयमा चित्र पनि कोर्दथे । तर, सानैदेखि बाँसका विभिन्न सामग्री बनाउँदै आएका उनले त्यसैलाई निरन्तरता दिने सोचे । ‘गाउँघरमा पाइने बाँसलाई सानैदेखि केके बनाएर बस्थें । लकडाउनकोबेला फेरि तिनै रुचिलाई निरन्तरता दिने सोचें,’ उनी सुनाउँछन्, ‘अहिले त रसै बस्यो ।’
ट्रेकिङको समयमा नेपालका विभिन्न कुनाकाप्चामा पुगेकाबेला प्लास्टिकजन्य पदार्थले विकलाई हुक्कै बनाएको थियो । पर्यटनमा २५ वर्ष लामो अनुभव संगालेका उनले पछिल्लो समय हिमाली भेगमा प्लास्टिकजन्य पदार्थले पार्दै गइरहेको प्रभाव पनि नजिकबाट नियालेका थिए ।
बाँसका सामान बनाउनु उनलाई वातावरणमैत्री गरगहना बनाउन सकिन्छ भनेर देखाउनु पनि थियो । ‘धातुभन्दा हलुकामात्रै नभएर यो वातावरणमैत्री पनि छ । युज एन्ड थ्रो गर्दा पनि वातावरणलाई असर गर्दैन,’ उनी भन्छन् । लकडाउनमा बाँसबाट गरहगहना बनाउन सुरु गरेका उनी अहिले यसैलाई व्यवसायकै रुपमा अघि बढाएका छन् ।
विकले बाँसबाट बनेका गरगहनाहरु प्रायः फेवाताल किनारमा बिक्रिका लागि राख्छन् । आम्दानी पनि राम्रै हुने गरेको छ । त्यसमा पनि स्वदेशी भन्दा विदेशी पर्यटकले उनको कला देख्यो कि किन्ने गरेको उनी सुनाउँछन् । ‘नेपालीले भन्दा विदेशीले यस्तो कला मन पराउँछन् । मेरा ग्राहक पनि उनै हुन्,’ उनले भन्छन् ।
विकले गरगहना बनाउन प्रयोग गर्ने बाँस कम्तिमा ५ वर्ष पुरानो हो । नयाँ र कमजोर बाँसले गरगहना बनाउँदा कमजोर नै हुने र सोचिएको कलाकृति पनि उत्तार्न नसकिने उनको अनुभव छ । कहिलेकाहीं चित्र कोर्ने भएपनि कोरोना महामारीले आफूभित्रको कलालाई बाहिर उतार्न समय मिलेको उनको अनुभव छ ।
विकजस्तै लेकसाइडकै विजया क्षेत्री पनि लामो समयदेखि पर्यटन व्यवसायमै आवद्ध थिइन् । तर, कोरोनाका महामारीका कारण भएको लकडाउनपछि उनले पनि बाटो मोडिन् । उनले अहिले अर्गानिक सौन्दर्य प्रशोधनका सामग्री बनाउन सुरु गरेकी छन् ।
‘पहिले पनि फुर्सदको समयमा केही न केही गरेर बस्थ्यौं । कोरोना लकडाउनमा पनि खाली बस्न मन लागेन । के गर्ने भनेर धेरै सोचियो । त्यतिबेला अर्गानिक सौन्दर्य प्रशोधनका सामग्री बनाउने एउटा कम्पनीसँग आवद्ध पनि थिएँ,’ क्षेत्रीले सुनाइन्, ‘त्यसपछि अरुकोमा काम गर्नुभन्दा आफ्नै सुरु गर्नुपर्छ भन्ने लाग्यो ।’ क्षेत्रीले लकडाउनमै अर्गानिक सौन्दर्यका प्रशाधन बनाउन अनलाइन कक्षा लिएकी पनि थिइन् ।
लकडाउनका कारण उद्यमी बनेका विक र क्षेत्री मंगलबारदेखि पोखरामा सुरु भएको पहिलो अन्तर्राष्ट्रिय आर्ट फेस्टिभलमा आफ्नो ‘कला’सहित भेटिएका हुन् । आइडब्ल्यु हेमकान्ति आर्ट ग्यालरीले आइडब्ल्यु भियतनामको सहकार्यमा पोखरामा ३ दिने फेस्टिभल गरिरहेको छ । फेस्टिबलमा सबु लामाले विभिन्न फोहोरजन्य, प्लास्टिकजन्य पदार्थबाट बनाइएको झोला, जुत्ता, ह्यांगर, काष्ठकला लगायतका सामग्रीहरु पनि प्रदर्शनमा राखिएका छन् ।
बिहीबार सकिने फेस्टिबलमा कलाकृतिबाहेक चित्रकलासमेत प्रर्दशनमा राखिएका छन् । विभिन्न २८ देशका कलाकार सहभागी भएको प्रदशर्नीमा विभिन्न थिमका ६० वटा चित्रकला प्रदर्शनीमा राखिएको आइडब्ल्यु हेमकान्ति आर्ट ग्यालरीकी हेमकान्ति गुरुङले जानकारी दिइन् । पोखरामा प्रदर्शनमा राखिएका चित्रकला पछि भियतनाममा समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
‘यहाँ प्रदर्शन भएका चित्रकलामध्ये ३० वटा चित्र भियतनाममा आउँदो अप्रिलमा पनि देखाइने छ । त्यसमा नेपालबाट ८ जना कलाकार छानिएका छन्,’ गुरुङले भनिन्, ‘हामीसँग प्राप्त भएका सय वटा चित्रबाट छानेर प्रदर्शनमा राखेका हौं ।’
उत्कृष्ट चित्रकला प्रदर्शनका लागि मेक्सिकोकी कलाकार तेरी लजोरी, हङकङकी कलाकार जेजे ली, टर्कीका कलाकार एटानुर डोगन र चेक रिपब्लिकका एलेक्जेन्ड्राले निर्णायकको भूमिका निभाएका थिए ।
मंगलबार फेस्टिभल उद्घाटन समारोहमा कलाकारले विभिन्न पहेंलो रङमा ‘पर्फमेन्स आर्ट’ पनि देखाएका थिए । पोखरामा पनि अन्तर्राष्ट्रिय कला महोत्सव गर्न सकिन्छ भनेर देखाउन आफूहरुले फेस्टिभल आयोजना गरेको गुरुङले सुनाइन् ।
‘काठमाडौंमा यस्तो किसिमको फेस्टिभल आयोजना भइरहन्छ । तर, पोखरामा भने अलि कम हुने गरेको छ । पोखरामा पनि कलाको सम्भावना छ, सम्भव छ भनेर देखाउन फेस्टिभल आयोजना गरेका हौं,’ गुरुङले भनिन्, ‘पेन्टिङबाहेकमा पनि आफूभित्रको कलाकारिता देखाउन सकिन्छ भनेर काष्ठकला, बाँसकलाहरु प्रदर्शनमा राखेका छौं ।’





