बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शंकरपोखरीका गर्भवतीलाई भिडिओ एक्सरे र ल्याब सेवा

शंकरपोखरीका गर्भवतीलाई भिडिओ एक्सरे र ल्याब सेवा

शंकरपोखरीमा मात्रै वार्षिक २५ जना भन्दा बढी सुत्केरी हुने गरेकोमा अब यो संख्या बढी हुने छ ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०७८, बुधबार

पर्वत/ पर्वतका ग्रामीण क्षेत्रमा रहेका गर्भवतीहरू गर्भ परीक्षण र ल्याब सेवा पाउनको लागि कम्तीमा पनि सदरमुकाम कुश्मा बजारसम्म पुग्नपर्छ। पर्वत अस्पतालमा ती सेवाहरू उपलब्ध रहेको भए पनि ग्रामीण ठाउँमा नहुँदा सदरमुकाम वा त्यहाँ भन्दा बाहिर पोखरासम्म पुग्नुपर्ने बाध्यता थियो ।

तर, फलेवास नगरपालिकाले भने बर्थिङ सेन्टरमा भिडियो एक्स–रे र प्रयोगशाला सेवा उपलब्ध नहुँदा गर्भवतीहरूले बर्थिङ सेन्टरमा बच्चा जन्माउने वातावरण नबन्ने भन्दै गाउँमै भिडियो एक्सरे र ल्याब सेवा दिने अभियान सुरु गरेको छ। सोमबार नगरपालिकाको वडा नं. ३ शंकरपोखरीमा रहेको प्रसूति केन्द्रमा भिडियो एक्स–रे सेवाको नगरप्रमुख पदमपाणि शर्माले उद्घाटनगरेका हुन् ।

‘प्रसूति केन्द्रका लागि उपकरणहरू प्रदान गरेर सुभारम्भ गरिएको छ। त्यहाँका नागरिकले अब भिडिओ एक्सरेका लागि सदरमुकाम धाउनै पर्ने बाध्यता हटेको छ। यो कार्यलाई फलेवासका सबै वडामा लैजाने हाम्रो प्रतिबद्धता छ,’ उनले भने, ‘शंकरपोखरी केन्द्र रहेको भए पनि फलेवासका सबै वडाका नागरिकले यो सेवा उपभोग गर्न सक्नुहुन्छ। बर्थिङ सेन्टरहरूलाई अब थप व्यवस्थित बनाउन लागिएको छ ।’

नगरपालिकाका स्वास्थ्य संयोजक रुद्र शर्मा सापकोटाका अनुसार फलेवास नगरपालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने गरी पर्वतमा भित्रिएको संस्था ‘वन हर्ट वल्र्ड वाइड’ ले प्रसूति केन्द्रका लागि भिडियो एक्स–रे सेवा उपलब्ध गराएका हुन्। गाउँमा गर्भ परीक्षण र ल्याब सेवा नहुँदा गाउँमा प्रसूति केन्द्र रहेको भए पनि त्यहाँ बच्चा जन्माउन विश्वास गरेको पाइएको थिएन ।

सदरमुकाम कुश्मामा प्रसूति शल्यक्रिया सहितको सुविधा हुने पाइने तर गाउँमा रगतको समूह परीक्षण समेत गर्न नपाइने अवस्थामा गाउँमा बच्चा जन्माउनु भन्दा सदरमुकाम जान सुरक्षित हुने गर्भवतीहरूको सोचाइथियो।
‘शंकरपोखरी आधारभूत ल्याब सेवा नगरपालिकाको लगानीमा राखिएको हो। रगत, दिशा र पिसाब परीक्षण हुन्छ। भिडिओ सेवा गर्भवती र सुत्केरीको लागि मात्र हो,’ उनले भने, ‘यसका लागि १० लाख रुपैयाँ लगानी भएको छ। आवश्यकता अनुसार अरू सेवा र सुविधाहरू पनि थप गर्दै लगिने छ। जन्मिएका बच्चा सेक्ने मसिन पनि राखिएको छ ।’

संयोजक सापकोटाका अनुसार शंकरपोखरीमा मात्रै वार्षिक २५ जना भन्दा बढी सुत्केरी हुने गरेकोमा अब यो संख्या बढी हुने छ। गाउँमै गर्भ परीक्षण र ल्याब स्थापना भएपछि शंकरपोखरीको आसपासका वडाहरू कार्कीनेटा, थापाठाना, भँगरा र ठानामौलाका गर्भवतीले पनि सेवा लिन सक्नेछन् ।

भिडियो र ल्याब सेवा ‘पोर्टेबल’ रहेका कारण आवश्यकता परेको अवस्थामा नगरपालिकाको जुन सुकै वडामा पनि लिएर जान मिल्ने छ। अत्यावश्यक भएको अवस्थामा वा अर्को वडामा गर्भवती तथा सुत्केरीहरूको सङ्ख्या बढी भएमा त्यहीपुगेर सेवा उपलब्ध गराउने गरी नगरपालिकाको त्यसको व्यवस्थापन गरेको छ ।

गाउँमै गर्भ परीक्षण र प्रयोगशाला सेवा उपलब्ध हुने भए पछि सदरमुकाम आउजाउ गर्दा हुने खर्च जोगिने र सास्ती भोग्नु पनि नपर्ने वडा सदस्य निर्मला कुमारी शर्मा बताउँछिन्। ‘गाउँबाट दैनिक गाडी चल्छन्, गाउँमा भिडियो एक्स–रे हुँदैन, ल्याब पनि छैन। केही समस्या परिहाल्यो भने समस्या हुने डरले गाउँमा रहेको बर्थिङ सेन्टर छाडेर सदरमुकाम जाने गरेको पाइन्छ,’ उनले भनिन्, ‘अब जटिल अवस्थाकै केस भएमा बजारमा जानुपर्ने हुन्छ। तर सामान्य अवस्थामा नै बच्चा जन्मिन सक्ने भएमा गाउँकै बर्थिङ सेन्टरमा जन्माउन सकिने अवस्था बनेको छ। सेवालाई प्रभावकारी बनाउन सके अन्य वडाका लागि पनि यहाँ पायक पर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->