बागलुङ/ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि बागलुङका तीन विद्यालय छानोट गरेको छ । केन्द्रले बिहीबार सार्वजनिक गरेको सूचीमा शिक्षामन्त्रीको जिल्ला बागलुङका ३ विद्यालय मात्रै छनोट भएका हुन् ।
बागलुङको ताराखोला गाउँपालिकामा रहेको अर्गल माध्यमिक विद्यालयमा कृषि तथा पशुपालन, गलकोट नगरपालिकामा रहेको गलकोट माध्यमिक विद्यालयमा कृषि र निसीखोला गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयमा पशुपालन विषयमा यो कार्यक्रम लागू हुनेछ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्र्तगत पढ्दै कमाउँदै कार्यक्रम विद्यालय सहयोग कार्यक्रमका लागि देशभरका १ सय ४० सामुदायिक विद्यालय छनोट भएका हुन् । प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्नेगरी कार्यविधि तयार गरेको थियो । सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।
प्रत्येक जिल्लाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा पाँच वटा विद्यालय छनोट गरिएको केन्द्रले जानकारी दिएको छ । आवेदन परेका विद्यालयहरुलाई जिल्लाको मूल्यांकन समितिले छनोट गरिएको आधारमा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालय छनोट गरिएको केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले बताए ।





