बागलुङ/बागलुङ उद्योग बाणिज्य संघको ५८ औं साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा आपूर्ति मन्त्री मणीभद्र शर्मा कंंडेलले रोजगार प्रवद्र्धन तथा आर्थिक विकासको क्षेत्रमा काम गर्ने उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने सरकारले नीति लिएको बताए । उनले व्यवसाय प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने काममा लाग्न संघमा आबद्ध व्यवसायीलाइ आग्रह समेत गरे ।
पर्यटन क्षेत्रको प्रवद्र्धनमा सरकारले लगानी गर्ने र त्यसबाट व्यवसाय क्षेत्रमा रोजगारी वृद्धि हुने धारणा समेत राखे । वर्तमान सरकारले पनि व्यवसाय प्रवद्र्धनको काम गर्न तयार रहेको भन्दै व्यवसायीलेपनि राज्यप्रति उत्तरदायी भएर कर तिर्ने बानी बसाल्नुपर्ने धारणा राखे ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता, महासचिव नरेश कंडेलको संचालनमा सम्पन्न कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिभिन्न संघसंस्थाका पदाधिकारी लगायतले शुभकामना दिएका थिए । प्रमुख कर अधिकृत शालिग्राम आचार्य, पूर्व अध्यक्षबाट बसन्तकुमार श्रेष्ठ, बस्तुगत संघबाट फेन्सी व्यवसायी संघका अध्यक्ष रामचन्द्र शर्मा, महिला उद्यमी समूहकी अध्यक्ष भगवती केसी लगायतले पनि बोलेका थिए ।
साधारणसभाले विभिन्न क्षेत्रमा पुरस्कार तथा सम्मान प्रदान गरेको छ । बाणिज्य शाष्त्रका सर्बोकृष्ठ बिद्यार्थीमा काठेखोला ८ का सुदिप सागर कंडेल, युवा उद्यमीमा सिद्ध भैरव समूह, सफल व्यवसायमा मनसुन दालमोठ उद्योग, उत्कृष्ठ पत्रकारको रुपमा माउन्टेन टेलिभिजनका संवाददाता सुवास आचार्यलाई सम्मान गरिएको थियो । त्यस्तै श्रेष्ठ इलेक्ट्रोनिक्सका दुर्गा श्रेष्ठ, न्यू श्रेष्ठ सप्लायर्सका कृष्ण मल्ल, सिद्धिबिनायक स्टोर्सका रंजिता श्रेष्ठ, कपडा तथा फेन्सी व्यवसायी समिति, गौतम इलेक्ट्रोनिक्सका ओमप्रकाश गौतम, त्रिशक्ती स्टोर्सका शोभा शर्मा समेत सम्मानित भए । उनीहरुलाई नगद पुरस्कार समेत दिइएको थियो । आगोलागिबाट क्षति पुगेको अस्मिता रिसाइक्लिन कपास उद्योगलाई पनि आर्थिक सहयोग गरिएको महासचिव कंडेलले जानकारी दिए ।
महासचिवको प्रगती प्रतिवेदनमा उल्लेख भए अनुसार कोरोना संक्रमणमा व्यवसायीलाई राहत उपलब्ध गराएको, ढोरपाटनमा गएको पहिरो पीडितलाई राहत तथा खाद्यान, नगरपालिका सहितका संस्थाको बजार अनुगमनमा सहकार्य, मानव सेवा आश्रममा सहयोग, ट्राफिक व्यवस्थापन, स्वास्थ्य शिविर संचालन, करदाता शिक्षा कार्यक्रम तथा कोभिडमा घरभाडा छुटमा पहल गरेको उल्लेख छ ।केन्द्रीय महासंघमा नियमित समन्वय र सचिवालय नियमित संचालन गर्ने काम समेत भैरहेको उनले जानकारी गराए । अध्यक्ष राजभण्डारीले सिमित श्रोत साधनमा संघले सबै काममा राज्यका निकायमा सहकार्य गरेको बताए । नगरपालिकाबाट पाउने सेवासुविधा नपाएर पनि नियमित काम गर्न व्यवसायीले आफ्नै रकम खर्चेको उनले बताए ।





