बागलुङ/ धौलागिरी एफएम बागलुङले तयार पारेको दृष्य नाटक ‘बिम्ब दर्पण’को पहिलो अंक प्रदर्शनमा आएको छ । आइतबार एफएमले बागलुङ बजारमा सरोकारवालाको बीचमा पहिलो पटक तयार पारको नाटकको दृष्य सार्वजनिक गरेको हो ।
एफएमबाट श्रृंखलाबद्ध रुपमा सञ्चालन हुँदै आएको रेडियो नाटकको ३६ औं श्रृंखला दृष्य सामाग्री तयार पारेर प्रर्दशनमा ल्याईएको नाटकका लेखक तथा निर्देशक पवन खड्काले जानकारी दिए । समाजमा व्याप्त रहेका कुरीती बिसंगतीहरुको नाटकमार्फत सचेतना फैलाउने प्रयास गरिएको छ ।
नाटक धौलागिरी एफएमको युटुव च्यानलमार्फत आइतबार नै सार्वजनिक भएको छ । सरोकारवालाका सुझावका आधारमा नाटकको आगामी अंक तयार गर्नेगरीे पहिलो श्रृंखला सार्वजनिक गरिएको एफएमका अध्यक्ष हरिनारायण गौतमले बताए ।
पहिलो अंकमा अहिले पनि समाजमा रहेको जातीय बिभेद र त्यसले सिर्जना गर्ने समाजिक समस्या, महिलाहरु आर्थिक रुपमा मजबुद हुँदा समाजमा पर्ने सकरात्मक प्रभाव र सामाजिक सञ्जाल टिकटकले हाम्रो समाजमा पारेको मनोवैज्ञानिक असर लगायतका बिषय समेटिएको छ ।
नाटकको समिक्षा गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दयानीधी ज्ञवालीले मोफसलमा सचेतना फैलाउनका लागि नाटकका कलाकारले गरेको प्रयास प्रशंसनीय रहेको बताए । उनले बिषयबस्तु, प्रबिधि र कलाकारको तारतम्य मिलेको भन्दै अभावका बीचमा तयार भएको नाटकले समाज रुपमन्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
गैह्रसरकारी संस्था महासंघ बागलुङका सचिव मणिभद्र शर्माले समाजमा रहेको बिभेदको नयाँ रुपलाई नाटकका माध्यामबाट पर्दाफास गर्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर बिकले हराउँदै गएको साहित्यलाई उजागर गर्ने प्रयास भएको भन्दै प्रशंसा गरे । साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङका प्रमुख मनोज श्रेष्ठले सञ्चार माध्यामले समाजमा सकरात्मक परिवर्तनका लागि गरेको प्रयासको प्रशंसा गरे ।
एफएमले तयार पारेको नाटकमा बागलुङको पर्यटकीय गाउँ भकुण्डे, बागलुङ बजारका पर्यटकीय क्षेत्र, कालिका मन्दिर, लामो पुललगायतका क्षेत्रका दृष्य कैंद गरिएको छ । नाटकमा पवन खड्का, तारानाथ आचार्य, उमाकान्त शर्मा, कोपिला कँडेल, ताराप्रसाद शर्मा, आयशा आचार्य, रञ्जिता शर्मा, कृष्णकुमार सैंजु, रिया शर्मा, लक्ष्मि परियार, फुलकुमारी शर्मा, अनिता आचार्य, प्रसंसा रिजाल, बिदुर आचार्य, शिब बोहरा, गिता रिजाल लगायतका कलाकारले अभिनय गरेका छन् ।
नाटकमा हरिनारायण गौतम र सचदेव क्षेत्रीले उत्प्रेरकको भूमिका निभाएका छन्भने नाटकको लेखन तथा निर्देशन पवन खड्का र छायांकन सुरज किसानले गरेका हुन् । https://youtu.be/EEe8EAZRZGg





