पोखरा/ कोभिड– १९ बाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्धेश्यसहित पोखरामा आयोजना हुने १७ औं फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । यही चैत ३० देखि आगामी बैशाख १ गतेसम्म लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर सडकमा महोत्सव संचालन हुने छ ।
महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २१ वटा उपसमितिहरु गठन गरी तयारी अगाडि बढाइएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर संघले पहिलोपटक सडकमा नै महोत्सव आयोजना गर्न लागेको महोत्सवका संयोजक समेत रहेका सुवेदीले बताए । पोखराका होटलमा अहिले २० प्रतिशत हाराहारी अकुपेन्सी रहेको जानकारी दिंदै सुवेदीले आन्तरिक र भारतीय पर्यटकको आगमन विस्तारै बढ्न थालेको जानकारी दिए । महोत्सवका अवसरमा आफ्ना सदस्य होटलमा बस्ने पाहुनालाई ३० प्रतिशत छुटको घोषणा गर्दै अध्यक्ष सुवेदीले रेष्टुरेण्ट र प्याराग्लाइडिङ क्षेत्रबाट समेत महंगीका वापजुद पुरानै मूल्यमा सेवा प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको बताए ।





