पोखरा/ युवा कृषि उद्यमी दीपकप्रसाद तिमिल्सिनाले करिब दुई करोडको लगानीमा डि जानकी एग्रो फार्म प्रालि सञ्चालनमा ल्याउने भएका छन् । भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रालिका सञ्चालकसमेत रहेका तिमिल्सिनाले विश्वबैंक र नेपाल सरकारको अनुदान सहयोगमा पोखरा महानगरपालिका १५, स्थित खहरेमा १ करोड ९५ लाख ८१ हजार ८ सय ३३ रुपैयाँको लागतमा सो फार्म सञ्चालनमा ल्याउन लागेका हुन् ।
फार्म सञ्चालनका लागि नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजना (एनएलएसआइपी)ले अनुदान स्वरुप ५० प्रतिशत अर्थात ९७ लाख ९० हजार ९ सय १७ रुपैयाँ लगानी गर्नेछ । त्यस्तै, नबिल बैंकबाट ६० लाख र सञ्चालकको तर्फबाट तिमिल्सिनाले ३७ लाख ९० हजार ९ सय १६ रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार आगामी २०७९ साल पुस ३ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ ।
स्वच्छ दूध उत्पादनका लागि उन्नत पशुपालन व्यवसाय गर्ने उद्देश्यले सञ्चालनमा आउन लागेको फार्मको सोमबार सार्वजनिक सुनुवाइ गरिएको छ । आयोजनास्थलमै आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजना (एनएलएसआइपी)का प्रतिनिधि, पोखरा १५ का वडाध्यक्ष, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु, पशु विज्ञ केन्द्र तथा जिल्ला पशु स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको सहभागी थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल लाइभ स्टक इन्नोभेसन (एनएलएसआइपी)का प्रतिनिधि डा रेशमराज ज्ञवालीले उत्पादन, संकलन र प्रशोधनका लागि देशभर ८५ वटा फार्म छनोट गर्दा डि जानकी एग्रो फार्म प्रालि परेको बताए । अब फार्ममा वातावरण स्वच्छ राख्ने,
हरियाली प्रवद्र्धन गर्ने, गोबर व्यवस्थापन गर्नुका साथै घाँस प्रशस्त मात्रामा लगाउन उनले सुझाव दिए ।
फार्म सञ्चालक दीपकप्रसाद तिमिल्सिनाले सरकारको अनुदानमा फार्म सञ्चालन गर्न पाउँदा आफू खुशी भएको बताए । ‘यसले पैसा कमाउन विदेश जानु पर्दैन । स्वदेशमै पनि पशुपालन वा कृषि कर्म गरेर स्थापित हुन सकिन्छ भन्ने दृढ विश्वास जागेको छ,’ उनले भने । उनले उत्पादकत्व वृद्धि गर्ने, गुणस्तर काय गर्न आफू प्रतिबद्ध रहेको बताए ।





