मध्यपूर्व तथा अरब प्रायद्धीपमा तन्दुर वा भट्टीमा पोलिने आँटा वा मैदाको रोटी हो, खबुज । मलयालम भाषाका कथाकार बेन्यामिनले लेखेको मूल उपन्यास ‘आडु जिविदम’ को अंग्रेजी अनुवादको नाम थियो ‘गोट डेज’ । यसै उपन्यासलाई नेपालीमा खबुज नामले पस्काएका थिए, अनुवादक दिनेश काफ्लेले ।
उपन्यासममा लेखकले एक सामान्य विषयलाई उठान गरेका छन् तर शैली असामान्य छ । केरलाको सुरम्य उपत्यकामा हुर्केका नजिब नाम गरेका यथार्थपात्र र उनले देशेदेखि परदेशसम्म भोगेका उतारचढावलाई लेखकलेउपन्यासमा ढालेका छन् । लेखले अन्तिम पृष्ठमै लेखेका छन्, ‘पाठकलाई खुसी बनाउन मैले नजिबको कथालाई रङरोगन र मरमसला थपेको छैन । जीवनको यर्थाथ कथा मरमसला बिना नै पढ्दा मज्जा आउँछ ।’उपन्यास पढिरहँदा त्यति धेरै रंगरोगन नभेटिनु नै उपन्यासको बलियो पाटो हो ।
विषयवस्तुः
बालुवा खानीमा काम गर्दै आफ्नो जीविका चलाउने पात्र हुन् नजिब ।श्रीमती गर्भिणी भएपछि भने उनलाई बालुवा चालेर मात्र परिवार चल्दैन भन्ने लाग्छ । साथीको भिनाजु मार्फत भिसा प्राप्त हुन्छ उनलाई, त्यो पनि साउदी अरबको । दलाललाई पैसा सुम्पेर काठमाडौंबाट खाडी मुलुक भासिने नेपालीहरुझैं उनीपनि ऋण काढेको ३० हजार रुपैयाँदलालको हातमा सुम्पेर ठूल्ठूला सपना बोकेर दिल्लीबाट जहाजमा साउदी उड्छन् ।
कुन ठाउँमा के जागिर गर्ने ? मासिक तलब कति ? पाउनु पर्ने सरसुविधा के के ? आदि यावत् प्रश्नहरुका उत्तर अनविज्ञ भइकन उनी साउदीको राजधानी रियाद पुग्छन् जहाजमा, जुन हाम्रै नेपाली दाजुभाई दिदीबहिनीको यर्थाथलाई पनि झल्काउछ । अनि त्यहीँ एयरपोर्टबाट एक जना मालिकले उनलाई पु¥याइदिन्छन् मरुभूमिको भेडी गोठमा । अनि सुरु हुन्छ उनको नरकीय जीवन ।
उनले कल्पेको र आफैैंले देखेको विदेश आकाश जमिनको फरक भेट्छन् । कहाँ उनले कल्पेको ठुल्ठुला गगनचुम्बी भवनहरु रहेको विदेश अनि कहाँ उनी आफैं पुगेको मरुभूमिको बीचमा रहेको सानो भेडीगोठ । उनको दैनिकी नै हुन्छ, भेडाहरुका दुध दुहुने, भेडालाई मरुभूमि डुलाउने, उठँहरुलाई दानापानी दिने र उनीहरुकै स्याहारसुसार गर्ने । बिहान ५ बजेदेखि राति १० बजेसम्म उनी जोतिन्छन् । राम्रो तलब त परको कुरा, अघाउन्जेल खाना र पानी पिउनबाट पनि बञ्चित हुन्छन् उनी ।
त्यस भेडीगोठमा हुन्छन् सानो पालभित्र बस्ने झुत्रे मालिक अनि काम गर्ने एक जंगलीजस्तै लाग्ने मान्छे । मालिक कै विकराल अवस्था देख्दा नै उनले अनुमान गरिसकेका हुन्छन् उनको हविगत कतिसम्म हुन्छ भनेर । उनका लागि यहाँ गर्नु पर्ने सब काम नौलो हुन्छ । त्यही रहेको जंगली मान्छेले उनलाई दुई दिन लगाएर सिकाउँछन् तर तेस्रो दिनबाट त्यो मान्छे देखिदैन । काम सबै आफूलाई सुम्पेर यहाँबाट कुलेलम ठोकेको उनको सोचाई जब गलत हुन्छ, जब उनले केही समयपछि बालुवाभित्र त्यहीँ मान्छेको पेटीसहितको हड्डीहरु भेट्छन् ।
अनि उनले अड्कल लगाइहाल्छन्, बन्दुक भिरेर दुरबिनबाट चियाइरहने मालिकले पक्कै त्यस जंगली मानिसको ज्यान लियो ।त्यसदिनदेखि उनले त्यहाँबाट भागेर उम्कने सोच्न त के कल्पनासमेत गरेनन् ।
सुरुमा भेंडा र उँटदेखेर वाक्क मानेका उनी कालान्तरमा त्यसैलाई प्रिय साथी ठान्छन् । आफ्नो मनका दुःख, पीडा र कुण्ठाहरु सुनाउन र भन्न त्यस अन्जान मरुभूमिमा मात्र हुन्छन् तिनै जनावरहरु । उनी तिनीहरुसँगै बोल्छन्, अनि सुत्छन् तिनीहरुसँगै । हरथोक उनी भेंडा नै ठानछन् । अनि आफैँलाई पनिठान्छन् भेंडो । कालान्तरमा ती जनावरहरुसँग उनको यति घनिष्ट मित्रता जम्छ कि उनले भेंडीगोठ छाड्ने दिन त्यहाँ रुवाबासी चल्छ । उनले पुस्तकमा बताएका हुन्छन्, ती भेंडाहरु नहुँदो हो त म आजसम्म बाच्दिनथेँ । पहिलो हप्तामा नै मरिसक्थे ।
त्यस अन्जान मरुभूमिमा न उनले घरपरिवारको कुनै खबर थाहा पाउँछन्, न सुनाउन पाउँछन् परिवारलाई आफ्नो सन्चो बिसन्चो । यता घरमा उनले श्रीमतीले सन्तान पाएको कल्पना गर्छन् । छोरा पाएको कल्पना गर्दै उनले एउटा भेडीले भर्खर पाएको बच्चालाई नबिल नाम राखिदिन्छन् । जुन नाम उनले छोराको राखिदिनेवाला थिए । छोराको नाममात्र दिदैनन् उनी, अरुभन्दा बढी माया र प्रेमले हुर्काउँछन् त्यसलाई ।तिनै भेंडालाई एकदिन मालिकले मासुका लागि बजार पठाइदिदाँ उनी नराम्ररी भक्कानिएका थिए ।लेखकले धेरै ठाउँमा जनवार
र मानवबीचको सम्बन्धलाई मिहिन ढंगले प्रस्तुत गरेका छन् ।
उनीसँगै विदेश भासिएका अर्का युवा थिए हकिम । उनी पनि नजिकैको भेडीगोठमा बस्छन् तर उनीहरुको भेट आक्कलझुक्कल मात्र हुन्छ । हकिमकै गोठमा आएका अर्का कामदार हुन् इब्राहिम खादिरी । उनैले ठुलो हाकिमको छोरीको बिहेको दिन छोप्दै त्यहाँबाट तीनै जना भाग्ने योजना बुन्छन् । अनि त्यहीँ रात उनीहरु त्यहाँबाट कुलेलम ठोक्छन् ।
उन्मुक्तिको बाटो त्यति सहज त कहाँ हुँदो हो र ? बाटैमा हकिमले ज्यान गुमाउछ । नजिबलाई शहर पु¥याएर इब्राहिम भने कता अलप हुन्छ, उपन्यासमा समेटिएको छैन । शहर पुगेर वर्षौपछि आफ्नो मुहार ऐनामा देख्दा उनले आफैंलाई चिन्दैनन् । यसरी नै कैयौं नेपालीहरुले पनि आफ्नो पहिचान गुमाइरहेका छन्खाडी मुलुकमा । अनि तीन वर्ष चार महिना नौ दिन पछि उनी उद्धार भएर घर फर्कन्छन् ।
पछि मात्र थाहा हुन्छ, उनलाई त्यस एयरपोर्टमा लिफ्ट गर्न आएको मालिकले अर्कै कामदार ठानेर उनी र हकिमलाई लगेका थिए । अनि त्यतिका वर्ष शोषणमा परेका थिए उनीहरु ।
विदेशिएका नेपालीको कथा :
आजको दिनमा पनि दैनिक झन्डै दुई हजारको हाराहारीमा नबिल जस्ता नेपाली युवाहरु सुनौलो भविष्यको खोजीमा विदेशिएका हुन्छन् । कोही युरोप त कोही खाडी मुलुक पुग्छन् । धेरैको गन्तव्य बन्छ खाडी मुलुक । त्यहीअरबका राज्यहरु । अनि भोग्छन् नजिबको झैं दुदर्शाहरु । जानाजान बाध्य भएर त्यहीँ भुमरीमा पर्नु पछिको तितो यर्थाथ झन् कहालीलाग्दो छ ।
खबुज रोटी हो । बाक्लो आँटाको रोटी । सुरुमा नबिलले निस्तो खबुज न निल्न सकेका थिए न ओकल्न । पछि त उनलाई त्यहीँ गहुँको बाक्लो रोटी नै सास राख्ने आधार बन्छ मरुभूमिमा । त्यस्तै रोटीजस्तै भएको छ वैदेशिक रोजगारी नेपालीहरुलाई, निल्नु न ओकल्नु । ओकल्नु भोक्कै मरिन्छ, भोकै सन्तानहरु देशमा मर्छन्, यता निल्दाको सास्ती शब्दमा कहाँ वर्णन गर्न सकिन्छ र ?
खबुज पढिरहँदा कत्ति पनि लाग्दैन कि एक भारतीय नागरिकको कथा पढिरहेको छु । अनायासै विदेशिएका आफ्नै नेपाली दाजुभाईलाई उपन्यासका पात्रका रुपमा अगाडि ठिंग उभिन्छन् । ठूलाठूला सपना बोकेर विदेश भासिन बाध्य हर्के, रामे आदिले पनि उस्तै सास्ती भोगेका होलान्, पुस्तक पढिरहँदा लाग्छ । किताब पढिरहँदा नेपाली पुरानो तीज गीत र गीति भिडियो ‘साउदी अरब जंगलमा भेंडा चराउँछु’ झल्झल्ती सम्झना आउँछ । वर्षाँै खाडी मुलुकमा बन्धक बनेर अनेक हण्डरखान बाध्य नेपालीका कथा व्यथा उपन्यासले देखाएको छ ।
सबल पक्ष :
सबैसँग परिचित सामान्य विषयवस्तु उठान गरियता पनि पस्कने शैली असामान्य छ लेखकको । स–साना पक्षलाई मिहिन ढंगले उनले संवेदना भरेर पस्काएका छन् । हुन त लेखकले कुनै रंगरोगन र मरमसला नथपी नजिबको कथालाई उतारेको कुरा किताबको अन्तिम पृष्ठमा लेखेका छन् । पात्रले मरुभूमिमा बिताएको दुःख कष्टका उतारथढावहरु पढिरहँदा स्वतः एक पात्र अगाडि खडिन्छ । मानव र जनावरबीचको आत्मीय सम्बन्ध, निराशामाझको आशा रपरिस्थिति अनुसार जिउन उनले सिकाएका मात्र छैनन्, सँगै पढाएका छन् मृत्युलाई जितेर नयाँ जीवन जिउने कला । घटना क्रमले कतै धुरुधुरु रुवाउँछ त कतै ढुकढुकी ह्वात्तै बढाउँछ । अन्तिम पृष्ठसम्म किताबले तानिराख्नु किताबको खासियत रहेको छ ।
उपन्यासले दर्साएको अर्को मुख्य पाठ हो, बाँच्नका लागि संघर्ष । खुसीले आफ्नै माटोमा हुर्के र बाचेको नजिबलाई सबै अनौठो लाग्दो हो, भूगोल, हावापानी र मरुभूमिको खान्की । भेडाको काँचो दुध निल्न नसकेर वान्ता गरेका उनलाई त्यहीँ दुध मरुभूमिमा सास राख्ने कारक तत्व बन्छ । अमृत मिलेझैं हुन्छ दुइटा खबुज पाउँदा । भोकले आक्कुलव्याकुल हुँदा भेंडाको गहुँ खाँदा स्वर्गीय अनुभूति लिएका थिए उनले । चर्को गर्मी, भतभती पोल्ने बालुका, आफ्नै छायाबाहेक ओत लागिहालौँ भने पनि छायासमेत नरहेको मरुभूमिमा उनी जिउन सिक्छन् । दिसा गरेपछि एक लोटा पानीले हात धुदाँ सुरुमा उनले मालिकको चुटाइ खाएका थिए । नबुझिने भाषामै मालिकले पानीको महत्व यसरी बुझाएका थिए कि त्यो हिरा थियो मरुभूमिको । अनि मात्र उनमा महत्वबोध हुन्छ हरेक थोपा पानीको । हरेक गाँस खानाको, जुन उनले फालिदिन्थे घरमा । हरचिजको महत्व त्यसको अभावमा न हुन्छ, उपन्यासले प्रष्ट देखाएको छ ।
अनुवादक दिनेश काफ्लेका अनुवाद उम्दा खालको छ । छोटाछोटा वाक्यहरु र नेपाली लवजमा उतारेको पुस्तकले नेपाली स्वाद र छनक पस्कन्छ । अनि अगाडि उतारिहालिन्छन् हाम्रै नेपाली हर्के र रामेलाई नजिब बनाइ ।
अन्त्यमा,
कैयौं भाषामा अनुवादित भइसकेको यस पुस्तकले विश्वभरको गरिबी, वैदेशिक रोजगार, अशिक्षा र अभावलाई मात्र उजागरण गरेको छैनन्, सँगै आफ्नै देशमा मिहिनेत र परिश्रम गरेर देशमै भविष्य खोज्न पनि प्रेरणा दिएका छन् । करिब चौध वर्ष अघि प्रकाशित यस पुस्तकले हिजो र आजको दिनमा मात्र महत्व राखेको छैन, जुनदिनसम्म गरिबी र अभावबाट पिल्सिएर विदेशिन बाध्य हुन्छन् विश्वभरका मान्छेहरु, त्यस दिनसम्म यस पुस्तकले ठूलो अर्थ राख्नेछ ।





