बागलुङ/ राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले बजारमा भैरहेको अस्वभाविक मुल्यवृद्धि नगर्न व्यवासीहरुलाई अपिल गरेको छ । मंगलबार उद्योगी, व्यापारी तथा उपभोक्तालाई एक अपिलमार्फत सम्बोधन गर्दै मञ्चले भण्डारणमा रहेका सामाग्रीहरु समेत मुल्यवृद्धि पछिको दररेट कायम गरेर बिक्री वितरण भैरहेको भन्दै त्यसो नगर्न अपिल गरेको हो ।
मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले जारी गरेको अपिलमा विश्व बजारको हबला दिँदै अस्वभाविक मुल्यवृद्धि गर्ने काम भैरहेको भन्दै उपभोक्ता अधिकारको संरक्षण गर्न अनुरोध गरिएको छ ।
‘गर्मी मौसम सुरु भएसँगै बजारमा बिक्रीका लागि राखिएका फलफुल, माछा, मासु, मिठाईजन्य वस्तुहरुको सरसफाईमा ध्यान दिउँ, अखाद्य वस्तु बिक्री नगरौं, स्वस्थ्यकर खाद्यपदार्थ तोकिएको मुल्यमा बिक्री गरौं’ अपिलमा भनिएको छ ‘कुनै किसिमको अखाद्य वस्तु बिक्री गर्ने, मुल्य बढी लिने, बिल नदिने, तौल कम गर्ने गरेमा उपभोक्ता संरक्षण ऐन २०७५ र खाद्य ऐन २०२७ बमोजिम कारवाही गर्न बाध्य हुने छौं ।’
नयाँ वर्षको संघारमा बजारमा थप मुल्यवृद्धि हुनसक्ने भन्दै तोकिएकै मुल्यमा सामन खरिद बिक्री गर्न र बिलबिजकको प्रयोग अनिवार्य गर्न उपभोक्तालाई समेत आग्रह गरिएको छ ।





