शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘समृद्ध बागलुङ नगर’ को आधार तयार

‘समृद्ध बागलुङ नगर’ को आधार तयार


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७८, बुधबार
?

बागलुङ/ लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय तह निर्वाचन भएको करिब करिब पाँच वर्ष बितेको छ । पाँच वर्षअघि जनताले आफुनो अमुल्य मत दिएर बागलुङ नगरपालिकाको विकास र समृद्धिका लागि काम गर्ने अवसर जनप्रतिनधीलाई प्रदान गरेका थिए । बागलुङ जिल्ला सदरमुकाम रहेको सुन्दर बागलुङ नगरीलाई समृद्ध नगरपालिका बनाउनका लागि नगरपालिकाले तिव्रताका साथ काम गरिरहेको छ ।

नगरपालिकाले बिभिन्न योजना तथा कामबाट ‘समृद्ध नगर निर्माण’को अभियानको थालनी गरेको थियो र केही करिब करिब ती योजना कार्यान्व्यनको चरण रहेका छन् भने केही निर्माणको चरणमा रहेका छन् । जिल्लाको पुरानो नगरपालिका भएका हिसाबले बागलुङ नगरपालिकासँग जनताको स्वभाविक आकांक्षा धेरै थियो । एकै पटक सबै काम सकिने कुरा होईन । नगरले पाँच वर्षको अबधिमा लामो समय अल्झिएका केही ठुला काम गरेको छ । केही नयाँ कामको सुरुवात भएको छभने स–साना कामबाट आम सर्वसाधारण लाभान्वित हुने कामसमेत नगरमा भएका छन् ।

१. विश्वकै लामो पुल निर्माण

स्थानीय तह स्थापना भएयता शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार, खानेपानी, कृषिलगायतका क्षेत्रमा फड्को मारेको नगरपालिकाले गौरवको योजना विश्वकै लामो (५६७ मी.) झोलुङ्ले पुल निर्माण गरेर बागलुङलाई विश्वसामु चिनाउने काम गरेको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिकाको पाङ जोड्ने सिङगल स्पानको विश्वकै लामो झोलुङे पुलको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । हाल झोलुङ्गे पुलको नाम ‘गण्डकी सुनौलो झुला’ भनेर नामाकरण गरिएको छ । उक्त पुललाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाउने प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ । पुल निर्माण भएपछि पुल तर्न र अवलोकन भ्रमणका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगवमन बृद्धि हुँदै गएको छ ।

२. बागलुङ बसपार्क

बागलुङ बजारमा व्यवस्थित बसपार्क नहुँदा लामो समयदेखि ठूलो समस्या भोग्नुप¥यो । शहरीकरण बढ्दै बागलुङ बजार अव्यवस्थित हुँदा व्यवस्थित बसपार्क निर्माणका लागि २०५९ सालदेखि नै प्रक्रिया शुभारम्भ भएको थियो । बागलुङको विकास र व्यवस्थित बजारका लागि बागलुङ नगरपालिकाका स्थानीय ५२ जनाले उपलब्ध गराएको ५९ रोपनी जग्गामध्ये १७ रोपनी जग्गामा बागलुङको उपल्लाचौरमा बसपार्क निर्माणको काम सम्पन्न भएर हस्तान्तरण भएको छ । सडकको पहुँच विस्तारको काम चलिरहेकाले बसपार्क सञ्चालनमा आउन नसकेको भएपनि छिट्टै सञ्चालनको चरणमा छ ।

३. बलेवा बिमानस्थल

२६ वर्षदेखि बन्द रहेको बलेवा बिमानस्थल नगरपालिकाकै पहलमा सञ्चालनमा आयो । एक वर्षसम्म नगरले विमान कम्पनीहरुलाई उडानमा हुने घाटाको सोधभर्नासमेत गरेर सञ्चालन गरेको बिमानस्थल त्यसपछि मात्रै नागरिक उड्यन प्राधिकरणको नजरमा पर्यो । अहिले बिमानस्थल कालोपत्रे भएको छ । सुविधासम्पन्न बिमानस्थल बनेकाले अब नियमित उडानका लागि पहल भैरहेको छ । पर्यटनको विकासका लागि महत्वपूर्ण मानिएको बिमानस्थल सञ्चालनमा आउँदा नगरका आर्थिक गतिबिधि बढ्ने, रोजगारी सिर्जना हुने वातावरण बन्ने छ ।

४. स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम

बागलुङ नगरपालिकाले विश्वभर फैलिएको कोरोना भाइरसको समयमा विभिन्न रचनात्मक कार्यक्रमहरु गरेर देशव्यापी रुपमा ठूलो प्रशंसा बटुलेको थियो । कोरोना महामारीको समयमा धौलागिरि अस्पतालमा शव व्यवस्थापन नभएको समयमा बागलुङ नगरपालिकाले शव व्यवस्थापनका लागि शव वाहनको व्यवस्थापन गर्नका लागि निकै उत्कृष्ट भूमिका खेलेको थियो । कोरोना महामारीले धेरै संक्रमितहरु भएको अवस्थामा बागलुङ नगरपालिकाले चोक चोकमा कोरोना परीक्षण गरेर सहज सेवा प्रदान गरेको थियो ।

चोक चोकमा कोरोना परीक्षण गर्दा समुदायस्तरमा कत्तिको कोरोना फैलिएको छ भन्ने कुरालाई प्रष्ट पार्नुका साथै कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि निकै उत्कृष्ट काम भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विभिन्न संघसंस्थासंग सहकार्य गरेर विभिन्न कार्यक्रमहरु गरिरहेको छ । अन्तर्राष्ट्रिय समाज बागलुङ, प्रवासी नेपाली संघ बेलायत शाखाको सहकार्यमा बागलुङ नगरपालिकामा टेलिमेडिसिन सेवासमेत सञ्चालनमा ल्याएको छ । बागलुङ नगरपालिका तथा यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य क्षेत्रमा अझै उत्कृष्ट सेवा प्रदान गर्नका लागि विशेषज्ञसहितको टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको हो ।

५. चोक सुधार

बागलुङ बजारका चोकहरु साँघुरा हुँदा नगरबासीले सधैं सास्ती खेप्नुपरेको थियो । नगरपालिकाले पहिलो वर्षदेखि नै बजारका महत्वपूर्ण चोक सुधारका कार्यक्रम सञ्चालनमा ल्यायो । जिल्ला प्रशासन कार्यालय अघिको चोक, ट्राफिक चोक, हुलाक चोक, क्याम्पस चोकलगायतका चोकहरु उदाहरण हुन् । चोक सुधारसँगै वर्षाको समयमा बागलुङ बजारमा खोला जस्तै बग्ने सडक नालीको व्यवस्थापन अर्को महत्वपूर्ण काम हो ।

६. वातावरणीय चिडियाखाना

बागलुङको मालिका क्षेत्रलाई वन्यजन्तु संरक्षण क्षेत्र निर्माणको तयारी गरेको छ । बागलुङ नगरपालिकाले बागलुङको मालिका क्षेत्रमा फैलिएको जंगललाई संरक्षण क्षेत्र घोषणा गरी ‘वातावरणीय चिडियाखाना’ निर्माणको कामलाई अगाडि बढाएको हो । बागलुङमा आउने पर्यटकलाई थप समय बिताउनका लागि पर्यटकीय स्थलको निर्माण आवश्यक रहेकाले सोहीअनुसार बजेट विनियोजन गरी आवश्यक काम थालिएको थियो ।

बागलुङ नगरपालिकाको वडा नं. ५, ६ र ७ को उपल्लो भेगमा रहेको जंगललाई संरक्षित क्षेत्र घोषणा गरी वातावरणीय चिडियाखानाको रुपमा विकास गर्नका लागि नगरपालिकाले संघीय सरकार, प्रदेश सरकारसँगको सहकार्यमा यो योजनाले मुर्तरुप पाउने क्रममा रहेको नगरपालिकाले जनाएको छ । प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका भगवती मन्दिर र नयाँ गन्तव्यको रुपमा विकास भइरहेको सर्वसिद्धिधाम पञ्चकोटमा आउने पर्यटकको संख्या बढ्दै गइरहेकाले नयाँ गन्तव्यको रुपमा विकास हुने निश्चित छ ।

७. सडक तथा अन्य बिकासका योजना

स्थानीय सरकार स्थापना भएयता बागलुङ नगरपालिकाभित्र प्रदेश सरकारको लगानीमा १५ किलोमिटर र संघिय सरकारको लगानीमा नौ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न गरेको छ । नगरपालिकामा हालसम्म २३ दशमलव ६६ किलोमिटर कालोपत्रे र ढलान भएको छ । त्यस्तै १३.३५ किलोमिटर पक्की नाली निर्माण सम्पन्न हुनुका साथै १ सय ३९ किलोमिटर सडक निर्माण भएको छ । १४.७७ किलोमिटर पैदल मार्ग निर्माण भएको छ भने ३ किलोमिटर तारजाली लगाउने काम सम्पन्न भएको छ ।

८. रंगशाला निर्माण

बागलुङ नगरपालिकाको गौरवको आयोजनाको रुपमा रामरेखा रंगशाला निर्माणको कामसमेत अघि बढेको छ । सो रंगशाला निर्माण भएमा विभिन्न राष्ट्रिय स्तरका कार्यक्रम गर्न निकै सहज हुने छ ।

९. पार्कहरुको व्यवस्थापन

जंगलको रुपमा विकास भैरहेका शहीद पार्क र विरेन्द्र ऐश्वर्य पार्कले मुहरा फेरेका छन् । पार्कहरुमा भएको व्यवस्थापनले शहरी जीवनलाई सहयोग गर्ने छभने स्वास्थ्य हावाका लागि सहयोगी बन्ने छ । शहरी कोलाहालबाट मुक्त हुनेहरु, बाहिरबाट घुम्न आउनेहरुका लागि पार्कहरु पर्यटकीय क्षेत्र बन्ने छन् । नगरपालिकाले उल्लेखनिय पर्यटक भित्राउनको लागि ग्रेटवालसहितको जुलोजिकल पार्क, सहिद पार्कको पुनःनिर्माण काठेखोला नदिलाई थुनेर जलविहार बनाउने कार्यसमेत अगाडि बढिसकेको छ ।

१०. फोहोर व्यवस्थापन र राजश्वमा वृद्धि

बागलुङ नगरको फोहोर व्यवस्थापनको विषयमा नगरका जनप्रतिनिधि आएपछि सबैभन्दा धेरै प्रश्न उठेको विषय हो । जिम्मेबारी पाएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीले काम नगरेका कारण आएका प्रश्न तथा सुझावको ममन गर्दै नगरले आँफैले फोहोर व्यवस्थापनको काम थालेको छ । नगर आँफैले काम थालेपछि अहिले बजारमा फोहोर व्यवस्थापनको समस्या छैन् । जनप्रतिनिधि आउनु पूर्व साढे दुई करोडको हाराहारीमा रहेको बागलुङ नगरपालिकाको आन्तरीक राजश्व अहिले सात करोडको हाराहारीमा पुगेको छ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, युवा खेलकुद र सामाजिक विकासका क्षेत्रमा नगरले बिभिन्न परियोजनाहरु निर्माण गरेर काम गरिरहेको छ ।

नगरका कामबारे नगरप्रमुख जनकारज पौडेल

संघीयताको कार्यान्वयनसँगै हामी निर्वाचित भएर आईसकेपछि बागलुङ नगरपालिकाले एउटा अभिभावक पाएको थियो । हिजो कर्मचारीले राज्यलाई निरन्तरता दिने काम मात्रै भैरहेको थियो । हिजो जनतालाई आफ्ना गुनासो समस्या राख्ने समस्या थियो, हामी आएपछि जनताको दु्ःख बिसाउने ठाउँ बन्यो । जनप्रतिनिधि आएपछि बागलुङे जनताको एउटा सपना बोकेका थिए । पुरानो व्यापारिक केन्द्र बागलुङ बजारलाई पर्यटकीय गन्तव्य बनाउने । हाम्रा पूर्वाधारका समस्याहरु पनि थिए । शिक्षा, स्वास्थ्य, खानेपानी, महिला बालबालिका, दलित, उत्पीडितका समस्या थिए । सुरुमा त हामी आएपछि कानुनको समस्या भोग्नु पर्यो । पहिलो ६ महिना त निर्वाचन नै भएको थिएन् ।

संघ प्रदेशको निर्वाचन पश्चात कानुन बन्न थाले । एक वर्ष हामीले कानुन निर्माणमा नै बिताएका छौं । कर्मचारी र संरचनाको समस्या थियो । नयाँ संरचना भएको हुनाले चुनौती थिए, हामीले त्यसलाई समाधान गर्दै गयौं । बागलुङे जनताको एउटा सपना थियो ‘सांस्कृतिक व्यापारिक पर्यटकीय नगर’ बनाउने सपना थियो । त्यो कसरी पूर्ती गर्नेभन्दा हामी ठुला पूर्वाधार निर्माणमा जानु पर्दथ्यो । जस्तो पर्यटकभन्दा पर्यटकलाई सहज आवतजावतको वातावरण बनाउनुपर्ने थियो । झण्डै २५÷३० बर्षदेखि बलेवा बिमानस्थल बन्द थियो । हामीले त्यो बिमानस्थल चलाउनुपर्ने थियो ।

सडक फराकिलो बनाउने कुरा थियो, बसपार्क, लामो पुलको कुरा त्यसैमा जोडिएर आउँथ्यो । बाह्रै महिना चल्ने सडक आवश्यक थियो, ढलको पानी सडकबाट बग्थ्यो । ६ महिना जुत्ता लगाएर हिँड्ने अवस्था हुँदैनथ्यो । माझी बस्ती बन्न सकेको थिएन । एक हिसाबले बागलुङ बजार उजाड जन्ती अन्माएर पठाएको बेहुलीको घर जस्तो थियो । यो अवस्थाको हामीले एक खालको पूर्वाधारहरु तयार गरेर अन्त्य गरेका छौं । बिमानस्थल, बसपार्क, सडक नाली, माझी बस्ती, फराकिलो सडक, झोलुंगे पुल हामीले निर्माण गरिसकेका छौं ।

एकै पटक सयौं घर, सटर खाली भएको चर्चा थियो । अहिले ट्राफिक जाम, घरभाडा र अस्पतालको अवस्था हेर्ने हो भने कोरोना महामाारी तीन वर्ष चल्दा पनि बागलुङ बजार पुनः जागेको छ । अहिले बजारमा कोठा पाईंदैन । बजार जागेको छ, मान्छेले रोजगारी पाएका छन्, सयौं पर्यटक बागलुङ भित्रिने माध्याम बनेका छन् कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग । रुकुमबाट प्रबेश गरेका पर्यटक ढोरपाटनहुँदै बागलुङ बजार आउने र करिडोरबाट प्रबेश गरेका पर्यटक बागलुङ घुमेर ढोरपाटन पुग्ने वातावरण बनेको छ ।
हाम्रो नगर रिङरोडको सेन्टर जस्तै बनेको छ । पुर्वका पश्चिम जान बागलुङहुँदै पश्चिमका मानिस पूर्व जान बागलुङहुँदै पूर्व जाने वातवरण बनेको छ । यसको निम्ति हाम्रो बागलुङ कालिका चारकोसे झाडी जस्तो घना जंगलको बिचमा सबैको आस्था अटेको मन्दिर छ ।

कालिका दर्शनका लागि आउने पर्यटकलाई बागलुङ घुम्ने वातावरण बनाएका छौं । यो बिचमा हामीले विश्वकै लामो पुल निर्माण गरेका छौं, शालग्राम संग्रहालय बनेको छ, त्यहाँ पनि हामी सहभागि छौं, पञ्चकोट बनेको छ । त्यसमाथी हामीले चिडियाखाना बनाउने भनेका छौं । खेल पर्यटनका लागि मेयर कप गर्यौं । कोभिडका कारणले पछिल्लो वर्षहरुमा हुन सकेनन् फरक कुरा रह्यो । बलेवामा प्याराग्लाईडिङको कुरा छ । त्यहाँ पूर्वाधारहरु बनेका छन् । जस्तैः भैरवस्थानको कुरा गरौं । इतिहासमा पहिलोपटक हाम्रो भकुण्डे र भैरवस्थानमा भेगन ग्रुपका अन्तराष्ट्रिय पर्यटक ल्याउन सकेका छौं । तीन वर्ष अघिदेखि त्यो पनि ठुलो संख्यामा । आन्तरिक पर्यटकबाहेक बागलुङले स्वागत गर्न पाएको थिएन्, हामीले हाम्रो कार्यकालमा अन्तराष्ट्रिय पर्यटकको स्वागत गरेका छौं । त्यसका कारणले हामीले गरेका कामका हिसाबले आर्थिक गतिबिधि बढेका छन् । स्वभाविक हिसाबमा रोजगारी सिर्जना भएका छन् । यो खालको परिदृष्य छ ।

स्वास्थ्यको क्षेत्रको कुरा गरौं भने हिजो गर्भवती तीन जिल्ला घुमाउँदा ज्यान जाने जोखिम थियो । अहिले धौलागिरी अस्पतालमा डाक्टर हुनुहुन्छ । भवन, अक्सिजन प्लान्ट बन्ने कुरा, मृगौला पीडितका लागि डायलसिसको कुरा भन्नुस् स्वास्थ्य क्षेत्रमा हामीले गरेको प्रयासले धेरै सुधार भएका छन् । शिक्षा क्षेत्रको कुरा गर्दा अहिले सामुदायीक विद्यालयको शिक्षाको गुणस्तर बृद्धि भएको छ । अहिले मिडियाले नै चर्चा गरिरहेका छन् गुणस्तर सुधार भएको बिषयमा । नगरका हरेक वडाका विद्यालयको गुणस्तरले फड्को मारेको छ । हामीले पूर्वाधार, शिक्षक व्यवस्थापनमा सहयोग गर्दा अहिलेको वातावरण सिर्जना भएको हो ।

खानेपानीको बिषयमा कुरा गर्नुपर्दा हाम्रो नगरमा चार वटा लिफ्टिङ योजनाहरु सुरु भएका छन् । नारायणस्थानले सुचारु गरिसकेको छ । बागलुङ नगरपालिकाको आयोजना अन्तिम चरणमा छ । कुँडुले, भैरवस्थानमा संरचनाहरु बनिरहेका छन् । खानेपानीको क्षेत्रमा पनि ठुलो परिवर्तन भएको छ । विरेन्द्र ऐश्वर्य पार्क, शहिद पार्क सुधार भएका छन् । बागलुङ बजारका सडक सुधारदेखि चोक सुधारका काम भएका छन् ।

नागरिकले व्यहोरेको फोहोरको समस्या थियो । नगरले खर्च व्यहोर्ने तर फोहोर नउठ्ने समस्या थियो । सहकारीले व्यवस्थापन गर्न सकेको थिएन् । सरकारीले काम सुधार नगरेपछि हामीले व्यवस्थित रुपमा लियौं र अहिले फोहोरको समस्या बजारमा छैन । हिजो फोहोरको समस्या सुन्दा मेरो बिहानको समय जान्थ्यो, अहिले फोहोरको प्रश्न आउन छोडेको छ । बुद्धिजिवीले फोहोर नउठाउने र पानी नदिने नगर किन चाहियो भन्न थाल्नुभएको थियो । अहिले टोल टोलमा सबै खुसी व्यक्त गर्नुहुन्छ ।

सुशासनको क्षेत्रमा मैले कुरा गर्नै पर्छ । हामी आउने बेला हाम्रो आन्तरिक आय १ करोड २२ लाख थियो । त्यसको एक वर्षमा हामीले ३ करोड पु¥यायौं । अहिले त्यो बढेर ६ करोडको अनुमान छ । यसले के देखाउँछ भने अहिले सुशासन छ । हिजो तिरे पनि हुने नतिरे पनि हुने, पहुँचवालाले नतिर्ने जुन समस्या थियो । त्यो कानुनको दायरामा आएको छ । अहिले सबैले कर तिर्छन् । कनुनबमोजिम सबै सहभागी छन् । यो खालको आन्तरिक आयमा बढोत्तरी नेपालका नगरपालिकामध्ये हामी पहिलो हो भन्ने लाग्छ । यसमा हामीले कोभिडका कारणले २५ प्रतिशत छुट दियौं । जरिवानाको समयसमेत थपेका थियौं ।

नक्सापासको समस्या थियो । त्यसलाई हामीले समाधान गरेका छौं । अघिपछि छोड्न पर्ने नछोड्ने । विदेशमा कमाएको पैसाले सानो सानो घडेरी किनेका कारण महिलाहरु प्रताडित हुने । नक्सा पास नहुने, नक्साकै कारण नगरसभा नै नहुने जुन समस्या थियो त्यो हामीले समाधान गरेका छौं । पहिले बनेका जुन घरहरु थिए उनीहरुलाई नगरले चाहेका बेला अतिक्रमण संरचना भत्काउने गरी जरिवाना गरेर नक्सा पास गरेका छौं । नयाँ बन्ने संरचनामा नक्सापास सम्बन्धि मापदण्ड लागु भएको छ । यसले सबैलाई सहयोग गर्छ । अहिले हेर्नुस् सडक खुल्ला छ । जाम कम छ । भुकम्प प्रतिरोधी घरहरु बनिरहेका छन् ।

अर्को कुरा हामिकहाँ अल्पकालिन महिला सेवा केन्द्र थियो । कयौं समाचार आए । त्यहाँका बेथितीका बिषयमा निकै चर्चा हुन्थ्यो । पीडितले न्याय पाउनुको साटो म्याचिङ फिक्सिङ हुन्छन् भन्ने थियो । त्यसलाई हामीले हेण्डओभर गरेर मिलेमतो निर्मुल गरेका छौं । अहिले पीडितहरुले न्याय पाउने वातावरण बनेको छ । सामी प्रोजेक्टमार्फत विदेशमा कमाएको पैसाको सदुपयोग सुरु भएको छ ।

किसानका कुरा गर्दा सुन्तला, कागती खेतीलाई हामीले प्रबद्र्धन गरिरहेका छौं । दुई बर्षसम्म फल्ने धान, कोदो, मकै जे जती हुन्छ त्यो बराबर हामीले अनुदान दिने भनेका छौं । अहिले लगाईएका बिरुवाको आधारमा बढाउने हो भने अबको केही वर्षमा ६ अर्ब रुपैयाँ सुन्तला कागतीबाट भित्रिने छ । अनुदानमा आधारित बाख्रा तथा कुखुरापालन किन नभन्नुस्, धेरै काम हामीले गरेका छौं । महिला, युवा, सिप विकास धेरै क्षेत्रमा काम गरेका छौं । अहिले पनि अझै केही काम बाँकी छन् । स्टेडिएम बाँकी छ, जु सञ्चालन गर्न बाँकी छ, बसपार्क बनेको छ सञ्चालन हुन बाँकी छ । जल बिहारको परियोजनाको काम बाँकी छ । जुन काम हामीले गरेका छौं त्यो कामबाट नागरिकले आधारभुत तहको सेवा पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->