शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जैमिनी नगरपालिका : शून्यबाट सुन्दर नगरी !

जैमिनी नगरपालिका : शून्यबाट सुन्दर नगरी !


  • तारानाथ आचार्य
  • चैत्र ३० २०७८, बुधबार

बागलुङ/ सर्वदलीय बैठक । खाजा, भत्ता, यातायात खर्च र विविध खर्चमा सकिन्थो आधाउधी बजेट । लामो समय जनतिनिधि नभएकाले सर्वदलीय भेलाबाट मात्रै गाउँ विकास समितिको बजेटको टुंगो लाग्थ्यो । राजनीतिक स्वार्थ बाँझिएका योजना, टुक्रे योजनामै कनिका बाँडेको जस्तै बाँडिन्थ्यो रकम । पहुँचवालाले आफ्नो घर जाने व्यक्तिगत पदमार्गमा समेत गाउँ विकास समितिको बजेट प्रयोग गर्थे भने राजनीतिक पहुँच नभएकाहरु हेरेको हेरै हुन्थे ।

राज्यको पुनःसंरचनाअघि बागलुङको जैमिनी नगरपालिकामा ९ वटा गाउँ विकास समिति थिए । सबैको नियती उस्तै । पुनसंरचनापछि दमेक गाउँ विकास समितिलाई विभाजन गरेर दुई वडा बनेका छन् । जैमिनीमा अहिले १० वडा छन् ।

गाउँ विकास समितिको कार्यालयबाट सम्पादन हुँदै आएकाभन्दा धेरै काम अहिले वडाबाटै हुन्छन् । गाविस हुँदा सशर्तबाहेकको अनुदान २५ लाखको हाराहारीमा हुँदो हो । अहिले वडामा जाने बजेट त्यो भन्दा चार गुना बढी छ । वडामा पुगेको बजेटले सर्वसाधारणको पहुँचमा पुगेको बताउँछन् जैमिनी नगरका प्रमुख इन्द्रराज पौडेल ।

जैमिनीमा खर्च हिजोको जस्तो भद्रगोल छैन् । आर्थिक मितव्ययीतामा एकाध हुने अनियमितताका बाबजुद धेरै वडाहरुले सजगता अपनाएको पाईन्छ ।
‘हामीले शुन्यबाट काम थालेका हौं, पाँच वर्षको अवधिमा धेरै परिवर्तन भए भन्ने लाग्छ’ पौडेल भन्छन् ‘भाँचिएको प्लाष्टिक कुर्सीबाट सुरु भएको कार्यालयका सेवा आफ्नै भवनको यात्रामा छन् ।’ जैमिनी नगरपालिकाले आफ्नै भवन निर्माणको लागि शिलान्याश गरिसकेको छ ।

साविकको छिस्ती गाउँ विकास समिति अहिले नगरपालिकाको वडा नं. ८ बनेको छ । यो नगरको सबैभन्दा ठुलो वडा हो । चार बर्ष पहिलेसम्म सडक सञ्जालमा नजोडिएको वडामा अहिले आधारभुत कच्चि सडक टोल टोलमा पुगेका छन् । ‘हामीले पहिले थालेको काम नै सडक सञ्जाल नजोडिएका वडामा सडक पु¥याउने थियो’ पौडेल भन्छन् ‘वडा नं. ८ र वडा नं. ३ को पर्यटकीय क्षेत्र गाजाको धुरीमा सडक पु¥याउनु मुख्य उपलव्धी हो ।’

अन्तर गाउँ विकास समिति सडक निर्माणको काम तत्कालिन जिल्ला विकास समितिले गर्दथ्यो । गाविसको मात्रै वजेटले छिस्तीमा सडक पु¥याउन सम्भव थिएन भने जिविसको नजर पुगेको थिएन् । नगरपालिका नबनेको भए अहिले पनि ती वडामा सडक सञ्जाल नपुग्ने दाबी गर्छन् पौडेल ।

जिल्ला विकास समितिमै केन्द्रित रहेको आर्थिक सुशासन अहिले जिल्लाका दश ठाउँमा फैलिएको उनको बुझाई छ । ‘हेर्नुस त अहिले सबै आर्थिक गतिविधि नगरको मुकामबाट, अझै भनौ जनताको नजिकबाट हुन्छन्, जसका कारण जनताको खबरदारी रहिरहन्छ भने आर्थिक सुशासन कायम गर्न मद्दत पुगेको छ’ प्रमुख पौडेलले भने ‘स्रोतको खोजी हुन थालेको छ, खर्च मितव्ययी हुँदैछ ।’

जैमिनीले १७ परिवार घरबारबिहिन भएकालाई घर दिलाएको छ । सुकुम्बासी उन्मुलन नारा बनाएर प्रत्येक घरलाई ३ लाख रुपैयाँ अनुदान दिएर सुकुम्बासी समस्या समाधान गरेको नगर उप–प्रमुख लिला राना बताउँछन् । खानेपानीको चरम समस्या, कालोपत्रे सडक एक मिटरसम्म थिएन जैमिनीमा ।

अहिले खानेपानीका तीन ठुला योजना सञ्चालनमा छन् भने केन्द्र र प्रदेश सरकारसँग मिलेर झण्डै दुई किलोमिटर सडक कालोपत्रे भएको छ ।
पालिका मुकाम कुश्मीशेरा बजारको सुधार विस्तार होस् वा कालीगण्डकी करिडोरदेखि कुश्मीशेरा बजारसम्मको झण्डै साढे दुई किलोमिटर कालोपत्रे सडक बनाउन गरिएको थालनी होस् जैमिनीले जस लिने कामहरु हुन् ।

पाँच वर्षे कामको विषयमा नगरप्रमुख इन्द्रराज पौडेलको बुझाई

हामीले सानो कोठामा भाँचिएका कुर्सीबाट कार्यालय प्रारम्भ गरेको हो । नयाँ नगरपालिका भएकाले नत कर्मचारी पर्याप्त थिए न त कार्यालय सञ्चालनका लागि सहज अवस्था थियो । कठिन परिस्थितीमा पनि काम सुरु भयो र अहिले आफ्नै भवन बन्ने चरणमा रहेको छ । भवनका लागि जग्गा, बजेट सबैको व्यवस्थापन गरेर शिलान्याश गरेका छौं । आउने कार्यकालमा आफ्नै घरमा बस्ने वातावरण बनाउनु नै हामीले उपलव्धी मान्नै पर्छ ।

पालिका मुकाम कुश्मीशेरा बजार हिउँदमा हिलाम्मे र बर्षाको समयमा धुलाम्मे हुने सानो शहर थियो । पाँच वर्षको निरन्तर प्रयासले यहाँको सडक कालोपत्रे र ढलान भएको छ । सुन्दर सानो शहर बनेको छ कुश्मीशेरा । ढल निकासको महत्वपूर्ण काम यहाँ भएको छ ।

कयौं गाउँमा सडक नभएको अवस्थामा हामी नगरमा आएका हौं । आधारभूत तहको सडकको पहुँच अहिले सबै गाउँमा पुगेको छ । १५ मिनेटको पैदल यात्रापछि सबै नागरिक सडकको पहुँचमा पुग्ने वातावरण बनेको छ जैमिनीमा । हामीले १३ वटा दिगो सडक घोषणा गरेर विकास गरेका छौं । साना वडामा एक र ठुला वडामा दुईवटा दिगो सडक बनेका छन् । सडकको पहुँच नपुगेकै कारण पछि परेको टोल अब हाम्रोमा छैन् ।

जैमिनीको अर्को महत्वपूर्ण काम भनेको घर नभएकाको घर बनाउने हो । १७ परिवार सुकुम्बासीलाई जग्गासहित घर दिएका छौं । ८३ परिवार घरबिहिनका लागि वजेटको व्यवस्था गरेर घर बनाउने चरणमा छन् । सम्झौता भएको छ, हाम्रो कार्यकालभित्रै काम सकिन्छ ।

जैमिनीका सबै घरमा आधारभुत तहको पानी पु¥याउने काम भएको छ । बिभिन्न सामाजिक संघसंस्था र प्रदेश र संघ सरकारसँग मिलेर पानी नभएको ठाउँमा लिफ्टिङ प्रविधिको प्रयोग गरेरै भएपनि पानी पु¥याएका छौं । सुन्दर गाउँहरु निर्माणका लागि सफा घर र सफा समुदाय पुरस्कृत गर्नेदेखि कुश्मीशेरा बजारको फोहोर व्यवस्थापनको काम हामीले गरेका छौं । साना ठुला सिंचाईंका आयोजना हरेक फाँटहरुमा छन्, प्रदेश र संघसँग मिलेर हामीले धेरै काम गरेका छौं ।

जैमिनीमा अब विद्यालय भवनको अभाव छैन । सबै बिद्यालयमा सुविधा सम्पन्न भवन बनाउने काम भएको छ । जैमिनी–१० को धुसमा रहेको प्राथमिक विद्यालयबाहेक सबै विद्यालयमा सडक पुगेको छ । शिक्षक कर्मचारीको व्यवस्थापन भएको छ । अझै हामीले शिक्षामा गरेको प्रयास के हो भने सामुदायीक आवासिय विद्यालय बनाउने । जसका लागि नीतिगत अबधारणा हामीले बनाएका छौं ।

संघीय सरकारले दश वर्ष विद्यालयलाई स्वायत्तता दियो भने यो अवधारणाले विद्यालयमा निकै सुधार हुनेछ । नगरका १३ विद्यालयलाई आवासिय विद्यालय बनाउने नीति हामीले बनाएका छौं । बसाईसराई रोक्ने र गाउँमै गुणस्तरीय व्यवहारिक शिक्षा दिने हाम्रो लक्ष हो ।

कृषि क्षेत्रमा सानातिना अनुदानका कार्यक्रम त हामीले छोडेका छैनौं । बाँझो जमिनलाई प्रयोग गर्ने सामूहिक लगानी र व्यवसायलाई प्रबद्र्धन गर्नका लागि जैमिनीमा नगरप्रमुख कृषि परियोजना सुरु गरेका छौं । सकारात्मक सन्देश बोकेको यो परियोजनाले किसानलाई व्यवसायिक र आत्मनिर्भर बनाउँछ भने खेर गैरहेको बाँझो जमिन प्रयोगमा आउने छ । दुधमा अनुदान, उत्पादनमा अनुदानदेखि पकेट, ब्लक घोषणा गरेर उत्पादन बढाउने गरी भएका काम पनि छुटाउन हुन्न । किसानलाई सहयोग गर्न बाँदर नियन्त्रणमा समेत नगरले सहयोग गरेको छ ।

माछा, कुखुरा, बाख्रापालनमा प्रोत्साहन र पुरस्कारका कार्यक्रम हामिले थालनी गरेका छौं । दुध र मासुको उत्पादन बढाउनकै लागि नगरप्रमुख पशु परियोजना पनि सञ्चालनमा छ । कृषि परियोजनाले जस्तै यो परियोजनाले पनि किसानलाई सघाएको छ ।

पर्यटनमा हाँडिकोटको चर्चा हामी आएपछि निकै भयो । हामीले त्यहाँ संरचना बनायौं, प्रबद्र्धन गरेका छौं । गाजाको दह, गाइथुनेघाट, जैमिनीधाम, हाँडिकोट पदमार्ग, पर्यटकीय क्षेत्रमा घरबास सञ्चालन माईकाथान, हात्तीढुंगाको प्रचार–प्रसार हाम्रो पर्यटमा भएका काम हुन् ।

नयाँ नगर भएकाले कर्मचारीको अभाव सुरुमा झेल्यौं । अहिले कहिँ पनि समस्या छैन् । दरबन्दी खाली भएका ठाउँमा हामीले आग्रह गरेर कर्मचारी ल्याएका छौं । विधिले मिल्ने ठाउँहरुमा करारमा कर्मचारी नियुक्त गरेर काम भैरहेका छन् । बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवात होस् वा अपांगता भएकाहरुलाई सहायता समाग्री परिचय पत्र र भत्ताको व्यवस्था सामाजिक सुरक्षाका क्षेत्रमा हामीले गरेका काम हुन् ।

विपत्मा नगर नागरिकको साथमा रहयो । कोभिड महामारीमा हामीले नागरिक कै साथमा रहेर काम गरेका छौं । नगर अस्पतालका लागि जग्गा व्यवस्थापन भएको छ । स्वास्थ्य संस्था नभएका वडामा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा आएका छन् ।

जनतका हरेक सुख दुखमा हामीले साथमा रहेका छौं । सुशासनको क्षेत्रमा हामीले विधि मिचेर काम कहिल्यै गरेनौं । गर्नु पनि गलत हुन्छ । छोटो समय धेरै अपेक्षा थिए जनताका तर आधारभुत आवश्यकता पुरा भएका छन् । धेरै काम थालनी भएर पुरा हुन बाँकी छन् । हामीले थालेका सबै काम सम्पन्न हुँदा बल्ल कामको मुल्यांकन गर्ने बेला हुनेछ ।

हालसम्म सम्पादन भएका कार्यहरु

१. सुकुम्बासीको लागि जग्गा र आवासको व्यवस्था ।
२. घरबिहिनको लागि आवासको व्यवस्था ।
३. खरको छानोलाई जस्ताको छानीमा परिवर्तन ।
४. नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारमा नालीसहित ढलान र पिच ।
५. प्रशासकीय भवनको जग्गा व्यवस्था गरी शिलान्यास गरिएको छ ।
६. नगर अस्पतालको लागि जग्गाको व्यवस्थापनसहित डिपिआर तयार ।
७. प्रत्येक वडाको सदरमुकामदेखि नगरको सदरमुकामसम्म सजिलै आवतजावत गर्न सकिने सडक निमाण ।
८. दिगो विकासका लागि ठुला वडामा दुई वटा र साना वडामा एउटा गरी नगरभित्रका दश वटा सडक विकासको अवधारणासहित सुचारु भएको ।
९. जैमिनी धाममा ध्यान केन्द्रको निर्माण कार्य सुरुवात ।
१०. जैमिनीधामदेखि कुश्मीसेराहुँदै फेदीसम्म कालोपत्रे सडक निर्माणका सुरुवात ।
११ बानपाको सिमानादेखी नगरको सदरमुकाम सम्मको मोटरबाटो पिच ।
१२ बेसहारा महिला, पुरुष र एकल महिला कार्यक्रम ।
१३ नगर पशु परियोजना
क. पाडापाडी संरक्षण ।
ख. पशु स्वास्थ्य शिविर ।
ग. बाख्रा पकेट ।
घ. भैसी प्रर्वद्धन ।
ङ. कृषक प्रोत्साहन (पशुपालनतर्फ) ।
१४. नगर कृषि परियोजना कृषि पल्टनमार्फत
क. कृषिका विभिन्न ब्लक तथा पकेट क्षेत्रहरु (आलु, अलैंची, केरा, सुन्तला, मकै) ।
ख. कृषक प्रोत्साहन कार्यक्रम ।
ग. रैथाने बाली विकास कार्यक्रम ।
१५. रिङरोडको डिपिआर तयार गरिएको ।
१६. पदमार्गहरु
क. कुश्मीसेरा बजारदेखि भैरवस्थानसम्म पदमार्गको शुरुवात ।
ख. दुर्लेबेसीदेखि शिवपुरीहुँदै कमलजैसी सम्मको पदमार्गको शुरुवात ।
ग. बिहारथलादेखि हाँडिकोट सम्मको पदमार्गको शुरुवात ।
घ. बेलबगरदेखि न्वारढिक धुल्लुनेटहुँदै विहारथला सम्मको पदमार्गको शुरुवात ।
ङ. राधाकृष्ण मन्दिरदेखि भुनियाहुँदै बोल्नेपहरा सम्मको पदमार्गको शुरुवात ।
च. थामडाँडा हलहलेहुँदै हाँडिकोट सम्मको पदमार्गको शुरुवात ।
छ. कुश्मीसेरा अमटारीदेखि अमलाचौर देउराली सम्मको पदमार्गको शुरुवात ।
१७. नगरपालिकाको सहभागितामा निर्माण भएका भवनहरुः
क. वडा नं. १ कुश्मीसेराको वडा कार्यालयमा कार्यपालिका हल निर्माण ।
ख. वडा नं. ६ अर्जेवाको वडा कार्यालय प्रदेश र नगरको सहभागीतामा बनेको ।
ग. वडा नं. ५ बिनामारे महिला समूहकले भवनमा नगरपालिका पनि संलग्न ।
घ.. वडा नं. ३ नेपानेको स्वास्थ्य चौकीको भवन निर्माण ।
ङ. वडा नं. ७ जैदीको वडा कार्यालयमा थप संरचना निर्माण ।
च. नगरपालिकाको कृषि भवनको निर्माण सम्पन्न ।
छ. वडा नं. ४ सर्कुवामा कोल्डस्टोर निर्माण ।
ज. वडा नं. २ दमेक बनहुँमा पञ्चदेव बेसहारा आश्रम भवनको निर्माण ।
१८. धार्मिक तथा पर्यटकीय स्थलहरुः (जसलाई पहिचान र प्रबद्र्धन गरिएको छ ।)
क. जैमिनी ऋषिले तपस्या गरेको स्थल जैमिनीधाम
ख. गाजाको दह शिद्वबराह मन्दिर र गाजाको धुरी
ग. हाँडिकोट भ्यूटावर
घ. माईकोथान र कोट
ड. गाईथुने
च. राधाकृष्ण मन्दिर
छ. पुतली गरा
ज. बोल्ने पहरो
झ. ल्वली डाँडो
ञ. रिठेडाँडा
ट. कमलजैसी
ठ. शिवपुरी
ड. पुरानो गाउँ
ढ. शंखे पहरो
ण. खानदुला पम्फे ओडार
त. राङखानीका तामाखानीहरु
थ. हात्तिढुंगा (गणेश मन्दिर)
द. सतिढुंगा ।
ध. जैदी भ्यूटावर
१९. आगामी कार्ययोजना
क. बस्ती विकासको अवधारणा ।
ख. जैमिनीका पर्यटन क्षेत्रलाई समेटने गरी रिङरोडको व्यवस्था ।
ग. पर्यटन क्षेत्रलाई पहिचान गर्न पदमार्गको व्यवस्था मिलाउने थप कार्यहरु गर्ने ।
घ. लघुउद्यमीबाट उत्पादित सामग्रीहरुका लागि कोसेली घरको स्थापना गर्ने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->