पर्वत/ समाजसेवी स्वर्गीय डिल्लीराम आचार्य र उनकी पत्नी सरस्वतीको स्मृतिमा उनका छोराहरूले पर्वतको कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन् ।
आचार्य दम्पतीका दुई छोराहरू गणेश आचार्य र गंगाधर आचार्यले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सघाउने उद्देश्यले पाँच लाख पाँच सय ५५ रुपैयाँको स्थापना गरेका हुन् । अक्षयकोषमा रहने उक्त रकम चेकमार्फत शुक्रवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तबहादुर सिके, सदस्य कमलनाथ पोख्रेल र प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेललाई हस्तान्तरण गरिएको छ ।
रकम बुझ्दै समितिका अध्यक्ष सिकेले कोषको व्यवस्थापनको लागि अक्षयकोष स्थापनाकर्ताहरूको सहभागितामा विधान बनाएर मापदण्ड निर्धारण गर्ने बताए । विद्यालय सबैको साझा मन्दिर भएकाले समाजमा हुने विशेष कार्यक्रम वा अवसरहरूको मौका पारेर सहयोग गर्ने गरेमा पुण्य प्राप्ति हुने बताए ।
अक्षयकोषको व्याजबाट आउने रकमले विद्यालयले मनाउने हरेक वर्षको वार्षिकोत्सवमा तीन जना छात्रा र दुई जना छात्रलाई सहयोग गर्ने गरी अक्षयकोषको स्थापना गरिएको अक्षयकोष स्थापनाकर्ता गणेश आचार्यले बताए । दिवगंत भएका बुबाको सम्झनामा विद्यालयमा हरेक वर्ष छात्रवृत्ति वितरणगर्दा स्वर्गीय बुबाको आत्माले शान्ति पाउने उनको भनाई छ । ‘सप्ताह लगाएर लाखौँ रुपैयाँ सक्न सातै दिन लाग्ला, तर विद्यालयमा अक्षयकोष राखियो भने सधैँका लागि बुबाको स्मरण हुने छ । उहाँको आत्माले शान्ति पाउने छ’, उनले भने, ‘कोही एक जनालाई सहयोग गर्नुभन्दा विद्यालयमा सहयोग गरेपछि त्यसबाट धेरैजना लाभान्वित हुन्छन् । सम्भव भएमा पछि यो कोषलाई अझै बढाउने प्रयास पनि गर्ने छौँ ।’
निजामति सेवाबाट अवकाश पाएका डिल्लीराजको २०७८ वैशाख २७ गते कोभिड–१९ सङ्क्रमणका कारण निधन भएको थियो । जागिरे जीवनबाट अवकाश लिएपछि सामाजिक सेवामा सक्रिय रहेका आचार्यको ६७ वर्षको उमेरमा निधन भएको थियो ।





