बागलुङ/ बागलुङको गलकोटमा रहेको ११ हजार फिट अग्लो घुम्टे डाँडालाई साछी राखेर धेरै कलाकारले गीत संगीत बनाएका छन् । ती गीतहरु चर्तित पनि छन् । घुम्टे यहाँको अग्लो पहाड हो । दर्जन थरी गुराँस फुल्ने घुम्टेमा रहेका सिद्ध भैरवको पूजा गर्न मानिसहरु दिनभर उकालो यात्रा गरेर पुग्छन् ।
बैसाख पूर्णिमा, नयाँबर्ष र अन्य पूर्णिमाको बेला बिशेष पूजा र मेला लाग्ने घुम्टेमा समूह बनेर जाने चलन छ । समूहमा जाँदा तन्नेरी तरुनीहरुले मायाप्रेमका गीत गाउँछन् । झ्याउरे, सालैज्यो, झाम्रे, ठाडो भाखा र सोरठी यहाँका चर्चित भाखाहरु हुुन् । रातमा बसेर नाच्दै गाउने केही सामुहिक गीतसंगीत छन् । तर घुम्टे जाँदा मादल बजाउँदै सबैले सजिलै गुनगुनाउने गीत हो ‘घुम्टे साइला’ ।
घुम्टे साइला गीत गलकोट क्षेत्रमा निकै प्रचलित छ । ‘घुम्टे जाँदाको पाँचसात घण्टा पार गर्न रमाइलो गर्ने पुरानो भाखा नै घुम्टे साइला हो’ गलकोट नगरपालिका १० की राधिका पुनले भनिन्, ‘यो गीतले बाटो काटेको पत्तै हुँदैन ।’ ठाडै उकालो चढ्दापनि दुःख बिर्साउने यो गीत मायाप्रेमकालागि पनि उत्तिकै चर्चित छ । गीतमा अधिकांस शब्दहरुपनि घुम्टेलेक, सिद्ध बराह, त्यहाँका सिमेभूमे र मायाप्रेमका कथा समेटिएका हुन्छन् । यस्तै शब्द समेटेर कलाकार जुना श्रीष र नविन राना लगायतले पनि घुम्टे साइला रेकर्ड गरेका छन् ।
घुम्टेलेकको मालिंगो त, तिनै तलिङ चोया साइली
जती टाढा उती गाढा, साम न व्याचको माया साइली
घुम्टे जानु अघि पाण्डवखानीको सिद्धथानमा पनि मेला लाग्छ । यहाँ गलकोट सहित तारखोला, ढोरपाटन, बडिगाड र छिमेकी गुल्मीदेखि मेलाभर्नेको भीड लाग्छ । उक्त मेलामा घुम्टे साइला सुन्न पाइने चाहना राखेर पनि धेरै आउने गर्छन् । ‘कतिको यो मेलामा मायाप्रेम बसेर घरबारे भएका छन्,’ पुनले भनिन्, ‘कतिले दुःख बिसाउने थलोको रुपमा प्रयोग गर्छन् ।’
हलो छेड्ने बसिलो त, ढुंगा छेड्ने छिनो साइला
सिमेभूमे साछी राखी, रुमाल लैजाउ चिनो साइला
यस्ता गीत गाएर वल्लोपल्लो गाउँको चिनारी गर्ने, माया बसाल्ने काम धेरै हुने गरेको उनले बताइन् । प्राध्यापक डा. दिनबहादुर थापाले घुम्टे साइला बागलुङको झाम्रेको परिभाषित स्वरुप भएको बताए । नेपाली भाषाका प्राध्यापक थापाले ‘बागलुङको झाम्रेगीत’ नामक पुस्तक समेत लेखेका छन् । ‘झाम्रे गीत भित्र शुद्ध ग्रामीण परिवेश, मेलापात र गोठाला जाँदा गाइने गीतहरु समावेश छन्’ थापाले भने, ‘घुम्टे साइलोपनि चाडपर्व बिशेषको गीत हो ।’
आफ्नै घुम्टेलाई माया गरेर यो गीत रचना भएको उनले बताए । घुम्टेलेकमा स्थानीयहरु पशुचरन र निगालोको चोया काड्ने कामले पनि जान्छन् । यहाँका बासिन्दाले चोयाका सामान बनाएर पनि जीवन धानेका छन् । चोयाबाट मान्द्रो, भकारी, डोकानाम्ला, डालो जस्ता सामान बनाउने चलन छ । ती सामानहरु चैतेदशैमा बागलुङ बजारमा ल्याएर बेच्छन् । माघे सक्रान्तिमा रिडीको मेलामा पनि लैजाने चलन छ । ‘गाउँले परिवेशमै रमाएका किसानले बनाएकोले गीतले घुम्टेसाइलाको नाम दिएको हो’ थापाले भने, ‘घुम्टे यहा“को पानीको श्रोत समेत हो ।’ पानीको श्रोतको बयान पनि गीतमा हुने गरेको उनले बताए ।
बग्यो खोली उधैउधैं, कहाँ होला दोभान साइला
भेटहोला भन्दाभन्दै, गयो आधा जोवन साइला
गलकोट क्षेत्रमा खुलेका होमस्टेले पनि घुम्टेसाइलालाई संरक्षण र प्रवद्र्धन गर्न थालेका छन् । पाहुनालाई स्वागत र बिदाइ गर्दा यो भाखा गुन्जिन्छ ।
हातको रुमाल साटासाटी, गरुम केरे पाहुना बाबु
हेरीरम्ला, हेरीरम्ला, फेरी भेट्ने आसमा साइला
‘घुम्टे साइला भाखामा पाहुना बाबुनानीको नाम जोडेर गाउदा उनीहरुपनि सहभागि हुुन्छन्’ गलकोट नगरपालिका २ को तोरीखोला सामुदायिक होमस्टेका अध्यक्ष कुमार घर्तीले भने, ‘पाहुनाले पनि रमाइलो मानेर घुम्टे साइलामै नाच्नेगाउने गरेका छन् ।’ छोटो र रमाइला टुक्का जोड्न मिल्ने भएपछि पाहुनाले पनि स्थानीय सँगै गाउँदै नाच्ने गरेको उनले बताए । पछिल्लो समय घुम्टे जाने पदमार्ग निर्माण भएको छ । पहिला लड्दैपड्दै जानुपर्ने घुम्टे आजकल केही सहज भएको स्थानीय झंकबहादुर बस्नेतले बताए । गलकोट नगरपालिका ५ को टेउवामा बनेको मुर्तीकलाले घुम्टेको महत्व झनै बढाएको उनले बताए ।





