सरकारले चालु आर्थिक वर्षका लागि हवाई पूर्वाधारतर्फको बजेट आधा घटाउँदा पनि गण्डकी प्रदेशका दुई महत्वपूर्ण हवाई पूर्वाधार पोखरा अन्तराष्ट्रिय बिमानस्थल आगामी एक बर्षभित्र सञ्चालनमा ल्याउन आवश्यक तयारी गर्न बजेट व्यवस्थापन गरेको छ ।
बागलुङ/सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।
अर्थमन्त्री शर्माका अनुसार आगामी आर्थिक वर्षमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ । यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले जानकारी दिए । सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
सरकारले ल्याएको बजेटमा आईतबार अर्थमन्त्रीले गण्डकी प्रदेशमा सञ्चालन हुने केही सानाठुला आयोजनाको मात्रै नाम लिए । प्रदेशको राजधानी पोखरालाई संघीय राजधानी काठमाण्डौसँग जोड्न द्रुत मार्गको निर्माणदेखि गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुर ( नवलपरासी सुस्तापूर्व)का सरकारी कार्यालयको भवन निर्माणसम्मको योजना आगामी वर्ष सञ्चालन हुने छन् । सरकारले चितवनलाई केन्द्रमा राखेर तीन द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । त्योमध्ये चितवन–रामपुर–पोखरा द्रुतमार्ग पनि आगामी आर्थिक बर्षमा निर्माण प्रारम्भ हुने उल्लेख गरिएको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग घोषणा गरे । यो द्रुतमार्गसँगै काठमाण्डौ चितवन पोखरा द्रुतमार्ग पनि घोषणा भएको हो । पोखरा जोडिने द्रुतमार्ग निजी क्षेत्रमार्फत निर्माण गरिने भनिएको छ । चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउन लगानी बोर्डमार्फत् प्रक्रिया थाल्नेसमेत बजेटमा उल्लेख छ ।
सरकारले चालु आर्थिक वर्षका लागि हवाई पूर्वाधारतर्फको बजेट आधा घटाउँदा पनि गण्डकी प्रदेशका दुई महत्वपूर्ण हवाई पूर्वाधार बजेटमा समाबेश भएका छन् । पोखरा अन्तराष्ट्रिय बिमानस्थल आगामी एक बर्षभित्र सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गर्न बजेट व्यवस्थापन भएको छ । अर्थमन्त्री शर्माले हवाई पूर्वाधारका क्षेत्रमा सरकारले गरेको बजेट व्यवस्थापनको जानकारी दिँदै पोखरा बिमानस्थल सञ्चालनका लागि सरकारले पहल थाल्ने बताए ।
त्यस्तै बागलुङको बलेवामा रहेको बलेवा बिमानस्थलको स्तरोन्नतीको लागि सरकारले बजेट व्यवस्थापन गरेको छ । यो बिमानस्थल बागलुङ नगरपालिकाको पहलमा नागरिक उड्यन प्राधिकरणले धावनमार्ग कालोपत्रे गरेपछि हवाई उडानको पर्खाइमा रहेको छ । चालु आवमा २० अर्ब रुपैयाँ विनियोजन भएकोमा आगामी आवमा हवाई पूर्वाधारमा १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको छ ।
त्यस्तै सरकारले ल्याएको बजेटमा मध्यपहाडी लोकमार्गमा पर्ने दश नमुना शहर विकासको योजनासमेत समावेश छ । बागलुङको बुर्तिबाङलाई पुष्पलाल मध्यपहाडी लोकमार्गमा पर्ने दश नमुना शहरमा समाबेश गरिएको छ । मध्यपहाडी लोकमार्गको कालोपत्रे गर्न बिनियोजन भएको बजेट, कालीगण्डकी करिडोर कालोपत्रे गर्न बिनियोजन भएको झण्डै पाँच अर्ब बजेटको समेत गण्डकी प्रदेशका बिभिन्न जिल्ला हिस्सेदार हुन् ।
मुस्ताङमा रहेको मुक्तिनाथ जोड्ने सडकलाई आगामी आर्थिक बर्षमा महत्वका साथ स्तरोन्नती गर्ने योजना सरकारले बनाएको छ । त्यसका लागि उपयुक्त बजेटको व्यवस्था गरेको मन्त्री शर्माले बताए । बिरेठाँटीदेखि मुक्तिनाथ जोड्ने केवलकार निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बजेटमा उल्लेख छ ।
त्यस्तै मुस्ताङको लोमान्थाङलाई व्यवस्थित हिमाली शहर निर्माण गर्नका लागि सरकारले लगानी गर्ने भएको छ । पोखराको सती नदीलाई शहरी नदी घोषणा गरेर व्यवस्थीत तटबन्ध निर्माण गर्ने योजनासमेत बजेटमा उल्लेख छ । उत्तरगंगा जलाशययुक्त आयोजना, कालीगण्डकी डाईभर्सन, कालीगण्डकी बहुउद्देश्यीय ड्याम निर्माण लगायतका बिषयमा भने बजेटमा केही उल्लेख छैन् ।





