बागलुङ/ भूकम्पले चर्केको भवन भत्काएर नयाँ भवन निर्माण गरेको नेपाल बैंक लिमिटेड बागलुङ शाखाले सोमबार नव निर्मित भवनको उद्घाटन गरेको छ । नयाँ भवनको बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।
बागलुङ नगरपालिका–३ राधाकृष्ण टोलमा रहेको आफ्नै जग्गामा बैंकले नयाँ भवन निर्माण गरेको हो । भवन उद्घाटनसँगै बैंकका सेवा प्रवाहमा सहजता आउने शाखा प्रबन्धन अमृत सेवाले बताए । देव एण्ड सायर तिलक जेबी निर्माण कम्पनीले २ करोड ३६ लाख ४२ हजार रुपैयाँ लागतमा भवन निर्माण गरेको हो ।
भूकम्पले चर्केको भवन जिर्ण बन्दै गएपछि चार वर्ष अघि बैंक भाडाको घरमा सरेको थियो । १९ जना कर्मचारी रहेको बैंकले २१ हजार बढी ग्राहकलाई सेवा दिइरहेको छ । नयाँ भवनबाट नयाँ एटीएम सेवा,
लकर सेवा र ग्राहकलाई पार्किङ सुविधासहितको सेवा दिएको बैंकले जनाएको छ ।
यस्तै बैंकले नवनिर्मित भवन उद्घाटनको अवसरमा बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले नेपाल बैंक इतिहास बोकेको र साविक धौलागिरि अञ्चलका बासिन्दालाई सेवा दिएको पुरानो बैक भएको बताए । बागलुङ जिल्लालाई आर्थिक बजारको रुपमा चलायमान बनाउन र बागलुङ जिल्लालाई व्यवसायीक गन्तव्यको रुपमा विकास गर्न बैकिङ क्षेत्रको महत्वपूर्ण भूमिका हुने मेयर श्रेष्ठले बताए ।
कार्यक्रममा नेपाल बैंक लिका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङका अध्यक्ष श्रीप्रसाद शर्मा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा, नेपाल बैंकका गण्डकी प्रदेश प्रमुख प्रतिमा श्रेष्ठ र नेपाल बैंक लि बागलुङ शाखाको प्रबन्धक अमृत सेवाले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल बैंक लि बागलुङ शाखाको प्रबन्धक अमृत सेवाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाल बैंक लि बागलुङ शाखाका कर्मचारी प्रदिप पौडेलले गरेका थिए ।





