बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसानको बारीमा फलेका सुन्तलामा औसा किराको संक्रमण देखिएको छ । सुन्तलाका स–साना दानामा किराको संक्रमण सुरु भएको भेटिएको हो । कृषि ज्ञान केन्द्र बागलुङको प्राविधिक समुहले किसानको बारीमा पुगेर सुन्तलामा औसा किराको संक्रमण सुरु भएको पहिचान गरेको हो ।
मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ सर्कुवाका केही किसानले व्यवसायिक रुपमा सुन्तलाको उत्पादन गर्दै आएका छन् । ‘किसानले सुन्तला झर्ने समस्या बताउनुभएको थियो, हामीले जाँच गरेर हेर्दा औसा किराको संक्रमण भेटाएका छौं’, कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले भने ‘तत्काल उपचार गर्न सुझाएका छौं, समयमा विरुवा र दानामा उपचार गरे समस्या समाधान हुन्छ ।’
प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औसा किराको संक्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन् । कृषि ज्ञान केन्द्रले आवश्यक उपचारका लागि बिषाधी निशुल्क उपलव्ध गराएको जनाएको छ । ‘यो समस्या जिल्लाका अन्य सुन्तला बगानमा पनि हुनसक्छ हामी नियमित अनुगमन गर्छौं’ पुनले भने,‘सर्कुवाको सुन्तलाको समस्या सामाधानका लागि पुनः त्यहाँ प्राबिधिकहरुको समुह पुग्ने छ ।’
मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्र्तगत ज्ञान केन्द्रले साना किसान कृषि सहकारी संस्थासँग समन्वय गरेर सर्कुवामा एक दिने बाली उपचार शिविर सञ्चालन गरेको पुनले जानकारी दिए । त्यहाँ पुगेका प्राविधिकहरुले किसानका समस्या देखिएका बालीहरुको बिभिन्न बिधिको प्रयोग गरे जाँच तथा पहिचान गरेका थिए ।
सर्कुवामा किसानले लगाएको कांक्रामा पनि औसा किराको व्यापक संक्रमण भेटिएको छ । बकै बालीमा अमेरिकन फौजी किरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको पुनले जानकारी दिए । रोग किराको संक्रमणलाई प्रकोपको रुपमा फैलिन नदिन किसानलाई सचेत समेत गराईएको पुनले बताए ।
‘अहिले औषतमा बर्षा भैरहेकाले फौजिकीरा फैलाउन पाएको छैन् तर ठुला बोट भएको मकैमा किरा लागि सकेको छ’ उनले भने,‘नियमित वर्षा नभए एक दुई दिनमानै मकैको बिनास गर्छ ।’ कृषि ज्ञान केन्द्रले सिफारीस गरेका मकैको जातका आधारमा सोही अनुसारको उपचार विधि र विसादी किसानलाई उपलव्ध गराईएको ज्ञान केन्द्रले जनाएको छ । गोलभेँडामा लागेको डढुवाको समस्याले व्यवसायीक किसान मर्कामा परेका छन् ।
सर्कुवाका ३४ जना किसानले खेत बारीमा लगाएका नगदे, खाद्यान्न तथा फलफुल बालीमा रोग किराको संक्रमणका बिषयमा प्राबिधिक समुहले खोजी गरेको थियो । किसानले लगाएको बहुबर्षे केरा बालीमा पनि गुवो मर्ने घुन किराको संक्रमण देखिएको ज्ञान केन्द्रले जनाएको छ । ‘समयमा उपचार गरे बालीमा लाग्ने रोग किराको संक्रमण निदान गर्न सकिन्छ’ पुन भन्छन् ‘आफ्नो बालीमा समस्या देखिँदा नजिकैको कृषिसँग सम्बन्धित कार्यालय वा कृषि ज्ञान केन्द्रमा खबर गर्न भनिरहेका छौं ।’





