पोखरा/ गत वर्षको तुलनामा यो आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह निरन्तर गिरावट आएकोमा बैशाख महिनादेखि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैशाख महिनासम्म शून्य दशमलव २ प्रतिशतले रेमिट्यान्स बढेको हो ।
चालू आर्थिक वर्षको साउनदेखि नै रेमिट्यान्स आप्रवाह घटिरहेको थियो । तर १० महिना सम्मको समीक्षामा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले वृद्धि भई ८ खर्ब ११ अर्ब ७९ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ७८ हजार २९८ पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो ।





