बागलुङ/ उद्योग बाणिज्य संघ बागलुङको अधिबेशनमा नेपाली कांग्रेस निकट व्यवसायीहरुकै बीचमा प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदका लागि कांग्रेस निकट चार जना व्यवसायीले उमेद्वारी दिएका हुन् ।
आगामी असार ४ गते हुने १८ औं अधिवेशनबाट नयाँ नेतृत्वको लागि नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बासु, संघका वर्तमान महासचिव नरेश कँडेल, संघका प्रथम उपाध्यक्ष राजन कुमार शाक्य र संघ वर्तमान कार्यसमिति सदस्य शशीकपुर श्रेष्ठले आइतबार उमेदवारी दर्ता गरेका छन् । उनीहरु सबै नेपाली कांग्रेस निकट व्यवसायी हुन् । अन्य पार्टीसँग निकट रहेका व्यवसायीहरुले सदस्य पदमा उमेद्वारी दिएको भएपनि अध्यक्षका लागि भने उमेद्वारी परेन् ।
एक वर्षअघि पत्रकार महासंघको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका नरेश कँडेल उद्योग बाणिज्य संघको निर्वाचनमा पनि अध्यक्षको दौडमा चुनावी मैदानमा छन् । मनोनयनको दिन उपाध्यक्ष नविन शिशिर बिकलाई कार्यबहाक दिएर उनी उद्योग बाणिज्य संघको अध्यक्षका लागि उमेद्वारी दिएका हुन् ।
बागलुङ उद्योग बाणिज्य संघको नेतृत्व यसपटक सर्वसम्मत बनाउने बिषयमा ब्यवसायीहरू बीच विभिन्न चरणमा छलफल भएपनि अध्यक्ष बन्ने कुरामा चर्चामा आएका पाँच जना ब्यवसायीबीच सहमति हुन नसकेपछि चार जनाले उमेदवारी दर्ता हुन् ।
संघको सदस्यको लागि अर्जुन चोखाल, बिष्णु पन्त, श्रीजय श्रेष्ठ, राजेश भारी, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्र प्रसाद शर्मा, बिष्णु प्रसाद अधिकारी, इन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, संजय श्रेष्ठ, ओमप्रकाश गौतम, ईश्वरजंग राजभण्डारीले उमेद्वारी दिएका छन् ।
उद्योग सदस्यमा निलेश राजभण्डारी, ऋषिराम गौतम र बबिन शाक्य तथा महिला सदस्य यमुना रेग्मी र शिवकला थापाको उमेदवारी दर्ता भएको निर्वाचन अधिकृत भुमिश्वर गौतमले बताए । १४ जना खुला सदस्य चाहिने संघमा १५ जनाको उमेदवारी परेको छ । महिला दुईजना सदस्य यमुना रेग्मी र शिवकला थापा भने निर्विरोध भएका छन् ।
अध्यक्ष १, महिला सदस्य २ उद्योग सदस्य २ र खुला सदस्य १४ जना गरि १९ जना निर्वाचनबाट चुनिने व्यवस्था उद्योग बाणिज्य संघको बिधानले गरेको छ । संघमा १ हजार ३ सय १३ जना साधारण सदस्य १ सय ७७ जना आजीवन सदस्य गरि कुल १ हजार ४ सय ९० जना मतदाता छन् । सोमबार साँझ ४ बजेसम्म मनोनयन फिर्ताको समय तोकिएको छ । नयाँ नेतृत्वको लागि सहमति हुन नसके असार ४ गते निर्वाचन हुनेछ ।





