पोखरा/ गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री रामजीप्रसाद बरालले प्रस्तुत गर्ने बजेट करिब ३६ अर्बको हुने मन्त्रालय स्रोतले बताएको छ । यो अघिल्लो वर्षको भन्दा करिब ६ अर्बले बढी हो । सरकारले यो वर्षको नीति तथा कार्यक्रममा कृषि,सामाजिक सुरक्षा र स्वास्थ्यलाई जोड दिइएकाले बजेटको ठूलो हिस्सा सोही क्षेत्रमा जाने मन्त्रालय स्रोतले बतायो । यद्यपि,क्रमागत योजनाप्रतिको दायित्व र केही नयाँ योजनाहरुलाई पनि बजेट विनियोजन गरिएको छ । चुनावी बजेट भएकाले सरकारले सत्ताधारी सांसदलाई प्रति सांसद ५ करोड र विपक्षी एमालेका २६ सांसदको लागि ३० करोड छुट्याएको छ ।
यो पटक गण्डकी सरकारले संघबाट सात प्रदेशमध्ये सबैभन्दा कम अनुदान पाएको छ । गण्डकीले वित्तीय हस्तान्तरणबाट १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँमा पाएको छ । जसमा ७ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ समानीकरण अनुदान, ससर्त अनुदान ६ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ, ८६ करोड विशेष र ८३ करोड ३० लाख रुपैयाँ समपुरक अनुदान रहेको छ ।
अघिल्लो वर्ष मुख्यमन्त्री कृष्णचन्द्र नेपालीबाट प्रस्तुत बजेट ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको थियो । आर्थिक वर्ष २०७६/०७७ को भन्दा ४ अर्ब ८१ करोड रुपैयाँ कमको बजेट ल्याएको सरकारले चालुतर्फ ४३.५ प्रतिशत ले १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार र पुँजीगततर्फ भने ५५.७ प्रतिशत अर्थात १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार विनियोजन गरेको थियो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ २४ करोड (०.८ प्रतिशत) रहेको थियो ।
चालु बजेटको स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड २८ लाख, सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख, विशेष अनुदान ५४ करोड ९० लाख रहेको थियो । २८६ बुँदे नीति तथा कार्यक्रममा लोकप्रिय योजनाहरु समेटिएकोले यो पटकको बजेटमार्फत् लेक कनेक्सन गरिने योजनाको लागि पनि राखिएको मन्त्रालयले जनाएको छ ।





