बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कार्यपालिका सदस्यले निर्णय पुस्तिका खोसेर भागेपछि …!

कार्यपालिका सदस्यले निर्णय पुस्तिका खोसेर भागेपछि …!


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७९, सोमबार

पर्वत/ पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेबाट विजयी एक प्रतिनिधिहरुले गाउँपालिकाको निर्णय पुस्तिका नै खोेसेर लगेकी छन् ।

गाउँ कार्यपालिकाको शनिबार बसेको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवालले निर्णयपुस्तिका नै लिएर हिँडेकी थिइन् । बैठक चल्दाचल्दै निर्णयपुस्तिका लिएर भागेपछि राति १० बजे बैठक स्थगित गरिएको गरिएको थियो ।

दुईवटा औपचारिक बैठक र विभिन्न चरणमा बसेको अनौपचारिक बैठकमा सहमति नभएपछि पालिकाको कानूनअनुसार अध्यक्ष राजुप्रसाद आचार्यले चारवटा विषयगत समिति गठन गरेको निर्णय सुनाएका थिए । उक्त निर्णयमा असहमति जनाउदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले ‘नोट अफ डिसेन्ट’ लेख्ने भन्दै बैठक पुस्तिका मागेर मोटरसाइकलमा दौडिएको बैठकमा सहभागी एक जनप्रतिनिधिले बताए । ‘चुनावको जित–हारको मानसिकता त्याग्न नसकेको अवस्था देखिएको छ’,उनले भने,‘सहमति र सहकार्यबाटै गाउँपालिका बनाउनुतर्फ लाग्नुपर्ने हो तर देखिएन ।’ गाउँपालिकाको कानूनअनुसार बिषयगत समिति गठन गर्दा सर्वसहमतिमा निर्णय गर्ने र सहमति नभएमा अध्यक्षले विषयगत समिति गठन गर्नसक्ने व्यवस्था रहेको गठबन्धनका जनप्रतिनिधिको भनाइ छ ।

गाउँपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ र स्थानीय शासन ऐन २०७४ को दफा १६ को उपदफा ४ को घ (२) मा गाउँपालिका अध्यक्ष वा प्रमुखले विषयगत समिति तोक्नसक्ने उल्लेख छ । सोही कानूनको आधारमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले आर्थिक, सामाजिक विकास, वातावरण तथा विपत् र पूर्वाधार गरी चारवटा विषयगत समितिको घोषणा गरेका थिए ।

आचार्यको निर्णयअनुसार आर्थिकमा हरिविकास जिसी, सामाजिक विकासमा गौबहादुर पुन, वातावरण तथा विपतमा बलबहादुर पुन र पूर्वाधार विकास समितिमा टुंगनाथ आचार्यलाई संयोजक तोकेका थिए । अध्यक्षले विषयगत समितिको संयोजक तोकेको निर्णयमा हस्ताक्षर गर्नेक्रममा नेकपा एमालेबाट कार्यपालिका सदस्यमा निर्वाचित बरुवालले निर्णयपुस्तिका लिएर भागेकी हुन् ।गाउँपालिकाका अध्यक्ष आचार्यले सहमतिका लागि अधिकतम् प्रयास गर्दा पनि एमालेबाट निर्वाचित सदस्यले अडान नछाडेपछि अध्यक्षलाई तोकेको कानूनको अधिनमा रहेर संयोजक तोकेको जानकारी दिए ।

‘छ वटा विषयगत समितिमध्ये तीनवटा रोज्नुस् भन्दा उहाँहरु मान्नुभएन, हामीले तीन वटा गठबन्धनलाई, तीनवटा एमालेलाई भनेकै हुँ, उहाँहरुको नियत नै काम गर्न नदिने, अल्झाएर राख्ने भएपछि निर्णय गरेको हुँ’, अध्यक्ष आचार्यले भने।प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले आइतबार कार्यालय समयावधिसम्म निर्णयपुस्तिका ल्याउन आग्रह गरेपनि अहिलेसम्म फिर्ता नल्याएको बताए ।

यता नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले बहुमतको कदर नभएपछि उठेर हिँडेको भएपनि निर्णयपुस्तिकाका विषयमा थाहा नै नभएको बताएका छन् । ‘बैठक भएको थियो, हामीले रोजेका समितिका संयोजक दिइएन र बहुमतको कदर पनि भएन, त्यसैले हामी उठेर हिँडेका हौ, माइन्युटको विषयमा कुनै थाहा भएन’,एक कार्यपालिका सदस्यले भने । गाउँपालिकाको निर्वाचनपछि नेकपा एमाले र सत्ता गठबन्धनबीचको असहज गतिविधिले कर्मचारीलाई समेत समस्या भएको छ । जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित सत्ता गठबन्धनको छ जना र एमालेको ११ जना कार्यपालिका सदस्य रहेका छन् । गाउँपालिकाका प्रवक्ता हरिविकाश जिसीले एक विज्ञप्ति जारी गर्दै बैठकबाट निर्णय पुस्तिका लिएर भाग्नु कायरताको पराकाष्ठा भएको भन्दै खेद प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->