बागलुङ/ सुगंगा स्मृति कोषले २०७८ को ‘सुगंगा पुरस्कार’ र ‘सुगंगा सम्मान’ घोषणा गरेको छ । कोषको बैठकले संस्थागततर्फ नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई पुरस्कार र यहाँका अग्रज पत्रकार स्वामी रमेशानन्द केशरीलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो । दुवैको राशी २५ हजार रुपैयाँ रहेको छ ।
असार अन्तिम साता सदरमुकाममा आयोजना हुने विशेष समारोहमा सम्मान र पुरस्कार समर्पण गरिने कोषले जनाएको छ । पत्रकारिताको संस्थागत विकासमा खेलेको भूमिकालाई हेरेर महासंघ बागलुङ शाखालाई पुरस्कृत गर्ने निर्णय गरिएको कोषका अध्यक्ष काजी रोशनले बताए ।
यस्तै, पत्रकारितामार्फत समाजमा पु¥याएको योगदानका लागि अग्रज पत्रकार केशरी सम्मानित हुन लागेका हुन् । १९९३ मा बागलुङ नगरपालिका–१ रामरेखामा जन्मिएका केशरीले ३० को दशकमा राष्ट्रिय समाचार समितिको बागलुङ समाचारदाताका रूपमा रहेर काम गरेका थिए । उनी बागलुङका पुराना पत्रकारमध्येमा पर्छन ।
पत्रकार महासंघको तत्कालीन धवलागिरि शाखाका संयोजक पत्रकार विदुर खड्काले आफ्ना दिवंगत आमा सुमित्रा र धर्मपत्नी गंगाको स्मृतिमा २०६५ मा सुगंगा स्मृति कोष स्थापना गरेका थिए । कोषका संस्थापक खड्काको पनि गत माघमा निधन भइसकेको छ ।
कोषले पत्रकारितासहित समाजका विशिष्ट क्षेत्रमा योगदान पु¥याउने व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । यसअघि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठकलगायत कोषबाट सम्मानित भइसकेका छन् ।





