बागलुङ/ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि २८ करोड ९४ लाख ९० हजार रुपैयाँको बजेट सार्वजनीक गरेको छ । गाउँ पालिकाको ११ औं गाउँ सभामा गाउँपालिका उपाध्यक्ष ढिकी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
हिमाल पारीको जिल्ला मुस्ताङको सबैभन्दा धेरै स्रोत साधन भएको गाउँपालिकाले आगामि आर्थिक बर्षको बजेट पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याएको छ । आर्थिक बिकासलाई पहिलो प्राथमिकता दिएको गाउँपालिकाले पर्यटन, कृषि र पशुपालन क्षेत्रलाई बिषेश जोड दिएको छ । गाउँपालिकाले आर्थिक विकासका लागि मात्रै २ करोड ११ लाख ६४रुपैयाँ बिनियोजन गरेको छ । पर्यटकीय क्षेत्रको प्रबद्र्धन तथा मुख्य मुख्य पर्यटकीय क्षेत्रहरुमा पर्यटकीय स्थलहरुको जानकारी समेतको साईनबोर्ड निर्माणका लागि ७ लाख बिनियोजन गरिएको छ । ‘संस्कृति रहे मात्र हामी रहन्छौँ , संस्कृतिको जगेर्ना हाम्रो साझा संकल्प’ भन्ने उद्देश्यले यार्तुङमहोत्सव मनाउन छुसाङ यार्तुङ महोत्सव सञ्चालनका लागि १० लाख विनियोजन भएको छ ।
यो पनि पर्यटन क्षेत्रसँग जोडिएको बजेट हो । गाउँपालिकाले कृषिमा आत्मनिर्भरता र व्यावसायिकरणका लागि कृषिमा विशिष्टिकरण र आधुनिकीकरणको नीति अनुरुप कृषि औजार तथा उपकरणमा साझेदारी गर्ने, कृषिमा विविधिकरण गर्दै नगदेवालीको उत्पादन गर्ने, रैथाने बाली प्रवर्ध्दन गर्ने, कृषि उत्पादनमा अनुदान दिने, माटो परीक्षण, माटोमा खाद्यतत्वको सन्तुलन कायम गर्ने, कृषिमा जोखिम व्यवस्थापन गर्ने लगायतका उद्देश्य सहित ८२ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ ।
पशुजन्य उत्पादनमा गाउँलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालनका लागि ३७ लाख ९५ हजार विनियोजन गरेको गुरुङले बताईन् ।
गाउँपालिकाले दोस्रो प्राथमिकतामा वातावरण तथा विपद व्यवस्थापन क्षेत्रलाई राखेको छ । जसका लागि एक करोड ८ हजार रुपैयाँ बिनियोजन भएको छ । जसका लागि १ एक करोड ८ लाख रुपैयाँ बिनियोजन गरेको छ । जलवायु परिवर्तनको प्रतिकुल असर र यसबाट हुन सक्ने विपदजन्य घटनाहरुबाट हुने संभावित क्षतिलाई न्यूनिकरण गरी स्थानीय जनताको जीउ धनको रक्षा गर्न ठुला पुर्वाधार निर्माण वातावरण मैत्री बनाउन, वन र वातावरणको संरक्षन गर्ने, पारिस्थितिक प्रणालीको संरक्षण गर्ने, प्रदुषण नियन्त्रण तथा फोहोरमैला व्यवस्थापन गर्न , विपद व्यवस्थापनका सामाग्री खरिद लगायतका कार्यक्रमका लागि विभिन्न शिर्षकमा १ करोड ८ लाख विनियोजन भएको छ ।





