पर्वत / पर्वतको मोदी गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकका लागि २० यूनिटसम्मको विद्युत् निःशुल्क उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेका अनुसार असार १० गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७९/०८० अनुमानित आयव्यय सार्वजनिक गर्दा ‘हाम्रो रहर, उज्यालो गाउँ सहर’ भन्ने मूल नाराका विद्युत् सेवासम्बन्धी व्यवस्थाहरू गरिएको बताए । मोदी गाउँपालिकामा बिद्युत गृहहरू रहेको तथा त्यहाँका खोलाहरूबाट निरन्तर विद्युत् उत्पादन भइरहँदा गाउँपालिकालाई आन्तरिक स्रोतको रूपमा रोयल्टी आउने र सोही रोयल्टीबाट २० यूनिटसम्मको बिद्युत उपभोगमा अनुदान दिइने उनको भनाई छ ।
‘यहाँका खोलानालाहरूबाट उत्पादित विद्युतको आन्तरिक स्रोतका रूपमा विद्युत् रोयल्टी प्राप्त हुने हुँदा सम्पूर्ण मोदीवासी यसको प्रभावित क्षेत्रमा पर्ने भएका कारण गाउँपालिकाले गाउँवासीका हरेक मिटरको मासिक २० युनिटसम्म अनुदान दिने छौँ,’ उनले भने, ‘न्यूनतम शुल्क गाउँपालिकाले सहुलियत अनुदानको लागि दिने गरी आगामी आर्थिक वर्षको लागि १८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।’ नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विभिन्न क्षेत्रमा सडक बत्तीको व्यवस्था गरी उज्यालो गाउँ सहर निर्माणका लागि पनि आवश्यक बजेट विनियोजन गरेको उपाध्यक्ष लामिछानेको भनाई छ ।
गाउँपालिकाले कृषिको क्षेत्रमा पनि कृषकले महसुस गर्न सक्ने खालका कार्यक्रमहरू ल्याएको उनको भनाई छ । बजेटमा धितो नभएका कारण उद्यम सञ्चालन गर्न नसकेकाहरूलाई लक्षित गरेर स्वरोजगार धितो कोष सञ्चालन गर्ने, नमुना प्राङ्गारिक कृषि गाउँ निर्माण गर्ने, गाउँपालिकामा नै माटोको परीक्षण गर्नको लागि मिनी सोइल ल्याब निर्माण गर्ने भनिएको छ । यस्तै गाउँपालिकामा उत्पादित तरकारी, मासु, दूध, अण्डा आदिको बजारीकरण गरेर गाउँपालिकाबासीलाई आत्मनिर्भर बनाउन कृषि एम्बुलेन्स सञ्चालन गर्ने लगायतका कुराहरू पनि उल्लेख छन् ।
शैक्षिक क्षेत्रतर्फ प्राथमिक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइरहेका विद्यालयहरूलाई पाठ्यपुस्तक खरिदका लागि अनुदान दिन १४ लाख रुपैयाँ दिनुका साथै प्रधानाध्यापकहरूले पाउँदै आएको प्रअ भत्ता निकै न्यून भएकाले गाउँपालिकाका तर्फबाट पनि केही भत्ता थप गर्ने गरी कार्यक्रम तयार पारिएको उपाध्यक्ष लामिछानेले बताए ।





