पर्वत / कृषि बालीमा हुन सक्ने सम्भावित जोखिमको बहन गर्नका लागि कृषि बालीको बिमा गर्ने व्यवस्था रहेको भए पनि कृषकहरू त्यसमा नखुलेको पाइएको छ ।
कृषिमा पशुपक्षीको बिमा गर्न कृषकहरू हौसिने गरेको भए पनि खाद्य बालीको बिमा गर्न कृषकहरू अग्रसर नभएको कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् । पशु बिमा गर्ने प्रक्रिया, त्यसको मूल्याङ्कन र भुक्तानीको प्रक्रियाको तुलनामा खाद्य बालीको प्रक्रिया केही झन्झटिलो लागेका कारण कृषकहरू खाद्य बालीको बिमामा उत्सुक नभएको उनको भनाई छ ।
‘पशुपक्षी बिमामा मान्छेको बिमा गरेको जस्तै सजिलो प्रक्रिया छ । पशुको मृत्यु भइहाल्यो भने पनि क्षतिपूर्ति लिन सहज छ। तर, बाली बिमा तिरको बिमाको प्रक्रिया जटिल र झन्झटिलो भएको नागरिकबाट गुनासो आएको छ। कृषि प्राविधिकले मूल्याङ्कन गर्नुपर्छ तर इन्स्योरेन्स कम्पनीसँग कृषि प्राविधिक नहुने,’ उनले भनिन, ‘कहिलेकाहीँ ज्ञान केन्द्रले गरिदिए हुन्थ्यो, त्यसमा पनि सकेसम्म फिल्ड नगइकिनै गरिदिए हुन्थ्यो भन्ने खालका इच्छा राखेको पनि पाइन्छ । मूल्याङ्कन प्रक्रिया जटिल भयो ।’
बाली रोपेको १० दिन भित्रमा इन्स्योरेन्स कम्पनीमा पुगेर बिमा गरिसक्नुपर्ने भएका कारण बिमा गर्न झन्टीलो लागेका किसानहरूले बताउने गरेका छन् । धान, कोदो, गहुँ, जौ लगायत जे रोपे पनि त्यसको १० दिनमा बिमा नगरिए बिमा नहुने भएका कारण समस्या भइरहेको कुश्मा नगरपालिका–८ चुवाका कृषक विष्णु भुवाजी बताउँछन् ।
‘काम गरेको दश दिनमै बिमा गर्न जान समस्या हुन्छ। हामी बजार नजिक भएकाहरूलाई त होला । ग्रामीण क्षेत्रमा रहेका मान्छेहरू त कसरी आउन सक्लान् र?’ उनले भने, ‘इन्स्योरेन्स कम्पनीको मान्छे पनि बालीको बिमा खोज्दै गाउँमा गएको अवस्था छैन। कुनै कारणवश बालीमा क्षति भइहाल्यो भने तत्कालै जानकारी गराइहनल्नुपर्ने हुन्छ, मूल्याङ्कनको लागि निवेदन पेस गर्ने, मूल्याङ्कन गर्ने कुरा पनि झन्झटिलो छ ।’
कृषि प्राविधिक कामना न्यौपानेले क्षति भएपछि कृषकले निवेदन पेस गर्दा विभिन्न बहानामा किचकिच गर्ने, क्षतिको दोषी कृषकलाई नै बनाउने लगायतका समस्याहरू भोगेका कारण पनि बिमामा कृषकहरू आकर्षित नभएको हुन सक्ने बताउँछिन् । ‘यो कारणले होइन होला भन्ने, कृषककै कमजोरी देखाउने लगायतका समस्याहरू छन् । मानौँ बिमा गरेको मौरी उडेर गए भने तपाईँको व्यवस्थापकीय कमजोरीका कारण गएका हुन भनेर बिमा दिन नमान्ने,’ उनले भनिन, ‘नबुझीकन बिमा गरिएका कारण पनि समस्या भएको छ । जस्तै पोखरेली जेठो बुढो धान ८ सय मिटरभन्दा माथि लगाउन मिल्दैन तर कृषक त्यो भन्दा रोप्नुहुन्छ। बिमा त भयो तर भुक्तानी दिने बेलामा भौगोलिक कारण देखाउने कुरा स्वाभाविकै हो ।’
एउटै खेतको गरामा एकै वर्षमा ३/४ ओटा बाली लगाउने र ती बालीको फरक फरक बिमा गराउँदा वर्षको ३÷४ नै बिमा कम्पनीमा जानुपर्ने भएका कारण झन्झटिलो रहेको कृषकहरू बताउँछन् । अधिकृत थापाले बिमाको प्रक्रियाको बारेमा बताएर कृषकहरूलाई सहजीकरण गरिरहेको भए पनि उनीहरू सक्रिय नरहेको बताइन् । ‘मूल्याङ्कन नै कम आयो भन्नुहुन्छ। अर्को कुरा कृषकले जति लगानी भएको छ क्षति भए पनि त्यति नै रकम आउनुपर्छ भन्ने सोच राख्नुहुन्छ,’ उनले भनिन, ‘बिमा भनेको जोखिम बहन हो खर्च उठाउने कुरा त होइन । पशुपक्षीमा सहजै मान्नुहुन्छ । एक लाख परेको गाईको मृत्यु भयो भने ९० हजार आउँछ सकिहाल्यो । गाइको मूल्य बराबर आइहाल्यो भन्नुहुन्छ ।’
उनका अनुसार गत वर्ष आएको बजेटमा एक लाख ४६ हजार रुपैयाँ खर्च भएको थियो । यस वर्ष ५ लाख रुपैयाँ आएकोमा ८४ हजार मात्रै खर्च भएर बाँकी रकम फिर्ता हुने भएको छ । यस वर्ष ८४ हजारमध्येको मौरी, सुन्तला र अलैँचीमा खर्च भएको छ। जसमा अलैँचीमा १४ हजार, मौरीमा १३ हजार र सुन्तलामा ५९ हजार खर्च भएको छ ।
धेरैजसो बालीहरूमा बिमाङ्क रकमको पाँच प्रतिशत बिमा शुल्क लाग्ने त्यो पाँच प्रतिशतको ८० प्रतिशत सङ्घीय सरकारले छुट गरेको हुने तथा २० प्रतिशत भने बिल लिएर आएपछि कृषि ज्ञान केन्द्रले उपलब्ध गराउने कार्यालय प्रमुख थापाको भनाई छ । पर्वतमा बाली बिमाको लागि अजोड इन्स्योरेन्स कम्पनी तोकिएको र कम्पनीले हालै पर्वतका लागि कृषि प्रबिधिक पनि राखेका कारण तथा जिल्लाका बीउ
उत्पादक सहकारीलाई अनिवार्य रूपमा बिमा गर्न भनिएका कारण पनि अबको वर्ष भने बिमा बढ्ने अवस्था रहने उनले बताइन् ।





