काठमाडौं /असार मसान्त लागेसँगै बजेट सक्ने चटारो यसपटक पनि देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने असार ३२ गतेसम्म १२ खर्ब ९६ अर्ब २४ करोड रूपैयाँ बजेट खर्च भएको छ । यो प्रतिस्थापन विधेयकमार्फत ल्याइएको बजेटको ७९।३९ प्रतिशत हुन जान्छ ।
तर, पछि खर्च हुन नसक्ने देखेर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब रूपैयाँको बजेटको आकारलाई घटाएर १५ खर्ब ४६ अर्बमा झारेका थिए । ९० प्रतिशत भन्दा बढी चालु खर्च गरेको सरकारले ५७।२३ प्रतिशतमात्र पुँजीगत खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षको ८ महिनामा पनि खर्च गर्न नसकेको सरकारले एक महिनामा नै खर्च गरेको छ ।
असारमा मात्र ७७ अर्ब ५४ करोड ५१ लाख रूपैयाँ पुजीगत खर्च भएको महालेखाले जनाएको छ । यसपटक सरकारले मासिक १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने नीति लिए पनि यो नीतिमा सरकार असफल देखियो ।





