बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा एक वर्षमा झन्डै १० हजार सवारीलाई कारबाही, ६२ लाख राजश्व सङ्कलन

पर्वतमा एक वर्षमा झन्डै १० हजार सवारीलाई कारबाही, ६२ लाख राजश्व सङ्कलन


  • संजय रेग्मी
  • साउन ५ २०७९, बिहिबार

पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीहरूलाई गरेको कारबाहीबाट ६२ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार गत वर्षको साउनदेखि गत असारसम्म गरिएका नौ हजार नौ सय कारबाहीबाट ६२ लाख ५४ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको हो । सबैभन्दा बढी गत वैशाख महिनामा एक हजार तीन सय ५० सवारीहरूमा गरिएको कारबाहीबाट आठ लाख ७१ हजार रुपैयाँ सङ्कलन भएको छ। सबैभन्दा कम गत भदौ महिनामा तीन सय ५० सवारीलाई गरिएको कारबाहीबाट दुई लाख २२ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको छ ।

२०७८ सालको साउनमा छ सय ५० सवारीबाट चार लाख २९ हजार पाँच सय, असोजमा चार सय ५० सवारीबाट दुई लाख ७० हजार पाँच सय, कार्त्तितकमा छ सय ५० सवारीबाट तीन लाख ८० हजार, मङ्सिरमा सात सय सवारीबाट चार लाख दुई हजार, पुसमा आठ सय सवारीबाट चार लाख ८५ हजार पाँच सय, माघमा आठ सय सवारीबाट पाँच लाख छ हजार, फागुनमा नौ सय ५० सवारीबाट छ लाख १२ हजार पाँच सय र चैतमा एक हजार सवारीबाट छ लाख ३५ हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ । यस्तै २०७९ जेठमा एक हजार दुई सय सवारीबाट आठ लाख तीन हजार पाँच सय र असारमा एक हजार सवारीबाट छ लाख ३६ हजार रुपैयाँ सङ्कलन भएको छ ।

सवारी अनुसारको कारबाहीलाई हेर्दा सबैभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्नेमा कार तथा जिपहरू देखिएका छन् । तथ्याङ्क अनुसार गत वर्षको साउनदेखि यो वर्षको असारसम्म क्रमशः दुई सय ८२, एक सय ३९, एक सय ७५, दुई सय ६९, तीन सय एक, दुई सय ९७, तीन सय १५, तीन सय ६२, तीन सय ४०, चार सय ६१, पाँच सय ६२ र तीन सय असी ओटा गरी कुल तीन हजार आठ सय ८३ ओटा कार तथा जिपहरू कारबाहीमा परेका छन् । ती सवारीबाट २३ लाख ६१ हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ । सबैभन्दा कम कारबाहीमा पर्नेमा नौ सय ४६ ओटा बस रहेका छन् भने तिनीहरूबाट पाँच लाख ५९ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको छ ।

एक वर्षको अवधिमा दुई हजार ९९ ट्रक तथा ट्रिपरबाट १३ लाख ५१ हजार, एक हजार ११ ओटा ट्र्याक्टरबाट छ लाख ११ हजार र एक हजार नौ सय ६१ मोटरसाइकल तथा स्कुटरबाट १३ लाख ७१ हजार पाँच सय रुपैयाँ कारबाही स्वरूप आएको छ ।

 मापसे कारबाहीबाट उठ्यो ७५ हजार

ट्राफिक प्रहरी हवल्दार बैकुण्ठ पौडेलका अनुसार एक वर्षको अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाएकाहरूलाई कारबाही गर्दा ७५ हजार रुपैयाँ कारबाही स्वरूप उठेको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउनेमा सबैभन्दा मोटरसाइकलका चालकहरू रहेका छन् । उनीहरू साउन र भदौमा दुई/दुई, असोज र कार्त्तितकमा तीन/तीन, मङ्सिरमा एक, पुसमा सात, माघमा चार, फागुनमा पाँच, चैतमा १७, वैशाखमा १९, जेठमा तीन र असारमा नौ जना गरी ३९ जना रहेका छन् ।

उक्त अवधिमा आठ जना ट्रक तथा ट्याङ्कर चालक, तीन जना बस चालक, १७ जना कार तथा जिपका चालक, र आठ जना ट्र्याक्टर चालकहरूलाई कारबाही गरिएको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाएको पाएमा एक पटकमा एक हजार रुपैयाँ कारबाही स्वरूप तिराउने भएका कारण ७५ जनालाई गरेको कारबाहीबाट ७५ हजार रुपैयाँ नै सङ्कलन भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->