बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ नगरमा बेथिति: प्रतिष्ठानका नाममा पार्टीलाई बजेट

बागलुङ नगरमा बेथिति: प्रतिष्ठानका नाममा पार्टीलाई बजेट


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०७९, शुक्रबार

बागलुङ/ बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षमा बिभिन्न प्रतिष्ठानका नाममा ३९ लाख रुपैयाँ खर्चिने भएको छ । प्रतिष्ठानमार्फत भवन, पार्क तथा भाषा र संस्कृति संरक्षणको नाममा उक्त रकम खर्चिने भएको हो ।

बागलुङ नगरपालिकाको ११ औं नगरसभाबाट पारित भएको बजेटमा विपी स्मृति भवनको नाममा २५ लाख रुपैयाँ बिनियोजन गरेको छ । बिपी स्मृति भवनको नाममा निर्माण हुने नेपाली कांग्रेस बागलुङ कार्यालय भवनका लागि २० लाख रपैयाँ बिनियोजन गरेको छ । कांग्रेसले भवन निर्माण अभियान नै सञ्चालन गरेर बागलुङ नगरपालिका–३ मा भवन निर्माणका लागि जग्गा खरिद गरिसकेको छ ।

विपी स्मृति भवनको नाममा निर्माण भएको बागलुङ नगरपालिका–८ सिगानास्थित पार्टी कार्यालय भवन रंगरोगनका लागि समेत पाँच लाख रुपैयाँ बिनियोजन भएको छ । यहाँ कार्यकर्ता तहबाट सहयोग संकलन गरेर भवन निर्माण गरिएको थियो । निर्माण सम्पन्न हुने चरणमा रहेको यो भवनबाट कांग्रेसले स्थानीय तह निर्वाचन परिचालन समितिको कार्यालय खोलेर काम गरिसकेको छ ।

स्थानीय तह गठनपछिका सबै बर्षमा नगरपालिकाको बजेट पाउँदै आएको बागलुङ नगरपालिका–१३ स्थीत हेमराज शर्मा स्मृति प्रतिष्ठानले चालु आर्थिक बर्षमा ३ लाख बजेट पाएको छ । कांग्रेसका नेता किरण पौडेला बुबा समाजसेवी हेमराज शर्माको नाममा उनको परिवारले प्रतिष्ठान बनाएको थियो । हरेक बर्ष भाषा र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान तथा पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानका लागि नगरले ३ लाख रुपैयाँ  दिएको हो ।

प्रतिष्ठानले हेमराज शर्माको योगदानको सम्मान हुनेगरी काम नगरेको भन्दै बेला बेलामा सर्वसाधारणको तहबाट आलोचना हुने गरेको छ । ‘हेमराजको नामको प्रतिष्ठानमा नगरले बजेट दिनु न्यायोचित हो तर कांग्रेसले प्रतिष्ठानलाई पार्टीको मात्रै हो जस्तो बनाएको छ’ पैञ्युपाटाकै एक समाजसेवीले भने ‘बजेट पाउँदा न्याय हुनुपर्ने हो, तर अन्याय भएको महशुस हुन्छ ।’

त्यस्तै, नगरपालिकाले बागलुङ नगरपालिका–२ मा रहेको ‘जनयुद्धका सहिद स्मृति प्रतिष्ठान’का लागि ११ लाख रुपैयाँ बिनियोजन गरेको छ । नगरको पर्यटन उपशिर्षकमा बिनियोजन भएको बजेटको कामको बिषय भने उल्लेख गरिएको छैन् ।

जनताको करबाट निर्माण भएको बागलुङ नगरपालिकाको बजेटले कुनै पार्टीको भवन बनाउने कार्य सान्र्दभिक नभएको नेकपा एमाले बागलुङले जनाएको छ । नेकपा एमाले बागलुङ नगर कमिटि अध्यक्ष धनबहादुर परियारसहितको समूहले नगरप्रमुखलाई ध्यानाकर्षण गराएका छन् । प्रतिष्ठानका नाममा बजेट बिनियोजन गर्ने र अन्य कार्यहरुमा खर्च गर्ने कार्य देश र जनताका लागि योगदान गरेका विपी र युद्धका सहिद सबैको अपमान हुने कार्यभएको टिप्पणी समेत परियारले गरे ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने विपीकै सम्मानमा भवन बन्नेगरी बजेट बिनियोजन भएको बताउने गरेका छन् । प्रतिष्ठानहरुको कार्ययोजना अनुसार बजेट दिईएकाले अन्य कामका लागि बजेट खर्च नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->