बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीमा वृति परामर्श तथा रोजगारी मेला

गण्डकीमा वृति परामर्श तथा रोजगारी मेला


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०७९, शनिबार

पोखरा/ गण्डकी प्रदेशमा वृति परामर्श तथा रोजगारी मेला सुरु भएको छ । शुक्रबारदेखि तीन दिनसम्म चल्ने रोजगारी मेलाको आयोजना गण्डकी प्र्रदेश सरकारको शिक्षा,संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले गरेको हो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मेलाका माध्यम बेरोजगारीको तथ्य विवरण प्राप्त भई रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे । उनले गण्डकी प्रदेशमा विकासको प्रशस्त सम्भावना भएकाले रोजगारीको समेत सिर्जना गर्न सजिलो हुने बताए । बेरोजगारीलाई निराकरण गर्न मेलाले प्रमुख भूमिका खेल्ने भनाई गुरुङको छ ।

प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेश सरकारले एतिहासिक कामको सुरुवात गरेको बताए । उनले नेपालको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गरेकाले त्यसै अनुरुपको काम गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । ‘प्रदेश सरकारको ५ वर्षको कार्यकाल पुरा हुँदैछ । हाम्रो दायित्व के हो ? हामीले घोषणा गरेका विषयवस्तुलाई कति पुरा गर्यौं । अब समिक्षा गर्ने बेला भएको छ ।’, उनले भने ।

सभामुख अधिकारीले सरकारले सिटीभिटीमा लगानी गरेता पनि लगानी अनुरुपको प्रतिफल भने नदेखिएको बताए । उनले अब आउने नयाँ सरकारले संविधान अनुरुपको काम गर्नुपर्ने धारणा प्रस्तुत गरे । निजी, सहकारी र सरकारी बजेटलाई केन्द्रित गरेर विकास र रोजगारका क्षेत्रलाई फराकिलो बनाउँदै लगे मात्र समृद्धि सम्भव रहेको तर्क उनको थियो ।

सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले प्रदेशलाई आवश्यकत दक्ष जनशक्ति आफै उत्पादन गर्ने उद्देश्य स्वरुप मेलाको आयोजना गरेको बताए । प्रदेशमा भएका सम्भावनाहरुलाई उजागर गर्न मेला आयोजना गरिएको जानकारी उनले गराएका छन् । मेलाले प्रदेशलाई सक्षम र उन्नत बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास उनको छ ।

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले रोजगारी अहिलेको आवश्यकता रहेको र सोहि आवश्यकता परिपूर्ति गर्न गण्डकी सरकारले आयोजना गरेको मेला महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे । उनले युवालाई विदेश पलायन हुनबाट रोक्न यस्ता कार्यक्रमले टेवा पुग्ने बताए ।

आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्माले प्रदेश सरकार उद्योग, कृषि क्षेत्रमा लगानी बढाई रोजगारी सिर्जना गर्न तर्फ अग्रसर रहेको बताए । उनले रोजगारी मेला त्यसैको उपज भएको उल्लेख गरे । मेलाबाट रोजगारीका लागि भौतारिएका युवालाई लाभ मिल्ने विश्वास व्यक्त गरे ।

उपसभामुख सिर्जना शर्माले प्रदेश बासी सबै रोजगारी बन्नुपर्ने आवश्यकतालाई औंल्याएकी छिन् । उनले मेला आयोजना गरेर प्रदेश सरकारले राम्रो कामको थालनी गरेको बताइन् । प्रदेशमा लुकेका चीजहरुको उत्पादन गर्नुपर्ने र त्यसको बजारीकरणमा ध्यान पुर्याउन आवश्यक रहेको उनले उल्लेख गरिन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->