बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मोदी खोला जलविद्युत केन्द्रमा निर्माणपछिकै धरै बिद्युत उत्पादन

मोदी खोला जलविद्युत केन्द्रमा निर्माणपछिकै धरै बिद्युत उत्पादन


  • संजय रेग्मी
  • साउन ७ २०७९, शनिबार

पर्वत /पर्वत स्थित मोदी खोलामा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मोदी खोला जलविद्युत केन्द्रमा २२ वर्षको अवधिमा यो वर्ष सबैभन्दा बढी बिद्युत् उत्पादन भएको छ । २०५७ सालमा बनेको केन्द्रले गत आर्थिक वर्षको साउन, भदौ, माघ, फागुन, चैत र असार गरेर छ ओटा महिनामा केन्द्र निर्माण भए यताकै धेरै विद्युत् उत्पादन गरेको हो ।

केन्द्रका प्रमुख आभास ओझाका अनुसार आयोजनामा रहेका उपकरण तथा प्राविधिक सामग्रीहरूमा गरिएको मर्मत सम्भार, कर्मचारीहरूको क्रियाशीलता, अनुकूल मौसम र नेपाल विद्युत् प्राधिकरणको उच्च व्यवस्थापनका कारण केन्द्रले लक्ष्य भन्दा धेरै र अहिलेसम्मकै उच्च दरमा विद्युत् उत्पादन हुन सकेको हो । ‘आर्थिक वर्ष २०७८/०७९ मा विद्युत् उत्पादन राम्रो भएको छ । आयोजना बने यता यति धेरै उत्पादन हुन सकेको थिएन । छ ओटा महिनामा लक्ष्य भन्दा पनि धेरै उत्पादन भएको छ। साउन र असारमा सबैभन्दा धेरै उत्पादन भएको छ,’ उनले भने, ‘उपकरणहरूमा गरेको मर्मत सम्भार, कर्मचारी साथीहरूको सक्रियता र एकता, प्राधिकरणको आवश्यक सहयोगका कारण हामीले २२ वर्ष यताकै धेरै उत्पादन गर्न सफल भएका हौँ ।’

गत आर्थिक वर्षको पहिलो महिना साउनमा सात हजार एक मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएकोमा आठ हजार आठ सय ९९ मेगावाट उत्पादन भएको छ । जुन लक्ष्य भन्दा एक हजार आठ सय ९८ मेगावाट बढी हो । २२ वर्षको अवधिमा साउनमा उत्पादन भएको विद्युत्मध्ये यो नै सबैभन्दा बढी हो । यस्तै असार महिनामा सात हजार दुई सय ४३ मेगावाटको लक्ष्य राखिएकोमा त्यो भन्दा दुई हजार ७४ मेगावाट अर्थात् नौ हजार तीन सय १७ मेगावाट विद्युत् उत्पादन भएको छ । यो बाहेक अहिलेसम्मको तथ्याङ्कमा आर्थिक वर्ष २०६५/०६६ मा सात हजार छ सय ४६ मेगावाट विद्युत् उत्पादन भएको थियो ।

२२ वर्षका भदौहरूमध्ये गत वर्षको भदौमा सबैभन्दा धेरै आठ हजार पाँच सय ७० मेगावाट विद्युत् उत्पादन भएको छ । माघमा तीन हजार छ सय १३ मेगावाट, फागुनमा तीन हजार सात सय ४० मेगावाट र चैतमा पाँच हजार एक सय २९ मेगावाट विद्युत् उत्पादन गर्दै ती महिनामा पनि आयोजना बने यताकै सबैभन्दा धेरै विद्युत् उत्पादन भएको छ । वैशाख र जेठमा खोलामा पानीको बहाव धेरै हुने भए पनि यस अगाडि ‘रेकर्ड’ हरूलाई तोड्न सक्ने विद्युत् उत्पादन हुन नसकेको आयोजनाका इलेक्ट्रिक इन्जिनियर कपिल पौडेलले बताए । ‘मेन इनलेट भल्भमा पानी चुहिने समस्या रहेको थियो, मर्मत गरेपछि चुहिन बन्द भयो । गभर्नर मर्मत, जेनेरेटर ब्रेक, ११ के.भी, ३३ के.भी ब्रेकरहरूको पनि मर्मत सम्भार सहित अन्य सामान्य मर्मत नियमित गरिरहेका छौँ,’ उनले भने, ‘हामीलाई माथिबाट महिना अनुसार टार्गेट दिइएको हुन्छ। अहिलेका छ महिनामा हामीले यो केन्द्रबाट उत्पादन भएको विद्युत्को रेकर्ड नै ब्रेक गरेका छौँ ।’ ‘कुलिङ वाटर’ को लागि जडान गरिएको ‘अटो फिल्टर’ ले राम्रो काम गरेका कारण पछिल्लो दुई वर्षदेखि ‘थ्रस्ट वियरिङ’ परिवर्तन गर्न नपर्दा केन्द्रको ‘प्लान्ट आउटेज’ कम हुन गई उत्पादन बढेको इन्जिनियर पौडेल बताउँछन् ।

साउन, भदौ, माघ, फागुन, चैत र असार महिनामा गर्नुपर्ने उत्पादनका लागि माथिबाट तोकिएको लक्ष्य भन्दा क्रमशः एक सय २७, एक १६, एक सय १९, एक सय २०, एक सय २३ र एक सय २८ प्रतिशत बढी विद्युत् उत्पादन भएको इन्जिनियर पौडेलले बताए । आर्थिक वर्ष २०७८/०७९ मा ७२ हजार पाँच सय ४१ मेगावाट विद्युत् उत्पादनको कुल लक्ष्य रहेकोमा त्यो भन्दा झन्डै १० प्रतिशत बढी ७९ हजार छ सय दुई मेगावाट बढी उत्पादन भएको छ । जुन प्राधिकरणले मोदी खोला जलविद्युत केन्द्रलाई तोकेको लक्ष्य भन्दा एक सय नौ प्रतिशत बढी हो ।

यो भन्दा अगाडि सबैभन्दा धेरै विद्युत् उत्पादन आर्थिक वर्ष २०७३/०७४ मा ६९ हजार पाँच सय ५६ मेगावाट उत्पादन भएको थियो । जुन अहिलेको उत्पादनभन्दा १० हजार ४५ मेगावाट कम हो । विद्युत् प्राधिकरणले केन्द्रलाई उत्पादनको लागि दिएको लक्ष्यमध्ये सबैभन्दा बढी आर्थिक वर्ष २०७६/०७७ मा ७३ हजार दुई सय ५३ मेगावाट रहेको थियो । यस वर्षको उत्पादनले प्राधिकरणले दिएको उच्चतम लक्ष्यलाई पनि नाघेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->