पर्वत/‘म मर्न तयार छु ! फलेवास रंगशाला मर्न दिन्न ! चाहे मेरो छातीमा गोली लागोस्, शासकहरूबाट खेलाडी र फलेवासीको भविष्यमाथि बन्दुक हान्ने आदेश दिँदै हुनुहुन्छ ? खबरदार ।’ जिल्लाको फलेवास नगरपालिका–५ देवीस्थानका नागरिकहरूले सामाजिक सञ्जाल फेसबुकमा रहेको स्ट्याटसको अंश हो यो ।
कालीगण्डकी प्रसारण कोरिडोरको कुश्मा–बुटवल खण्ड विस्तारको लाइन सार्न माग गर्दै फलेवासको देवीस्थानका बासिन्दा आन्दोलनमा छन् । प्रसारण लाइनका कारण नगरकै गौरवका रूपमा निर्माणाधीन फलेवास रंगशाला विस्थापित हुने भन्दै देवीस्थानवासीले ‘हाइटेन्सन’ ‘लाइन’लाई अन्यत्रैबाट लैजानुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय लकास सुवेदीले राष्ट्रिय स्तरको रंगशाला, आधारभूत विद्यालय र क्षेत्रीय स्तरको बसपार्क रहेको ठाउँलाई सखाप पारेर अन्य आयोजनालाई प्राथमिकतामा राख्नु राज्यको गलत प्रवृत्ति भएको बताउँछन् । विकासको एउटा परियोजनाले विकासको अर्को परियोजनाको अस्तित्व मेटाउनुले कुनै पनि प्रकारका विकासका उद्देश्य पूरा नहुने उनको भनाई छ ।
‘फलेवास रंगशाला बचाउन हजार युवाहरू तयार छन् । निर्माणाधीन खेलमैदान र यसले बोकेको भविष्य संगसगै हजारौँ मानिस भित्रिने गण्डकी प्रदेशकै ठुलो फलेवास रंगशाला हो,’ उनले भने, ‘यस ठाउँको गरिमालाई धज्जी उडाउँदै विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार गर्नु खेदजनक छ ।
कोरिडोर आयोजना कार्यालय र ठेकेदार कम्पनीको लापरबाहीका कारण प्रदेश र केन्द्र सरकारको समेत प्राथमिकतामा परेको निर्माणाधीन रंगशाला लगायतका पूर्वाधारमा क्षति पुग्ने गरी भइरहेको काम वैकल्पिक बाटोबाट गर्न नगरपालिका समेतले सम्बन्धित निकायलाई आग्रह गरेको छ । फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन, विद्युत् प्राधिकरण, आयोजना कार्यालयलगायतलाई आयोजनाका टावर निर्माण गर्दा सार्वजनिक संरचना जोगिने गरी वैकल्पिक उपाय खोज्न दबाब दिएको छ ।
नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले १६ असारमा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय सच्याउन माग गरेको छ । बैठकले राष्ट्रिय महत्वको आयोजना भएकाले प्राविधिक ‘एलाइनमेन्ट’ अनुसार प्रसारण लाइन विस्तार गर्ने निर्णय गरेको थियो । फलेवासका नगरप्रमुख तिवारीले आफूले फलेवासको विकास र जनता विरोधी कामको सधैँ विरोध गर्ने भन्दै उक्त निर्णय सच्याएर टावर सार्न जुनसुकै निकायमा दबाब दिन पछि नपर्ने बताए ।
तर आयोजना प्रमुख चन्दनकुमार घोषले भने प्राविधिक मूल्यांकनबाट गरिएको निर्णय अटेर गरी आयोजना रोक्न खोजे कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी दिएका छन् । स्थानीयले तीन ओटा टावर निर्माणमा अवरोध गरिरहेको बताउँदै उनले ‘एलाइन्मेन्ट’ कहिल्यै परिवर्तन नहुने भएकाले ‘टावर’ सार्ने विकल्प आफूहरूसँग नरहेको बताउँछन् ।
अहिले निर्माणाधीन अवस्थामा रहेको रंगशाला धौलागिरि अञ्चलकै पहिलो व्यवस्थित र पूर्वाधारयुक्त रंगशाला बन्ने दाबी फलेवास नगरपालिकाले गरेको छ । रंगशाला निर्माणका लागि २९ करोड बजेट लाग्ने अनुमान गरिएको छ । हालसम्म नगरपालिकामार्फत ४६ लाख, प्रदेश सरकारमार्फत १० लाख र संघ सरकारमार्फत ३० लाख बजेट विनियोजन गरी काम भइरहेको छ ।





