बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ढाकाका साडी विदेश जान थाले

ढाकाका साडी विदेश जान थाले


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७९, मंगलबार

बागलुङ/ कोरोना महामारीको बेलामा घरभित्रै बसेर बुनेको ढाकाको साडी उनले १४ हजारमा बेच्न सफल भइन् । त्यो पनि विदेशमा बस्नेलाई ।
कोरोना कालमा मात्रै ५ वटा साडी बेचेको बानपा–१० भकुण्डेकी यामकुमारी थापाले सुनाइन् । अमेरिका बस्ने नेपालीले उनको उत्पादन माग गरेपछि बुनेर कुरियरमार्फत पठाएकी थिइन् । कोरोना संक्रमणका कारण पसल बन्द भएकै बेला फोनमा आएको अर्डरबाट ५ वटा साडी, ४ वटा कोट र रुमाल लगायतका सामान अमेरिका पठाउन सफल भएको थापाले बताइन् । अर्डरबाटै अष्ट्रेलिया र युरोपका देशबाट पनि उनीहरुको सामान निर्यात भएको छ ।

सदरमुकाममा डेरा लिएर बसेकी थापाले दशकदेखि ढाका बुन्ने काम गर्थिन् । यसअघि छिमेकीलाई बेच्ने सामान पछिल्लो समय कोसेली घरमार्फत बेचेकी थिइन् । बिस्तारै विदेशबाट माग आएपछि उनको व्यवसाय स्थानीय बजारमा भन्दा बाहिर बढ्दै गएको छ । साडीलाई १८ देखि २० हजारसम्म उनका साथीले बेचेका छन् । कोट १० देखि १५ हजार सम्मका छन् ।

ताराखोलाकी गौमाया रोकाले पनि ढाका बुनेर विदेश पठाउन सकेको बताइन् । केही सामान कुरियर र केही सोझै आउनेजानेसँग पठाउन सकेको रोका बताउँछिन् । ‘सुरु सुरुमा एकदुइ जनाले अर्डर गरेपनि कसरी पठाउने भन्ने अन्यौल थियो, अहिले सजिलै भएको छ’ पुनले भनिन्, ‘केही महिनादेखि सटर छाडेर कोठाभित्रै काम गरिरहेकी छु ।’ भाडा महंगो पर्ने भएकोले उनले कोठाबाटै काम गर्न थालेकी छिन् ।

ढाकाको सलमा रोजाई अनुसारका बुटा भरेर पठाउँदा १८ हजार रुपैयाँ सम्ममा बिक्री गर्न सकेको उद्यमीले बताए । विदेशमा बस्ने नेपालीले ढाकाको सामाग्री बढी रुचाउने गरेको रोकाको अनुभव छ । ‘विदेशबाट माग्नेलाई चिटिक्क र फिनिसिङ राम्रो हुनुपर्छ’ रोकाले भनिन्, ‘मेहेनत गरेमा सामान जति पनि बिक्ने रहेछन् ।’ माग अनुसार काम गर्न भ्याईनभ्याई भएको उनले बताइन् । विदेशबाट भाँङग्रो पनि माग गरेपछि उद्यमीले अर्डर अनुसार पठाउने गरेको रोकाले बताइन् ।

घरेलु तथा साना उद्योग कार्यालय बागलुङले उद्यमीलाई मेसिन र प्रविधि हस्तान्तणमा साथ दिएपछि ग्रामीण क्षेत्रका महिलाहरु उद्यमी बनेर कमाउने बढेका हुन् । एकल महिला, बिपन्न र दलीत तथा जनजाती समूहका महिलालाई छनौटमा राखेर लगानी गरेको कार्यालयकी प्रमुख गुमादेवी रिजालले बताइन् ।

लगानी गरिएका अधिकांस उद्यमीले ढाका कपडाका सामाग्री बनाएर मासिक ३० देखि ४० हजार कमाउन सक्ने भएका हुन् । ढाकाको पच्छ्यौरा, झोला, टोपी लगायतका सामाग्री बनाएर बजार र विदेशमा उनीहरुले बेचेका छन् । ‘पछिल्लो समय पुरुषले लगाउने कोटको पनि माग बढेको छ’ थापाले भनिन्, ‘मेहेनत गरेमा घर चलाउने मात्र नभई कमाइ गर्ने राम्रो व्यवसाय बन्ने रहेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->