बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गाउँलेलाई सेवा दिने ‘एम्बुलेन्स’ किन्न महायज्ञ

गाउँलेलाई सेवा दिने ‘एम्बुलेन्स’ किन्न महायज्ञ


  • संजय रेग्मी
  • साउन २३ २०७९, सोमबार

पर्वत/ जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटा कुश्मा नगरपालिका–१२ ठूलीपोखरीसँग जोडिएको गाउँ हो । त्यहाँका कोही पनि बिरामी परेकामा राम्रो उपचारको खोजीमा सदरमुकाम कुश्मा बजार नै जानुपर्ने अवस्था छ । अत्यावश्यक अवस्थामा रहेका बिरामीलाई गाडीमै राखेर सदरमुकामको अस्पताल लैजान पनि एक घण्टा लाग्छ ।

गाउँ क्षेत्र भएका कारण खोजेको बेलामा गाउँमा सवारीहरू उपलब्ध हुँदैनन् । सदरमुकाममा रहेका ‘एम्बुलेन्स’ वा ‘ट्याक्सी’ बोलाए पनि गाउँमा पुग्दा र फर्किँदा झन्डै दुई घण्टा लाग्छ जसका कारण समयमा नै उपचार नपाउने अवस्था रहन्छ । कार्कीनेटा फलेवास नगरपालिकामा रहेको भए पनि दूरीका हिसाबले कुश्मा नगरपालिका छिटो पुग्न सकिन्छ । फलेवासमा हालसम्मको ठुलो अस्पताल भनेको ‘धुलिखेल अस्पताल, फलेवास’ हो । तर फलेवासकै बिरामीहरू पनि स्वास्थ्य जाँचका लागि कुश्मा नै आउने गरेको बेलामा कार्कीनेटाका बिरामीहरू फलेवास जाँदैनन् ।

यो समस्याको हल गर्नको लागि गाउँलेहरूले गाउँमै रहने एउटा ‘एम्बुलेन्स’ आवश्यकताको महसुस गरे । तर खरिदका लागि आवश्यक बजेट नहुने भएपछि उनीहरूले ‘शिव पुराण ज्ञान महायज्ञ’ को आयोजना गर्ने र त्यसबाटै उठेको रकमबाट ‘एम्बुलेन्स’ किन्ने योजना बनाएका हुन् । स्थानीयवासीले रकम सङ्कलन अभियान थालेको भए पनि गाउँका केही व्यक्तिले दिएको थोरै रकमबाट बजेट नपुग्ने भएपछि ज्ञान महायज्ञ लगाएर पैसा जुटाउने प्रयासमा लागेको वडाध्यक्ष चोलाकान्त पाध्या बताउँछन् ।

कार्कीनेटामा एम्बुलेन्स रहन सके फलेवास नगरपालिकाका थापाठाना र भँगरा, कुश्मा नगरपालिकाको ठुलीपोखरी, खौलालाँकुरी तथा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अन्तर्गत आरुचौरका बासिन्दालाई पनि समयमा नै स्वास्थ्य सेवा उपलब्ध हुने छ । धेरै गाउँलाई सेवा दिन सकेमा ‘एम्बुलेन्स’ पाल्न पनि समस्या नहुने भएकाले महायज्ञको आयोजना गरेर ‘एम्बुलेन्स’ खरिद गर्ने सोचमा आफूहरू पुगेको उनको भनाई छ । ‘यति धेरै गाउँलाई सेवा दिन सक्ने भएपछि त्यसलाई पाल्न पनि खासै समस्या नहोला । अर्को कुरा यति एरियामै एम्बुलेन्स छैन। गाउँमा भएका १/२ वटा जिप आफ्नै तरिकाले चलेका हुन्छन्, हामीले चाहेको बेलामा अन्तै पुगेका हुन सक्छन्,’ उनले भने, ‘आँखा अगाडि सदरमुकाममा रहेको अस्पताल जान नसकेर गाउँमै ज्यान जानी हो की भन्ने पिर भयो ।’

गाउँमा हुने स्वास्थ्य संस्थामा दक्ष चिकित्सक र आधुनिक उपकरणको अभावमा अति सामान्य बाहेक अरू अवस्थामा गाउँलेहरू सदरमुकामकै अस्पतालमा पुग्ने गरेका छन् । प्रायः कुश्मा र केही पोखरा जाने गरेका कारण गाउँमा ‘एम्बुलेन्स’ आवश्यक परेको हो ।

स्थानीय शिव मन्दिर टोलमा रहेको नर्मदेश्वर शिवालय मन्दिर परिसरको धार्मिक तीर्थस्थलमा स्तरोन्नति र पूर्वाधार निर्माण समेत लक्ष्य राखेर ‘शिव महापुराण ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव’ सञ्चालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जागेश्वर शर्माले बताए । शर्माका अनुसार साउन २० गतेदेखि सुरु भएको महायज्ञ ३० गतेसम्म चल्दै छ । दश दिनसम्म सञ्चालन हुने महायज्ञको कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलबाट विभिन्न देवी लिला, जनचेतना मुलुक नाटक प्रस्तुति सहित सङ्गीतमय कथा प्रवचनका कार्यक्रमहरू राखिएका छन् ।

महायज्ञको उद्घाटनको क्रममा नगरपालिकाका प्रमुख गंगाधर तिवारीले मानव जीवन रक्षाका लागि एम्बुलेन्स निकै महत्त्वपूर्ण भएको बताउँदै आफूले व्यक्तिगत तर्फबाट एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग पनि गरेका छन्। ‘एम्बुलेन्स’ भएमा उक्त क्षेत्रका बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास आफूले लिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->