बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एसइईमा पालिका टपेकी छात्रालाई वडाले पढाइदिने

एसइईमा पालिका टपेकी छात्रालाई वडाले पढाइदिने


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०७९, बुधबार

पर्वत/ हालै सार्वजनिक भएको २०७८ सालको एसइई परीक्षामा पर्वतको पैयुँ गाउँपालिकाभरमा सबैभन्दा जिपिए प्राप्त गरेकी छात्राको आगामी अध्ययनको खर्च वडाले बेहोर्ने भएको छ ।

गाउँपालिकाको वडा–१ टकलाकमा रहेको टकलाक माध्यमिक विद्यालयबाट ३.६ जिपिए प्राप्त गरेकी कुसुम विकले कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययन गर्ने तयारी गरिरहेकी कुसुम दलित समुदायबाट रहेको र उनको आर्थिक अवस्था पनि कमजोर रहेका कारण कक्षा ११ र १२ को भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्क वडाले बेहोर्ने वडाध्यक्ष मीनप्रसाद न्यौपानेले बताएका छन् ।

दलित समुदायको विपन्न परिवारमा जन्मिएर पनि गाउँपालिका भरमा सबैभन्दा राम्रो नतिजा ल्याउन सफल हुनु र आर्थिक अवस्थाकै कारण क्षमता भएर पनि अध्ययनमा समस्या भोग्नुपर्ने अवस्था आउन नदिनको लागि वडाले उक्त निर्णय गरेको हो ।

‘आर्थिक अवस्था बलिया भएका र अध्ययनको अवसर राम्रो पाएकाहरूले ल्याउनुपर्ने नतिजा कुसुमले ल्याएकी छिन् । विज्ञान संकायबाट अध्ययन गर्ने उनले तयारी गरेकी छिन् । कक्षा ११ र १२ मा उनले अध्ययनका लागि गर्नुपर्ने खर्च वडाले गर्ने छ’, वडाध्यक्ष न्यौपाने भन्छन्, ‘यसले अध्ययनमा मिहिनेत गर्ने अरू विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने छ । वडा शिक्षा क्षेत्रका लागि अरू काम गरिरहेको छ। तर यो निर्णयले क्षमता भएमा त्यसको कदर र सम्मान हुने कुरा विद्यार्थीमा पुष्टि गर्छ, मिहिनेतका लागि प्रोत्साहन गर्छ ।’

वडाअध्यक्ष न्यौपानेका अनुसार कुसुमले जनसेवा माध्यमिक विद्यालय हुवासमा अध्ययन गर्दै छिन् । उनको यो नतिजा सहित जिल्लाभरको अवस्था हेर्दा पनि सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारिँदै आएको देखिएको उनले बताए ।

गुणस्तर कायम गर्न नसकेको गुनासो चलिरहेको बेलामा सामुदायिक विद्यालयहरूले नतिजामा सुधार गर्दै जानुले गुणस्तर कायम हुन थालेको देखिएको न्यौपानेको भनाई छ । वडा कार्यालयले वडाभित्र रहेका समुदाय विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभियान थालेको बताउँदै उनले आगामी दिनमा वडाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर परिवर्तन गरेर देखाउनेमा आफूहरू ढुक्क रहेको उल्लेख गरे । गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएदेखि नै न्यौपाने शैक्षिक देखि अन्य पक्षहरूको पनि समानान्तर सुधारको विभिन्न अभियानहरू चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->