बागलुङ/ ऐतिहासिक र लोपोन्मुख बास्सा नाच बागलुङमा ९ बर्षपछि देखाइएको छ । प्रताप मल्लकै पालामा चलेको बास्सा नाच पछिल्लो समय लोपोन्मुख बन्दै गएको छ ।
शोकमा डुबेकी रानीलाई खुसी पार्न प्रताप मल्लले थालेको गाइजात्रा जस्तै सामाजिक अगुवाहरुको निधनमा बास्सा नाँच समेत देखाउने गरिन्थ्यो । सोही चलन अनुसार बागलुङमा ९ बर्षपछि बास्सा देखाइएको हो । समाजमा योगदान भएका बिशिष्ट व्यक्तिको निधन भएमा बास्सा नाच देखाउने चलन हो ।
नागरिक समाजका अध्यक्ष तथा नेपाल भाषा मंकाखलका पूर्व अध्यक्ष काजीगाउँले श्रेष्ठका अनुसार सामाजिक योगदान भएका व्यक्तिको स्तुतीगान गाउने, उनीहरुको जीवनीबारे गीत बनाएर गाउने, राम, सीता, लक्ष्मण र हनुमान बनाएर नचाउने चलन नै बास्सा नाच हो । यस्तो चलनले शोकमा डुबेका परिवारलाई सन्तोष मिल्ने, मृतको आत्माको पनि शान्ति प्राप्त हुने विश्वास गरिन्थ्यो ।
बागलुङमा बास्सा नाच हरेक बर्ष गाइजात्राकै दिन निकाल्ने चलन छ । तर यो नृत्य धेरै खर्चिलो छ । कोरियोग्राफर र कलाकार चाहिने, गीत गाउनेहरुदेखि नाच्ने समेत गर्दा कलाकारिता गर्ने मात्रै २० जनाभन्दा धेरै चाहिने भएपछि बास्सा नाच लोपोन्मुख छ । धेरै जना कलाकार र अन्य सामाग्री जुटाउन नसक्दा धेरै बर्षमा नाच देखाउन पाइएको नेपाल भाषा मंकाखल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । ‘यो धेरै खर्चिलो पनि छ, जोहो गर्न समस्या हुन्छ’ उनले भने, ‘धेरै विधिपूर्वक गर्नुपर्ने भएकोले खर्चिलो छ ।’
बागलुङ बजारका चर्चित शिक्षक सूर्यप्रसाद श्रेष्ठ ‘मिलन गुरु’को निधन भएको बर्ष उनका छोरा सिद्धार्थ मिलन श्रेष्ठसहितले बास्सा नाच निकालेका हुन् ।
यो नाचसँगै मृतकको इतिहास, योगदान र व्यक्तित्व बारे धेरै लेखिनु पर्छ । गीत पनि उनको स्मृतिमा लेखिएपछि गाइजात्राको दिन दिनभरी गाएर समूहले बजार परिक्रमा गर्नुपर्छ । आएका सबै पाहुनालाई खुवाउने, स्वागत सत्कार गर्नुपर्ने हुँदा महंगो परेको उनले बताए ।
त्यसैले यहाँको राधा कृष्ण मन्दिरमा हरेक बर्ष गाइजात्राकै दिन बर्षभरी निधन भएका परिवारको सम्झना हुने गरी नाम र फोटो सहितको व्यानर टाँगेर राखिन्छ । ‘बास्सा नाच देखाउन नसक्नेका लागि यो स्मृति हो’ राजभण्डारीले भने, ‘खर्चकै कारण पुराना बिषय जोगाउन पनि गाह्रो छ ।’
पछिल्लो समय कलाकार समेत नभएर यस्ता नृत्य र संस्कृति लोप हुन लागेको उनले बताए ।
बास्सा मात्र नभई कलाकार र आर्थिक अवस्थाले कतिपय नाँच र संस्कृति लोप हुन लागेको श्रेष्ठले बताए । कलाकार अभावमा लाखे जात्रा, रोपाइजात्रा, जोगी नाँच र हनुमान नाँच समेत संरक्षण गर्नुपर्ने अवस्था आएको उनले बताए ।





