सौगातले व्यवसाय सम्हालेपछि पिता विन्दुकुमार ढुक्कले राजनीतिमा होमिन पाएका छन् । सौगातले पिताको विरासतमात्र धानेका छैनन्, व्यवसायमा नयाँ आयामको थालनी पनि गरेका छन् ।
गण्डकी सरकारले यही आर्थिक वर्षको लागि बजेट ल्याउँदा चौतर्फी विरोध हुन पुग्यो । कारण करको दर, मन्त्रीहरुकै बार्गेनिङका कारण गण्डकी सरकारको बदनामी भएपछि सरकारले थुप्रैपटक प्रष्टीकरण दिनुप¥यो । मन्त्री नेताका नाममा चन्दा अभियान पनि उठ्यो ।सरकारका मन्त्री रहेतापनि बजेटका विषयमा निर्विवाद बन्न पुगेका अपवाद मन्त्री हुन विन्दुकुमार थापा ।
उनलाई नपुग्दो केही थिएन, सत्तामा पुगेपछि पनि यसले आफ्नै लागि चाहिँ बजेट छुट्याउँदैन भन्ने आम जनताको विश्वासलाई उनले पुष्टि पनि गरे । हुन त, कांग्रेस प्रतिपक्षमा रहँदा पनि वर्षेनी आफ्नो आयमा व्यक्तिगत सम्पत्ति थपेर उनले सार्वजनिक कार्यमा खर्च गर्दै आएका थिए ।
उनको चर्चा तब भयो, जब गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भयो । सर्वाधिक धनी मन्त्रीको उपमा पाएका विन्दुकुमार गण्डकीमा मन्त्री बन्नुपूर्व व्यापारिक, व्यावसायिक पृष्ठभूमिबाट आएका हुन । राजनीतिमा आउनुपूर्व पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा रहँदै उनको चर्चा चुलिइसकेको थियो ।
एउटा सरकारी जीवन पश्चात अटोमोबाइलका क्षेत्रबाट उदाएका विन्दुको अहिलेको परिचय गण्डकीको कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय हो ।यो त भयो सार्वजनिक पद । त्यसबाहेक उनको अर्को छुट्टै सामा्रज्य छ र त्यो हो अंशुभरा ग्रुप । जसले पोखराको व्यावसायिक घरानाको नेतृत्व पनि गर्दछ । र, त्यो घरानाको नाम हो, अंशुभरा ।
अंशुभराको शाब्दिक अर्थ के हो र कसरी यो विन्दुकुमार थापाको व्यापारिक घरानाको नाममा पस्यो त ?
देशका व्यापारिक घरानाहरुको नाम प्रायःजसो थरबाट राख्ने गरिएको छ । तर, त्यो पुरानो प्रचलन भन्दै थापा परिवारले आफ्नो व्यवसायलाई अर्को नाम जुराउन खोज्यो । त्यसकै परिणामस्वरुप जन्मियो, ‘अंशुभरा’
अंशुभराको अर्थ यसका अध्यक्ष विन्दुकुमार थापाको नामसँग मिल्न जान्छ ।
…………….
त्यही अंशुभरा कुनैबेला गण्डकी रिकण्डिसन हाउसमा सीमित थियो । अहिले अंशुभराको आकार अटोमोबाइल्स, रियल स्टेट, हस्पिटालिटी, मल र वित्तीय क्षेत्रमा फैलिएको छ ।
थापा साम्राज्यको यो व्यावसायिक विस्तारको दायित्व अब दोश्रो पुस्तामा आएको छ र त्यसको नेतृत्व गरिरहेका छन, थापाका छोरा, अंशुभरा गु्रपका एमडी, सौगात थापाले ।
सौगात थापा विन्दुकुमारको छोरा हुन् तर उनको परिभाषा बाबुसँग मात्र जोडिँदैन । रिनोभेसन हुँदै गरेको बगैँचा रिसोर्टले उनको व्यावसायिक क्षमता प्रमाणित गर्नेछ । उनको हस्पिटालिटी रुचिलाई आकार दिनेछ । १२ बेडको बगैँचा रिसोर्टले अहिले नयाँ आकार लिँदैछ । भौतिक संरचना थपिँदैछन, लक्जरी सुविधालाई प्राथमिकतामा दिनको लागि मर्मत गर्न लागिएको आगामी जुनसम्ममा स्वरुप फेर्ने बगैँचा रिसोर्टले थापाको पनि व्यावसायिक पहिचान बढाउनेछ ।
एमडी थापा अहिले बगैँचा रिसोर्टलाई प्राथमिकता दिएका छन । उनको रुचि पनि हस्पिटालिटी नै हो, आफ्नै रुचि अनुसार संरचना परिवर्तन हुन लागेको बगैँचा रिसोर्टको बारेमा उनी गम्भीर छन ।
‘डिलक्स, स्विट, प्रेसिडेन्टल स्विटसम्मको कोठा हुनेछन । ज्याकुजी डिजाइनको कोठाहरु बन्नेछन । मिडियम रेन्जभन्दा माथि उठ्ने र लक्जरी बेच्ने योजना छ । स्पादेखि सबै सुविधा हुनेछ । नेपाली नयाँ वर्षताका यसको सफ्ट ओपनिङ हुनेछ भने अंशुभराको वार्षिकोत्सवमा ग्राण्ड ओपनिङ हुनेछ’, उनले भने ।
पोखराको मान्छेले जे बेचिरहेको छ, त्यो नबेचौँ, हामीले फरक गर्न भनेर नै अंशुभराले बगैँचा रिसोर्टको पूर्ण स्वामित्व लिएको हो । पोखरामा अहिले मध्यमस्तरका होटेलहरु छन, बगैँचाले पनि पहिले त्यही सेवा प्रदान गथ्र्यो । तर, थापाले सोचे, ‘अरुले र हामीले दिने सेवा एउटै भयो, अब फरक तरिकाले जानुपर्छ । बगैँचा रिसोर्टको काम सकिएपछि त्यो सोच परिणाममा आउनेछ ।’
…………..
अंशुभराले गर्ने अर्को मुख्य काम रियलस्टेट पनि हो । ल्याण्ड प्लटिङ र सेलिङबाट नै अंशुभराको उभार भयो । यो क्षेत्रलाई पनि उनले इकमर्समा लैजान चाहन्छन । पहिलेजस्तो बिचौलियामार्फत जग्गा कारोबार गर्ने प्रक्रिया पुरानो भइसक्यो । यसलाई इन्टरनेटको माध्यममा जोड्ने उनको चाहना छ ।
अटोमोबाइल्स चाहिँ अंशुभराको सुरुवाती काम हो । त्यतिबेला गण्डकी रिकण्डिसन हाउसबाट यो क्षेत्रमा हात हाल्यो ।अहिले चाहिँ उसले करिबकरिब यो काम छाडेको छ । उसले डिलर लिँदैन, तर अंशुभराको योजना चाहिँ अब इम्पोर्टर बन्नेछ । विदेशी ब्राण्डको गाडी ल्याउने र डिलरसिप दिने योजना छ ।
………
सञ्चालनमा आइसकेका यी सेवा क्षेत्रहरुबाहेक अंशुभराले अब के गर्नेछ त ?
थापाले भने, ‘हामील गर्ने काम मात्र भन्छौँ, भन्ने र नगर्ने भन्ने हुँदैन ।’ त्यसो भए नयाँ प्रोजेक्ट के गर्दैछ त अंशुभरा ?
उनले भने, अंशुभरा कृषिमा पनि छिर्दैछ । त्यसका लागि सयौँ रोपनी जग्गा लिइसकेका छन । फार्म खोल्ने र अर्गानिक प्रोडक्ट बेच्ने योजना उनको छ । ‘अंशुभरा एग्रो फार्म पनि दर्ता भएको छ । ३२५ रोपनीमा फार्म टु टेबल सर्भिस दिने योजना छ । यो कन्सेप्टलाई छिटै कार्यान्वयनतर्फ लैजाने सोचमा छन उनी । यसलाई पछाडि फार्म टु टेबुलको कन्सेप्टमा लक्जरी रिसोर्ट सञ्चालन गर्ने । पछि यसलाई रियलस्टेटमा लैजान पनि सकिने उनको सोच छ ।’
कास्कीको ढिकुरपोखरीमा यो फार्म बन्नेछ । यो प्रोजेक्टमा त्यहीँका स्थानीयलाई आबद्ध गराउने, रोजगारी दिने, फार्म जानेकोलाई फार्मको काम दिने उनको योजना छ ।यसले सामाजिक, आर्थिक विकासमा सहयोग पु¥याउने उनले बताए ।यो प्रोजेक्ट सुरु भइसकेपछि केही वर्षमा यसलाई प्राइभेट भिल्ला बनाएर यसलाई विस्तार गर्न सकिने उनी बताउँछन ।
अंशुभरा एग्रो फार्म चाहिँ मन्त्री विन्दुकुमार थापाको फार्म कन्सेप्ट र छोराको हस्पिटालिटी कन्सेप्टको फ्युजन पछि नै जन्मिएको उनले सुनाए । त्यतिमात्रै होइन, अंशुभरा फुड एण्ड वेभरेज पनि दर्ता भएको छ । यसलाई भविष्यमा अगाडि बढाउने सोच रहेको उनले बताए । लेकसाइडमा नै अहिले एउटा आधुनिक मल बनेको छ । अंशुभरा स्क्वायरको अहिले बुकिङ पनि चलिरहेको छ । अहिले व्यवसाय गर्न चाहने धेरै एड्भान्समा नै भाडा लिने प्रचलन छ । तर, लेकसाइडको सेन्टरमा खोलिएको अंशुभरा स्क्वायएरको नीति चाहिँ अलिक फरक छ । युवा व्यवसायी थापाले युवाकै तवरले सोचे । उनले भने, ‘हामीले एड्भान्स भनेर पहिल्यै पैसा माग्दैनौँ, अंशुभरा स्क्वायरले पाँच वर्षसम्म सम्झौता गर्छ, तर ६ महिनाको मात्र भाडा डिपोजिट गर्नुपर्छ भन्ने छ । यो भनेको विथाउट डिपोजिट नै हो ।’
यसले नयाँ व्यवसाय गर्न चाहनेहरुलाई प्रोत्साहन गर्ने उनले बताए । अंशुभरा स्क्वायरलाई लेकसाइडमा आतिथ्य सत्कार र मनोरञ्जनको हब बनाउने उनको चाहना छ । कम्पलेक्समा बैंक, एटिएम लाउन्ज, फाइन डाइन रेष्टुरेन्ट, कफी सप, सैलुन, स्पा, डिपार्टमेन्ट स्टोर, फेसन ब्रान्ड, रुफटप रेष्टुरेन्टलगायतका सुविधाहरु हुनेछन् । थापाले भने, ‘यो कम्पलेक्समा विभिन्न १६ थरी व्यवसाय हुनेछन ।
अपार्टमेन्टसँग जोडिने योजना पनि अंशुभराको छ । त्यसको लागि चाहिँ केही समय लाग्ने उनले सुनाए । यो प्रोजेक्ट बाबुछोरा दुवैको चाहना हो । अंशुभराले नै पोखरा तालचोकमा अंशुभरा रेसिडेन्सी सञ्चालन गरिरहेको छ । त्यही ठाउँमा ४२ रोपनी जग्गा बाँकी छ । अपार्टमेन्ट बनाउने बेलामा त्यो जग्गा प्रयोग हुने उनी बताउँछन ।
अंशुभरा ग्रुपले रियलस्टेट, अटोमोबाइल्स, हस्पिटालिटी, सपिङ मल, वित्तिय संस्था लगायतमा लगानी गरिरहेको छ । यो ग्रुपले सन् १९९३ देखि पोखराबाट व्यवसायिक यात्रा सुरु गरेको हो । पछिल्लो समय ग्रुपले आफ्नो बिजनेशको दायरा फराकिलो बनाउँदै लगिरहेको छ, र त्यसको नेतृत्व गर्दैछन्, युवा व्यवसायी थापाले ।





