शैक्षिक प्रमाणपत्रमा भविष्य खोजको भए, नवलपुर बुलिङटारका २८ वर्षीय दीपेन्द्र सुनारी मगर कुनै ठूलो कम्पनीका मेसिन वरपर हुन्थे होलान् । तर, भइदियो उल्टो ! उनले जागिरबाट आफ्नो श्रीवृद्धिभन्दा देशको समृद्धिलाई प्राथमिकतामा राखे । चीनको हाउझोङ युनिभर्सिटीबाट मेकानिकल इञ्जिनियरिङ मास्टर्स सकेका उनी राजनीतिमा होमिए ।
समय त्यस्तै थियो, पढेलेखेका दीपेन्द्र कोभिडकालीन समयमा लामो समय गाउँमा बस्न बाध्य बने । गाउँलेहरुको दुःख र चाहनालाई नजिकबाट नियाले अनि राजनीतिले मात्रै देश परिवर्तन सम्भव छ भन्ने अठोटमा पुगे । राजनीतिक नेतृत्व नागरिकको समस्या संवोधनमा चुकेको ठहरसहित उनले पार्टी राजनीतिमा खुट्टा बढाए । पिता शेरबहादुर एमालेमा आवद्ध थिए । पिता पथमा लागेसँगै दीपेन्द्रले पालिका अध्यक्षको दावी गरे ।
अध्यक्षको दौडमा अन्य ६ जना पुराना नेता पनि थिए । तर, अन्तिममा टिकट उनको पोल्टामा आयो । दीपेन्द्र युवा जोससहित मैदानमा उत्रिए । नेपाली कांग्रेका नेता डा.शशांक कोइरालाको चुनावी क्षेत्र, काग्रेससँगको प्रतिस्पर्धा सजिलो थिएन ।
तर, दीपेन्द्रले हिम्मत हारेनन् । उनी प्रश्न र योजनाहरु लिएर जनतामाझ गए । बुलिङटारको पछौटेपन, नेतृत्वमा नदेखिएको जवाफदेहीता र पारदर्शीताको मुद्दा जोडतोडले उठाए । विकासका एजेण्डाहरु प्रस्तुत गरे । बुलिङटारमा मगरहरुको बाक्लो बस्ती छ । जातीय सहानुभूतिले पनि दीपेन्द्रलाई फाइदा ग¥यो । युवा जोशलाई जनताले पत्याए ।
कांग्रेसका उम्मेदवार तथा निवर्तमान गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीलाई १५९ ले पराजीत गर्दै उनी गण्डकीको कान्छो जिल्लाबाट राष्ट्रिय राजनीतिमा चर्चित बन्नपुगे । दीपेन्द्रले चार हजार ५९ मत ल्याउँदा शशीकिरणले तीन हजार नौ सय मतमात्रै प्राप्त गरे ।
कांग्रेसको गढबाट उदाएका दीपेन्द्रको काँधमा बुलिङटारको विकासको दायित्व आइपुगेको छ । भन्नु र गर्नुमा फरक हुन्छ तर नेतृत्वले चाहेमा असम्भव भन्ने केही हुँदैन । पालिका अध्यक्षको रुपमा दीपेन्द्रले फुकीफुकी पाइला चाल्नुपर्ने देखिएको छ । आफूले रोजेको चुनौती चिर्न योजनावद्ध विकासका योजना अघि सार्नुपर्ने देखिएको छ ।
दीपेन्द्रले केही काम सुरु गरेका छन् तर परिणाम आउन बाँकी नै छ । जनतालाई सामाजिक सुरक्षा र सुविधा दिँदा वाहवाही कमाइएला तर दीर्घकालीन विकास सम्भव हुँदैन भन्ने दीपेन्द्रले पक्कै बुझेका छन् । डोजरे विकासले विकास सम्भव छैन भन्ने बुझेका दीपेन्द्र अब भने वास्तविक परीक्षामा छन् । ५ वर्षपछि उनी कहाँ होलान् ? उत्तर सरल छ,‘परीक्षाको परिणामले नै उनको स्थान निर्धारण हुन्छ ।’





