पोखरा बागबजारका बुद्धिबहादुर र गणेशबहादुर श्रेष्ठले सामान्य मिठाइ पसलबाट व्यवसाय सुरु गरे । आमा पुतलीदेवीको अैंठे र सेल बनाउने व्यवसायलाई उनीहरुले आधुनिकीकरण गरे । ३० को दशकमा सुरु भएको बुद्धि र गणेशको व्यवसाय अहिले लक्ष्मी हाससमा रुपान्तरण भएको छ । लक्ष्मी हाउसको छानामुनि अहिले दर्जनभन्दा बढी कम्पनीहरु रहेका छन् भने हजारौंले रोजगारी पाएका छन् । पछिल्लो समय यो घरानाले मिठाइको अलावा, दूध, गाडी आयात, होटल, जलविद्युतलगायतका क्षेत्रमा हात हालेको छ ।
व्यापारमा साम्राज्य खडा गरेका गणेशबहादुर अहिलेको उपलब्धीलाई मिहिनेत र इमान्दारिताको प्रतिफल मान्छन् । ‘आध्यात्मिक स्वभावका उनी अक्सर भन्ने गर्छन्,‘इमान्दार र लगनशील हुनेबाहेक केही गरिएनछ ।’
दाइ बुद्धिबहादुरले व्यापार/व्यवसाय छाडेको लामो समय भयो । उनी ईश्वरभक्तिमा भुलेका छन् । तीर्थाटनमा रमाएका बुद्धिबहादुरले गृहस्थी जीवन नै त्यागेका छन् । उता, नेपालका कन्फेक्सनरी उद्योगका एकमात्र बादशाह अनि सामाजिक अभियन्ताको छवि बनाएका भाइ गणेशबहादुर सक्रिय जीवन जिउँदै छन् । पछिल्लो समय उनी पनि धार्मिक कृत्यमा व्यस्त हुन्छन् । ६ हजार ऋणमा थालेको उद्योगमा अहिले कति लगानी छ गणेशलाई नै थाहा छैन । उद्योग÷धन्दा छोराहरुको जिम्मा लगाएपछि उनी साँच्चिकै फुर्सदमा छन् । यद्यपि, बेलाबेला छोरा र नातिपुस्तालाई आवश्यक राय सुझाव भने दिन्छन् । लक्ष्मी हाउसमा आफन्तहरु पनि मिसिएका छन्। लक्ष्मी हाउसको कमाण्ड छोरा पुस्ताकै हातमा छ भने नाति पुस्ता पनि व्यवसायमा सक्रिय भइसकेका छन् ।
पोखराको अर्को सफल घराना हो कमाचार्य हाउस । खानेतेल,बिस्कुट,खाद्यान्न,प्लाष्टिक,डेरी,कन्फेक्सनरीलगायतका उद्योगहरु संचालन गर्ने या समूहका अगुवा जगतकृष्ण कर्माचार्य हुन् । जगतकृष्ण यो धर्तीमा छैनन् । तर, भक्तपुरबाट आएका पिताले थालेको व्यवसायलाई छोराहरु चन्द्रकृष्ण,हरिकृष्ण,गोविन्दहरुले अगाडि बढाए । उनीहरुले टे«डिङदेखिगाडीको कारोबारमा पनि सफलता चाखे÷चाखिरहेका छन् । अहिले यो समूहमा पनि पुरानो पुस्ता बिस्तारै सुस्ताउँदै गएको छ । जगतकृष्णका नातिपुस्ता व्यवसायमा सक्रिय भएका छन्। माइकल,विक्रमहरु व्यवसायमा सक्रियतापूर्वक लागेका छन् ।‘अहिले यो ग्रुपमा युवाहरुलाई काम र जिम्मेवारी बाँडिएको छ,नाति पुस्ता व्यवसायमा सक्रिय भएको छ’,कर्मचार्य ग्रुपका एक हितैषीले भने,‘अहिले उद्योग/व्यवसायमा विविधिकरण भएको छ र जिम्मेवारी एवं दायित्व पनि त्यसरी नै विभाजन गरिएको छ ।’
पोखराको अर्को सफल व्यावसायिक समूह हो, बाराही ग्रुप । हरिप्रसाद पौडेलले चार कोठाको गेष्ट हाउसबाट सुरु गरेका बाराही समूहसँग अहिले देशैभर होटल सञ्जाल र रेष्टुराँ, हाउजिङलगायतका व्यवसायहरु रहेका छन् । हस्पिटालिटी व्यवसायमा देशकै सफल मानिने बाराहीको कमाण्ड अहिले छोरा पुस्ताले सम्हालेको छ । विप्लव र वैभव दाजुभाइ यो समूहका हर्ताकर्ता हुन् । ठूला निर्णयबाहेक अन्य विषयमा पिताको हस्तक्षेप हुँदैन । बरु, छोराहरुको कामको अनुगमन र बेलाबेला सुझाव दिने दायित्व भने हरिप्रसादले छाडेका छैनन् ।
चन्द्रकान्त बरालले पोखरामा कुखुरा फार्म खोले । पोखरा १७ मा बराल फिड इन्डष्ट्री संचालनमा ल्याउँदा उनलाई खिसीट्युरी गर्नेहरुको कमी थिएन । बाहुनको छोराले कुखुरा पाल्ने ? भन्ने प्रश्न गर्नेहरु बग्रेल्ती थिए । तर, चन्द्रकान्तले अठोट छाडेनन् । उनी व्यवसायमा सफल भए । अहिले भने उनी पनि धार्मिक र सामाजिक गतिविधिमा सक्रिय छन् । पुम्दीकोटमा विशाल महादेव मूर्ति स्थापनाको अगुवा उनै हुन् । उनकै व्यक्तित्वका कारण महादेव मूर्ति स्थापनाको लागि जनस्तरबाट करोडौं रकम संकलन सम्भव भएको हो । चन्द्रकान्त सामाजिक र धार्मिक क्षेत्रमा लागेसँगै व्यवसायको जिम्मेवारी चाहिँ छोरा सूर्यले सम्हालेका छन् । युवा सूर्यले पिताको पथ पच्छ्याउँदै गर्दा व्यवसायलाई आधुनिकीकरण गरेका छन् । कुखुराको मासुलाई प्रशोधन गर्दै फेवा चिकन प्वाइन्ट संचालन गर्ने सोच उनै सूर्यको हो ।फेवाले अहिले पोखरेलीलाई स्वादिष्ट मासुका परिकार खुवाउँदे आएको छ ।
पछिल्लो समयमा पोखराको व्यवसायमा पनि पुस्तान्तरण भएको छ । युवा पुस्ताले व्यवसायमा हात बढाएका छन् र पुख्र्यौली व्यवसायलाई नयाँ स्वरुप र उचाइ प्रदान गरेका छन् । चर्चित केसी ग्रुप अहिले छोराहरुकै काँधमा छ । युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष प्रकाशदेव पालिखेदेखि विनोद वैद्यका छोरा पुनित वैद्य,संचार उद्यमी विश्वशंकर पालिखेका छोरा विजेश पालिखे,होटल व्यवसायी रमेशबहादुर भट्टराईका छोरा सुनिल भट्टराई, व्यवसायी विन्दुकुमार थापाका छोरा सौगात थापालगायत दर्जनौं युवाहरुले पिताले सुरु गरेको व्यवसायमा आफूलाई समाहित गरेका छन् ।
‘पछिल्लो समय पोखरामा पुस्तान्तरण हुने क्रम बढेको छ,पहिला व्यवसायीका छोराहरुले व्यापारभन्दा अन्यत्र ध्यान दिन्थे, अहिले देशमै केही गरौँ भन्ने भावना विकास भएको छ’,पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले भने,‘परम्परागत सुन व्यवसायदेखि टे«डिङ अनि उद्योगमा युवा पुस्ताले नेतृत्व लिएका छन् र सफल पनि भएका छन् ।’ उनका अनुसार उद्योगी÷व्यवसायीहरुले आफ्ना सन्तानलाई आफूलाई आवश्यक पर्ने सीपसँग सम्बन्धित विषय पढाउँनाले पनि युवा पुस्ता व्यवसायमा तानिएका हुनु ।





