युवाहरुले संचालनमा ल्याएको द क्लिफले पर्वतको परिचय नै फेरेको छ । मुस्ताङ र बागलुङ कालिका आउजाउ गर्नेहरुलाई कुस्मा पस्ने र बस्ने बनाएको छ ।
पर्वत / जिल्लाको कुश्मा नगरपालिका–५ मा रहेको कुश्मा बजारको डिलमा रहेको कालीगण्डकी नदी किनार छेउमा रहेको भीरले पछिल्ला दुई वर्ष यता फरक नाम कमाएको छ । छ वर्ष अगाडिसम्म झाडी र फोहोरकै बिचमा सामान्य कच्ची सडक थियो । बिहान सबेरै र साँझपछि सामान्यतः मान्छे हिँड्न पनि डरैलाग्दो ।
तर पछिल्ला दुई वर्षदेखि त्यही सुनसान डिल रमझम छ, घरहरू धमाधम निर्माण भइरहेका छन् । कुनै बेला जग्गा बिक्री गर्न समस्या हुने गरेको डिलको भागमा रहेको जग्गाको अहिलेको मूल्य सदरमुकामको कुनै महँगो चोकको भन्दा कम छैन । राजु कार्की, युवराज जोशी, नेत्र पराजुली, नवराज शर्मा, राजन जोशी र प्रकाश प्रधानको लगानीमा सन २०१६ देखि ‘द क्लिफ’ कम्पनीमार्फत् बन्जी जम्प सहितको रिसोर्ट निर्माण गर्न थालिएपछि बिस्तारै त्यो ठाउँले गति लियो ।
अहिले पर्यटकहरूको चहलपहल सहितको रमाइलो कुश्मा देख्दा जति आनन्द आउँछ, त्योभन्दा कैयौँ गुणा धेरै जोखिम मोलेर कालीगण्डकी नदी किनारको भिरमा लगानी सुरु भएको थियो । सुनसान र एकान्त कालीगण्डकीको भिरमा अहिलेसम्म करिब ५० करोड रुपैयाँ लगानी पुग्न लागिसकेको छ ।
‘हेलिकोप्टर’ मा घुम्ने सुविधा सहितको ‘बन्जी जम्प’ निर्माणको बेलासम्म बाँदरले हैरान पार्ने गरेको क्षेत्र हो ।
कालीगण्डकी फराकिलो सतहका दुई छेउमा रहेका भिरमा पुल बनाएर ‘बन्जी र ‘स्विङ’ निर्माण होला अनि पर्यटकहरु आउलान् भन्ने स्थानीय नागरिकले पत्याएका थिएनन् । करोडौँको लगानी गर्न तयार भएका युवाहरू आफ्नो सोचमा कत्ति पनि डगमगाएनन् । ‘पर्वतमा हेर्ने क्रममा कालीगण्डकीको यो भिरमा साहसिक खेलको अथाह सम्भावना देखेपछि यसमा नै बन्जी उत्तम हुन्छ भन्ने लाग्यो । यहाँका लगानीकर्तासँग भएको सल्लाहमा उहाँहरू पनि तयार हुनुभयो,’ लगानीकर्ता राजु कार्की भन्छन्, ‘हाम्रो कन्सेप्टको बारेमा यहाँका स्थानीयलाई खासै पत्याएर लागेको थिएन । त्यस्तो भीरमा करोडौँ रुपैयाँको लगानी खेर जान्छ भन्ने सोच्नुभएको थियो । तर हामी कत्ति पनि डराएनौँ ।’ आफूहरूले लगानी गर्ने बेलामा कतिपयले लगानी जोखिममा पर्न सक्ने बताउने गरेको भए पनि अहिलेको व्यापार राम्रो भइरहेको कम्पनी बताउँछ ।

कुनै बेला पर्वत एक जिल्ला हो भन्ने थाहा नै नपाएकाहरूलाई पनि अहिले पर्वतका साहसिक खेलहरूको अवलोकन गर्न मन लाग्छ । पवित्र कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो स्वीङ र विश्वको दोस्रो अग्लो बन्जी जम्पले पर्वतको पहिचानमा इँटा थपेका छन् । कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा ५२० मिटर लम्बाइको बन्जी पुल निर्माण गरेको छ । जति बेलै बाँदरहरू खेलिरहेको देखिने भीर रहेको ठाउँलाई अहिले पोखराको ‘लेक साइड’ सँग तुलना गर्दै ‘बन्जी साइड’ को नामले बोलाउने गर्छन् ।
पर्यटकहरूको चहलपहल खासै नभएको ठाउँमा करोडौँको लगानी गर्दा जोखिम हुन सक्ने भए पनि अब भने पर्वत पर्यटकीय गन्तव्यका रूपमा परिचित भइसकेको अर्का लगानीकर्ता युवराज जोशी बताउँछन् । ‘कुश्मामा यसैका लागि आउने भन्ने केही पनि थिएन । यही बाटो हुँदै मुस्ताङ र बागलुङ कालिका आउजाउ भए पनि यहाँ कोही किन पस्थे ? किन बस्थे ?,’ उनी भन्छन्, ‘यस्तो भिरमा यति धेरै लगानी गर्नु जोखिमपूर्ण भएको सुरुमा दिनमा कमेन्टहरू आउने गर्थे, लगानीका हिसाबले यो निकै ठुलो हो । यहाँ पर्यटकहरूका लागि स्पेसल डेस्टिनेसन नभएका कारण पर्यटकहरु तान्नु चुनौतीको विषय थियो ।’ दुई वर्षको सञ्चालनको अवधिमा राम्रो गर्न सकिन्छ भन्ने देखिएको जोशीको भनाई छ ।
कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा बन्जी पोइन्ट रहेको छ । त्यो भन्दा १२ मिटर माथि अर्थात् कालीगण्डकी नदीको सतहबाट २५५ मिटर उचाइमा ‘काटापल्ट मोडल’ को झुला निर्माण गरिएको छ । सामान्य ‘स्विङ’लाई आफ्नो गति सुरु गर्न ‘म्यानुअल’ रूपमा अन्य व्यक्तिको धक्का चाहिन्छ । ‘द क्लिफ’ को ‘स्विङ’ मसिनबाट सञ्चालनमा आउँछ । यो स्विङ विश्वकै अग्लो रहेको ‘द क्लिफ’ कम्पनी बताउँछ । दुई जनाले सँगै रहेर एक पटकमा ‘स्विङ’ गर्न मिल्ने ‘तान्डीम स्विङ’ पनि पर्यटकहरूको रोजाइमा छ । २२८ मिटरकै उचाइबाट हुने बन्जी जम्पमा धेरैको आकर्षण रहेको छ । ‘रि बाउन्स’ मज्जा लिन सकिने र ‘फ्री फल’ राम्रो रहेका कारण दैनिक करिब ६५ जनासम्मले ‘बन्जी जम्प’ गरेका छन् ।

६०० मिटर लम्बाइको विश्वकै लामो ‘स्काइ साइक्लिङ’ पनि ‘द क्लिफ’ मा रहेको छ । ‘बन्जी’ र ‘स्विङ’ मा प्राकृतिक गतिमा खस्नुपर्ने हुन्छ । तर ‘स्काई साइक्लिङ’ लाई कति गतिमा लैजाने भन्ने आफैमा निर्भर पर्छ । कालीगण्डकी नदीबाट २५५ मिटरको उचाइमा स्टिलका तारहरू राखेर साइकल कुदाउन सकिन्छ ।
कम्पनीले पछिल्लो ‘स्काई ग्लाइडिङ’ नामको साहसिक खेल थप गरेको छ । जसमा स्टिलको तारमा एउटा ‘टावर’ बाट अर्को ‘टावर’ मा ११० मिटर लम्बाइमा बहनुपर्छ । समुन्द्रमा पानीको छालमा ‘ग्लाइडिङ’ गरेको जस्तै तारमा ‘ग्लाईडिङ’ गर्ने र यो हावामा गरिने भएकाले यसको नाम ‘स्काई ग्लाईडिङ’ राखिएको हो ।

यी बाहेक ‘स्काई क्याफे’, ‘क्रेजी ब्रिज’, ‘विसिङ ह्यान्ड’, ‘स्काई चेयर’, गुलेली पिङ, स्काई चेयर, पिङ, ‘हर्ष राइडिङ’ पनि ‘द क्लिफ’ का साहसिक खेलहरू हुन । अहिले पर्वत सदरमुकाम कुश्मा बजार र कालीगण्डकीलाई देख्न सकिने गरी ‘भ्यु टावर’ र साहसिक खेलको रूपमा ‘वाल क्लाइम्बिङ’ निर्माणाधीन अवस्थामा रहेका छन् । ‘पारिवारिक भ्रमणमा आउने तथा साहसिक खेल खेल्न नसक्नेहरूलाई पार्क, डोको सडक, एन्जल विङ्स, लभ साइनलगायतका रमाइला दृश्यहरू रहेका छन्,’ कार्की भन्छन्, ‘खेलका संरचनाहरू आफ्नो तरिकाले मात्रै बनाउने भन्दा पनि कालीगण्डकी नदी तिरको भीरलाई प्रकृतिले जस्तो बनाएको छ त्यसलाई उपयोग गरिरहेका छौँ । सामान्यदेखि माथिल्लो स्तरसम्मका साहसिक खेलहरू रहेकाले व्यक्तिले आफ्नो साहसको स्तर अनुसार खेल खेल्न सकिन्छ ।’
‘बन्जी जम्प’ सुरु गरेपछि कम्पनीमा प्रत्यक्ष काम गरेर करिब एक सय जना र अप्रत्यक्ष रूपमा करिब चार सय जनाले रोजगारी पाइरहेका छन् । कम्पनीभित्रका विभिन्न खेल र रिसोर्टमा गरेर करिब एक सय जनाले रोजगारी पाएका छन् । उनीहरूको तलब, खुवाई र बसाइमा मात्रै मासिक ३० लाख रुपैयाँ खर्च हुने गरेको छ । ‘बन्जी जम्प’ निर्माण नहुने बेलासम्म भिरको जग्गा सुनसान हुने गरेको थियो । आसपासको जग्गाको मूल्य पनि खासै थिएन भने मान्छेहरूको आउजाउ पनि खासै थिएन । तर ‘बन्जी’ सञ्चालनमा आएपछि त्यसको आसपासमा ४० ओटा रेस्टुरेन्ट बनेका र तीनमा करिब चार सय जनाभन्दा बढीले रोजगारी पाएका छन् ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानका बासिन्दाहरू बसाइ सरेर जाने क्रम चलिरहेकोमा अहिले बसाइ सरेर गएकाहरू पनि फर्किने क्रम चलेको छ । बलेवा क्षेत्रका जग्गाहरू बाँझिएर रहेकोमा अहिले जग्गाले राम्रो भाउ पनि पाएको छ । बसाईँसराईँका कारण उठ्नै लागेको बस्ती पनि जागेको देख्दा खुसी लागेको सञ्चालकहरू बताउँछन् ।
आफूहरूले सोचेकोभन्दा राम्रो संख्यामा पर्यटकहरु आउनाले साहसिक खेलका नयाँ संरचनाहरू थप गर्न हौसला मिलेको उनीहरूको भनाई छ । सुरुवाती अवस्थामा आन्तरिक पर्यटकहरूले मात्रै धानेको भए पनि अहिले करिब १० प्रतिशत जति बाह्य पर्यटकहरु आउने गरेका छन् । एक जना लगानीकर्ता नेत्र पराजुलीका अनुसार भारतीय, बंगलादेशी, युरोपियन पर्यटकहरूको आवागमन राम्रो भइरहेको छ भने यही वर्षमा यसलाई ४० प्रतिशत बनाउने लक्ष्य राखिएको छ ।






