बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिक्री नभएपछि पोखराको फूलबारी रिसोर्ट फेरि लिलामी गरिँदै

बिक्री नभएपछि पोखराको फूलबारी रिसोर्ट फेरि लिलामी गरिँदै


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७९, मंगलबार

पोखरा / नेपाल बैंकको ऋण तिर्न नसकेपछि लिलामीमा चढेको पोखराको पाँचतारे होटल फूलबारी रिसोर्ट बिक्री नभएपछि पुनः लिलामी गरिने भएको छ।

नेपाल बैंकले गत असार ३ गते ३५ दिने सूचना निकालेर जग्गा, जमिन र रिसोर्ट भवन लगायतको सम्पत्ति लिलाम गर्न सूचना प्रकाशित गरेको थियो।

पोखरा महानगरपालिका-१५ मा रहेको होटल तथा यसले चर्चेको १२४ रोपनी जग्गा, सञ्चालक पीयुष बहादुर अमात्यको नाममा ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी सात आना जग्गा लिलामी गरेर ऋण असुली गर्न लिलामीमा राखिएको थियो।

तर उक्त समयमा रिसोर्ट लिलामीका लागि एक कम्पनीले मात्र बोलकबोल गरेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले बताए।

उनका अनुसार लामो समयदेखि बन्द रिसोर्ट लिलामीका लागि एलिमेच इन्टरनेसनल कम्पनीले दुई अर्ब ७५ करोड रूपैयाँमा बोलकबोल गरेको थियो। बैंकले प्रस्ताव गरेभन्दा कम रकममा बोलकबोल गरेपछि उक्त प्रस्ताव अस्वीकार भएको छ।

तत्कालीन समयमा रिसोर्ट सञ्चालक मुद्दामा गएकाले लिलामीका लागि प्रतिस्पर्धामा अन्य कम्पनी आउन नसेकको बैंकका सिइओ अधिकारीको भनाइ छ।

‘सञ्चालक नै मुद्दामा गएको छ अब के हुने हो भन्ने अवस्था थियो। त्यसकारण पनि अन्य कम्पनी प्रतिस्पर्धामा आउन सकेनन्,’ उनी भन्छन्, ‘२३ वर्षदेखि यो कर्जा खराब भएर बसेको छ। अब ऋण लगानी गर्ने हामी बैंकहरू मिलेर फेरि लिलामी प्रक्रिया कसरी गर्ने भन्नेबारे छलफल गर्नेछौं।’

बैंकले सूचना ननिकाल्दैको अवस्थामा स्वीकारयोग्य प्रस्ताव आएमा सम्झौतामा पनि लिलामी हुन सक्ने उनले बताए।

बैंकले लिलामीको सूचना प्रकाशित गरेपछि रिसोर्ट सञ्चालक पीयुषबहादुर अमात्यले त्यसविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले गत साउन १५ गतेसम्मका लागि लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएका थिए।

अदालतले अन्तरिम आदेश निरन्तर हुने वा नहुने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। बैंककाअनुसार दुवै पक्षसँगको छलफलपछि रिसोर्टको असुली प्रक्रिया निरन्तरता दिन सकिने गरी उच्च अदालतले फैसला गरेको छ। यो फैसलासँगै रिसोर्ट लिलामीका लागि बाटो खुलेको छ।

होटलले २०५५ मा करिब एक अर्ब ३१ करोड रूपैयाँ कर्जा लिएको थियो। हाल त्यसको साँवा–ब्याजसहित करिब १८–२० अर्ब पुगिसकेको बैंकले उल्लेख गरेको छ। अहिले होटलसँग रहेको सम्पत्तिले पनि यस्तो कर्जा नखाम्ने अवस्था रहेको बैंकको भनाइ छ।

सन् १९९८ (विसं २०५५) मा नेपालले पहिलो पटक नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा व्यवसायी पीयुष बहादुर अमात्यले पोखरामा ‘वान अफ द ग्रेटेस्ट होटल इन द वर्ल्ड’ भन्ने थिममा फूलबारी रिसोर्ट खोलेका थिए।

राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले रिसोर्टमा एक अर्ब ३१ करोड रूपैयाँ ऋण लगानी गरेका थिए। नेपाल बैंकले ६५ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३५ करोड रूपैयाँको ऋण लगानी थियो भने बाँकी रकम सञ्चय कोषबाट जुटाइएको थियो। चार सय रोपनी जग्गामा फैलिएको रिसोर्टमा एक सय ६५ कोठा छन्।

पोखराको केन्द्रमा रहेको फूलबारी रिसोर्ट केही वर्ष राम्रै चल्यो। रिसोर्टमा खर्चालु पर्यटकको उपस्थिति हुन्थ्यो।

त्यति बेला रिसोर्टले राम्रै आम्दानी गरेको थियो। पछि माओवादी द्वन्द्व, मजदुर आन्दोलन लगायत विभिन्न कारणले रिसोर्ट सञ्चालन हुन सकेन। सञ्चालक अमात्यले ऋण तिर्न सकेनन्। उनी बैंकहरूको खराब ऋणीको सूचीमा परे।

पछि सरकारले ‘पर्यटन वर्ष २०२०’ मनाउने तयारी गर्दैगर्दा बन्द रहेको फूलबारी रिसोर्टलाई अन्तर्राष्ट्रिय चेन होटल मेरियट ग्रुपले व्यवस्थापन लिने गरी पुनः सञ्चालनमा ल्याउने तयारी गरेको थियो।

त्यति बेला मेरियट समूहले सञ्चालन गर्ने सर्तमा होटल सञ्चालन गर्न ‘रिनोभेसन’ थाल्ने भनेर ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण समेत गरिएको थियो। त्यसको दुई वर्ष बितिसक्दा पनि अमात्यले ऋण तिर्न नसकेपछि बैंकले लिलामी प्रक्रिया अगाडि बढाएको हो।

‘हामीले होटल सञ्चालक पियुष बहादुर अमात्यजीलाई पटक–पटक समय दियौं,’  नेपाल बैंकका सिइओ अधिकारीले भने, ‘हामीले उहाँको कर्जा केही समयअघि पुनर्संरचना पनि गरिदिएका थियौं। तर पनि न त होटल सञ्चालनमा आउन सक्यो न त कर्जा भुक्तानी नै हुनसक्यो।’

रिसोर्टले सरकारलाई समेत तीन अर्ब रुपैयाँ बढी कर तिर्न बाँकी छ। २०७४ पुस १६ गते सर्वोच्च अदालतले रिसोर्टलाई मूल्य अभिवृद्धिकर (भ्याट) र राजस्व छुट दिन नमिल्ने फैसला सुनाएको थियो।

तत्कालीन न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले करमा छुट दिन नसकिने भन्दै सञ्चालक अमात्यले हालेको रिट खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->