शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

विदेशबाट फर्केका बानियाँ दम्पति नै बंगुरपालनमा

विदेशबाट फर्केका बानियाँ दम्पति नै बंगुरपालनमा

मासिक ३ लाख बचत नाफा कमाउने लक्ष्य ।


  • हरिकृष्ण गौतम
  • भाद्र ७ २०७९, मंगलबार

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–५,बगुवाखोलाका सुनिल बानियाँ बिहानै बंगुरको खोरमा पुग्छन् । रोजगार अनुमति प्रणालीमार्फत् दक्षिण कोरियामा पाँच वर्षभन्दा बढी बंगुर फार्ममा काम गरेर फर्किएका बानियाँले आफ्नै लगानीमा बंगुरपालन गरेका छन् । करिब एकवर्ष अगाडीबाट फार्म सुरू गरेका बानियाँले बंगुर बिक्री थालेका छन् । खोरमा मलमुत्र सफा गर्ने,दानापानी दिने,नियमित खोप लगाउने र मासु खान योग्य बंगुरलाई तयार गरी बेनीमा रहेको आफ्नै पसलमा ल्याएर ग्राहकलाई बिक्री गर्ने बानियाँको दैनिकी नै बनेको छ ।

उनी मासिक २ लाख आफ्नो र जापानमा रहेकी श्रीमती निरुता भण्डारीको डेढ लाखको कमाइलाई माया मार्दै बंगुर पालनमा होमिएका हुन् ।‘कोरियामा सिकेको सीपलाई गाउँघरमै प्रयोग गरेको छु,उत्पादन अनुसारको बजार भएमा यही प्रसस्तै कमाइ छ’,बानियाँले भने । उनले गुणस्तरीय मासुका लागि कोरियाको मोडेललाई प्रयोग गरेको बताए ।

उनको खोरमा ल्यान्ड्रेस र योर्कसायर करिब ६० वटा बंगुर छन् । खोरमा जन्मिएका पाठापाठीलाई नियमित खोप, दानापानीलगायतका आवश्यक मादपण्ड पूरा भएपछि मात्रै बजारमा लैजाने गरिएको उनले बताए । आधुनिक फार्म मात्र नभइ गाउँमै बधशाला छ भने सदरमुकाम बेनीस्थित होटल याक नजिकै मासु बिक्री केन्द्र समेत छ । ‘स्वच्छ मासुका लागि खोरमै ध्यान दिनुपर्छ, मापदण्ड पूरा गरेमा ग्राहकको समस्या हुदैन’, उनले भने ।

करिब २ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा माउ, भाले बंगुर, पाठापाठी हुर्काउन र मासु प्रयोजनका लागि पालिने बंगुर बस्ने अलग खोर बनाइएको छ भने प्रसुती कक्ष, सुत्केरी बंगुर राख्ने कोठा,फार्ममा भाले लगाउने एउटा छुट्टै कोठा छ । भिटामिन,आइरनको सुइ दिने, स्वाइन फिभर (ज्वरो),खोरेतको सुइ र अरुबेला रोग अनुसारको औषधि र उपचार गर्ने ठाउँसमेत अलग छ । स्वच्छ मासुका लागि आवश्यक पर्ने सबै विधि र प्रविधिको प्रयोग गरेको बानियाँले बताए । हालसम्म खोर निर्माणमा पच्चीस लाख रुपैयाँ खर्च भइसकेको छ ।

‘अहिले मासिक डेढ लाखभन्दा बढीको बंगुर बिक्री हुन्छ,सबै खर्च कटाएर मासिक ३ लाख बचत नाफा कमाउने लक्ष्य छ’, बानियाँले भने । एउटा बंगुरलाई ३५ देखि ४५ हजारसम्म पर्छ । बंगुरलाई दानामा अभाव नहोस् भनेर उनले मिल समेत राखेका छन् । बंगुरका कारण वरपरका छिमेकीमा दुर्गन्ध फैलिन नदिन सचेत रहेको बानियाँको भनाइ छ । विदेशमा दुःख गरेर कमाएको रकमलाई गाउँमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने अवस्था रहेको उनले बताए ।

उनले खोपसहितको उपचार आफूले नै गर्ने भए पनि बेलाबेलामा पशु चिकित्सकलाई फार्ममा बोलाएर बंगुरको स्वास्थ्यबारे निरीक्षण गराउने गरेका छन् । मेहनत र परिश्रम गरियो भने पैसा कमाउनकै निम्ति विदेश जानुपर्ने बाध्यता नभएको बताए । सरकारबाट पाइने अनुदानले समेत व्यवसायलाई प्रोत्साहन हुने व्यवसायी बानियाँको भनाइ छ ।
बेनी नगरपालिका–५,बगुवाखोलमा कोरियाबाट फर्किएर बंगुरपालन गरेका सुनिल बानियाँ । तस्वीर हरिकृष्ण गौतम

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->