बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका दुईवटा विषयले चर्चा हुने गर्छ । एक शिकार आरक्ष । अर्को दलित मेयर दोस्रो पटक विजयी । दोहोरिएका जनप्रतिनिधि मध्ये बिजयी हुने कमै मध्ये पर्छन ढोरपाटन नगर पालिकाका मेयर देवकुमार नेपाली । बागलुङ जिल्लामा नेकपा (एमाले)बाट विजयी हुने उनी एक मात्रै प्रमुख हुन ।
व्यवसायमा अब्बल मानिएका उनी जनप्रतिनिधिमा जब्बर कहलिएका छन् । समाजसेवा र जनताको मनमनमा भिजेरै देवकुमार दोस्रोपटक पनि विजयी बनेका हुन् । पाँच दलीय गठबन्धनको चुनौतिसँगै पार्टीभित्रको अन्र्तघातलाई समेत सहजै चिन्न सफल उनी विपक्षको नजरमा भने सधै जब्बर ठहरिए ।
मनोनयनका दिन ०७४ मा सूर्य चिन्हको ब्यानरमा उम्मेदवार बनेका देवकुमारको जित एमालेका लागि सबै भन्दा ठूलो उपलब्धि थियो । २०७४ मा त्यहाँ पार्टीको जग कमजोर थियो । त्यो परिस्थितिमा उम्मेदवारकै कारण एमाले बिजय हुन सफल भयो । तलब भत्ता नलिई जनताको काम गरेका नेपालीले यसपटक भने पार्टीको जग नै बलियो बनाउदै गठबन्धनलाई सहजै पाखा लगाए ।
को हुन् देवकुमार नेपाली ?
२०४५ सालतिर बुर्तिबाङ वरपर देवकुमारको चर्चा बढ्दो थियो । त्यतिबेला उनी त्यस क्षेत्रबाट भलिबलको अब्बल खेलाडी थिए । तत्कालीन उत्तरगंगा माविका विद्यार्थी उनको चर्चा ५० को दशकसम्म आइपुग्दा युवा पुस्तामा अझ चुलियोे । ‘देवकुमारले स्पाइक हानेपछि कसैले उठाउन सक्दैन’, त्यतिबेला बागलुङका युवामाझ एउटा भनाइ स्थापित भयो । अझै देवकुमारको एउटा चुनावी भाषण गज्जबकै छ । आफ्नो प्रतिस्पर्धीलाई उदाहरण दिंदै भनेका थिए ‘म राष्ट्रिय भलिबल खेलाडी थिएँ । अर्को टिम कमजोर भयो भने खेल त्यति मज्जा आउँदैनथ्यो ।’
हुन पनि क्षेत्रीय तहमा भलिबल खेल्न गएका देवकुमार कहिल्यै रित्तो हात फर्किएनन् । उनी सधैँ देवकुमार कहलिरहे । भलिबल खेल्ने क्रममै रणसिंहकिटेनीबाट एक मगर युवतीसँग विवाह गरे २०४६ तिर । पछि उनको चर्चाको विषय फेरियो । ‘दमाइको छोराले मगर्नी विवाह ?’, उनी फेरि चर्चित बने । विवाहपछि देवकुमारले बुर्तिबाङमा एउटा फेन्सी पसल खोले । त्यतिबेला बुर्तिबाङमा नेकपा मसालको जगजगी थियो । बैचारिक हिसाबले सुरुमा उनी मसाल निकट नै थिए ।
बुर्तिबाङको तल्लो बजारमा पक्की घरसहित उनले व्यापार सुरु गरेका थिए । त्यहीँदेखि उनले राजनीति चाखे । उनको राजनीतिक पृष्ठभूमि मसालसँग जोडियो । सरल स्वभावका उनीसँग युवाको हिमचिम बढ्नु स्वभाविक थियो । धेरै समय उनी युवासँगै रम्थे । त्यसको अर्को सामाजिक पक्ष देखियो त्यो के भने देवकुमारका हकमा बुर्तिबाङ बजार जातीय भेदभावका विषयमा नरम बन्न थाल्यो । बुर्तिबाङ वरपर देवकुमारको हकमा छुवाछुतको कुरा उठाउन सक्ने स्थितिमा रहेन । हो यसर्थमा छुवाछुत मुक्तिको दिशामा उनको योगदान महत्वपूर्ण रह्यो । त्यतिबेला कथित ‘उपल्लो जात’काहरुलाई ‘ओई र तँ’ भनेर सम्बोधन गर्ने हिम्मत उनीमा मात्रै थियो ।
आर्थिक रुपले रहस्यमय फड्को मार्दै गइरहेका बेला देवकुमारले जिन्दगीमा नसोचेको बज्रपात आइलाग्यो । ब्याडमिन्टनमा राष्ट्रिय खेलाडी बनिसकेका जेठो छोरा गुमाउँदाको पीडा उनले सहे । पहिलैदेखि समाजिक काममा अगाडि देखिने उनी त्यो घटनापछि अझ सक्रिय देखिए । समाज सेवा राजनीति, व्यापार उनका लागि अनुकुल बन्दै गएको छ ।
काठमाडौं, पोखरा, बागलुङ र बुर्तिबाङमा व्यावसायसँगै राजनीतिमा फड्को मारेका देवकुमार यतिखेर एमाले गण्डकी प्रदेशको सचिवालय सदस्य छन् । उनी भन्छन्, ‘राजनीतिलाई मागी खाने भाँडो वा पेसा बनाउनु हुँदैन । जनताको सेवा मुख्य कुरा हो ।’ अघिल्लो पाँच वर्षे कार्यकाल सफलतापूर्वक सकेका देवकुमारप्रति ढोरपाटनबासी मात्रै नभई छिमेकी पालिकावासी समेत प्रभावित छन् ।
जनताको पीर मर्कामा प्रत्यक्ष सहभागी बन्ने बानी छ उनको । देवकुमार भन्छन्– ‘अघिल्लो कार्यकालमा नगर पालिकामा गाडी किन्नका लागि आएको पैसाले डोजर किनेर बाटो बनाउनमा प्रयोग गरियो । ट्याक्टर किनेर बजारको फोहोर व्यवस्थापनका लागि प्रयोगमा ल्याएका छौँ ।’
नगरपालिकाको सेवा सुविधा नलिने विरलै मध्येका मेयर देवकुमारले आफ्नै निजी लगानीमा ५० बढी शिक्षक, आमा समूहको भवन, बाटो निर्माण समेत गरेका छन् । सुत्केरी, भवितव्य दुर्घटनामा परेका पीडितलाई हेलिकप्टरबाट उद्धार गरेर उपचार गर्नसमेत पछि नपर्ने देवकुमारको आर्थिक, राजनीतिक यात्रा निरन्तर उकालो लागिरहेको छ ।





