पोखरा/ पोखरामा उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि रस्सकस्सी चलिरहेको छ । चुनावमा होमिन लागि अध्यक्षका २ आकांक्षीले प्यानल नै बनाएर घरदैलो अभियान सुरु गरिसकेको छ । दुवै जना छुट्टाछुट्टै टोली बोकेर फरक फरक स्थानमा उद्योगी व्यवसायीको समस्या र सुझाव सुन्दै हिँडेका छन् ।
अध्यक्षका प्रत्यसीहरु हुन्, वर्तमान वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र हालका बाणिज्य उपाध्यक्ष अर्जुन पोखरेल । यिनीहरु दुवै अघिल्लो महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लडेका थिए । आसन्न भदौ २४ र २५ गते उद्योगी व्यापारीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औंअधिवेशनमा पनि सर्वसम्मतको तयारी भइरहेको थियो । तर,विविध कारणले सर्वसम्मतको च्याप्टर समाप्त भएको दुवैको भनाइ छ । समस्या एकातिर भएपनि निर्वाचनमा होमिएर एक जना बाहिरिने निधोमा पुगेका छन् दुवै जना । स्वाभाविक पनि निर्वाचनमा जितेकोले नेतृत्व गर्छ भने हारेको बाहिरिने नै हो । यसका लागि दुवै नेतृत्व लिन र बाहिनिर तयार छन् । दुवै जनाले केही नयाँ अनुुहार टिममा समेट्दै प्यानल बनाएर हिंडिरहेको छ । सोही क्रममा प्रजापतिको प्यानल पोखरा १७ पुग्यो । सो वडा अर्का प्रत्यासी पोखरेलको बसोबास भएको वडा हो ।
आफ्नो वडामा प्रजापतिको प्यानल घरदैलोका लागि आउने थाहा पाएपछि अर्जुन बिहानै हातमा खादा लिएर बसे । आफ्ना प्रतिपर्धीलाई भेट्ने बित्तिक्कै हातमा भएका खादा प्रजापतिको गलामा लगाइदिएरजितको शुभकामना दिदैं फोटो खिच्न भ्याए । अनि फेसबुकमा पोष्ट्उँदै लेखिहाले,‘पवन प्रजापति र उहाँको टिमलाई मेरो बसाई रहेको वडा १७ मा स्वागत र शुभकामना दिँदै ।मेरो सोच,संस्कार, सम्मानसँगै मित्रवत प्रतिष्पर्धा ।’
विविध कारण सर्वसम्मत हुन नसकेको बताउने पोखरेल पोखरा उद्योग वाणिज्य संघको अहिलेको चुनावलाई मित्रवत प्रतिष्पर्धा भन्न रुचाउँछन् । ‘हामी दाजुभाइमा कुनै तिक्तता छैन’, उनले भने, ‘केही कुरा नमिलेको मात्र हो । यो अधिवेशनलाई मैलेमित्रवत प्रतिष्पर्धाको रुपमा लिएको छु ।’
पोखरेलको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।
पवनलाई मतदाताको आश्वासन

उनकै भाषामा, ८० पुग्न एक वर्ष वाँकी, रहेकी गंगादेवी अधिकारीले आर्शिवाद दिँदै भनिन् दुई पटक त मैले पनि भोट दिए तिमिलाई अहिले छोराको नाममा सारिदिएकी छु, तर पनि आर्शिवाद छ तिमी आउनै पर्छ । विरौटा चोकमा पुगेको पवन प्रजापतिको प्यानललाई अधिकारी वुलेट टे«डर्सकी संचालक अधिकारीले भनेको शव्द हो यो । उनले भनिन्,‘बोलेर बाठो र दौडेर छिटो पुग्ने प्रयास नगर, सवै व्यवसायीलाई सम्हालेर काम गर ।’ वडा कार्यालयनजिकै रहेको एस के व्रदर्शका संचालक किरण श्रेष्ठले मत दिने मात्रै होइन,भोट नै मागिदिए ।
फेवा चिकन प्वाइण्टका सूर्य बरालले पनि पवनलाई मत दिने आश्वासन दिए । अध्यक्षका प्रत्यासी पवनकुमार प्रजापतिले मतदाताको घरदैलो अभियानलाई सुझाव लिने अवसरको रुपमा व्याख्या गरे । ‘संघलाई कसरी लैजादा राम्रो होला भनेर अभिमत माग्न घरदैलो गरेको हो’,उनले भने ।छोरेपाटन, विरौटा, एयरपोर्टलगायतका स्थानका ३५० व्यवसायीहरुको घर र पसलमा समेत अभिमत संकलनमा हिँडेको टोलीले सवै खालका व्यवसाय, उमेर समूह र स्थानलाई समेटेर टिम निर्माण गरेको छ ।
नेकपा समाजवादीका नेता तथा मेयर धनराज आचार्यका भाइ शिवराज आचार्यले प्रजापति समूहलाई अग्रिक बधाइ ज्ञापन गरे । प्रजापति समूहबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग हिरामणी पण्डित,वाणिज्य उपाध्यक्षमा उत्तममान वुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्ष दिनेशचन्द्र वाँस्तोला, उपमहासचिव शोभा गौतम एवं सदस्यहरुमा प्रभा सुवेदी, बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदीप ओझा र सुदीप प्रधानाङ्ग रहेका छन्





