बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

राजश्व कार्यालय बागलुङले साउनमा ८ करोड कर संकलन गर्यो

राजश्व कार्यालय बागलुङले साउनमा ८ करोड कर संकलन गर्यो

१ अर्ब ४ करोड कर संकलन गर्ने लक्ष्य भएपनि कोरोना संक्रमण लगायतको कारण व्यवसायमा आएको मन्दीले कर घटेको कर अधिकृत शिवप्रसाद ढुंगानाले बताए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७९, बुधबार

बागलुङ/ आन्तरिक राजश्व कार्यालय बागलुङले गत साउन महिनामा ८ करोड ८ लाख कर संकलन गरेको छ । कोरोना संक्रमणपछि कार्यालयले लक्ष्य अनुसार कर संकलनमा सफलता पाउन सकेको छैन । तर पनि हरेक वर्ष करको अंक भने बढीरहेको छ ।

सिमित दरबन्दी भएपनि कार्यालयले गत आर्थिक वर्ष ८९ करोड कर संकलन गरेको थियो । १ अर्ब ४ करोड कर संकलन गर्ने लक्ष्य भएपनि कोरोना संक्रमण लगायतको कारण व्यवसायमा आएको मन्दीले कर घटेको कर अधिकृत शिवप्रसाद ढुंगानाले बताए । कोरोनाअघि दिएको लक्ष्यभन्दा बढी कर संकलन हुने गरेको थियो ।

चालु वर्षका लागि १ अर्ब ५ करोड कर संकलन गर्ने लक्ष्य कार्यालयले राखेको छ । चालु वर्षको साउन महिनामा मात्रै ८ करोड ८ लाख कर संकलन भैसकेकोले उक्त लक्ष्य पुरा हुने बताइएको छ । साउन कारोवार अत्यन्त कम हुने महिनामा पर्छ । कार्यालयमा २ जना अधिकृत र ३ जना नायव सुब्बा पद खाली छ । कार्यक्षेत्र भने चार जिल्ला हो । बागलुङसहित छिमेकी पर्वत, म्याग्दी र मुस्ताङ पुगेर पनि दिनुपर्ने काम कार्यालयले भ्याएको छैन ।

यहाँ दर्ता भएका २८ हजार व्यवसायिक करदाताको कारोवार यो कार्यालयले हेर्छ । तीमध्ये २४ हजार पान नम्बर भएका, १ हजार ६ सय भ्याट र १ हजार ६ सय अन्तशुल्कमा दर्ता भएकाहरु छन् । त्यसबाहेक करदाता शिक्षा कार्यक्रम संचालन, अनुसन्धान, कुनै फर्मको पूर्ण अडिट गर्ने तथा अकस्मात गरिने छड्के समेतमा कार्यालयको दरबन्दी अभाव भएको हो ।

कर कार्यालयले बेलो बेला करदाता शिक्षा कार्यक्रम गर्छ । तर दरबन्दी अभाव भएपछि जनताको चाहना अनुसार फिल्ड शिविर संचालन गर्न नसकिएको उनले बताए । ‘हरेक काम अनलाइनमार्फत गर्नुपर्ने बाध्यात्मक अवस्था छ, भएका दुई अधिकृत फिल्ड जाने हो भने कार्यालय ठप्प हुन्छ’ ढुंगानाले भने, ‘फिल्ड जान नसकेकै कारण ग्रामीण क्षेत्रका करदाता अझै दायरामा आउन सकेका छैनन् ।’ मुस्ताङको लोमान्थाङ, म्याग्दीको गुर्जा र बागलुङको ढोरपाटनदेखि करदाता शिक्षा कार्यक्रम माग भैरहेको उनले बताए ।

केही वर्ष अघिसम्म कर तिर्न पोखरा जानु पथ्र्यो । जिल्लामै करदाता सेवा कार्यालय हुँदै आन्तरिक राजश्व कार्यालय खुलेपछि बागलुङका व्यवसायीलाई सहज भएको छ । सहजै कर तिर्न पाएपछि संकलनको अवस्था पनि बढेको हो । ‘हामीले पहिला कहरले कर तिर्नुपथ्र्यो, यही कार्यालय भएपछि रहरले तिर्न पाएका छौं’ बागलुङ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष युवराज राजभण्डारीले भने, ‘करका दायरा बढाउने हो भने करको अवस्था दोब्बर बन्छ ।’ कर तिर्नेले मात्र हैन पान नम्बर लिनेले पनि सहज भएको हो । व्यवसायिकबाहेक व्यक्तिगत पाना नम्बर पनि चाहिने भएपछि हरेक नागरिकको कर संकलनसमेत बढ्ने क्रम छ ।

यसअघि नगदमा कर बुझ्ने गरेकोमा कार्यालयमै नेपाल बैंकले काउन्टर स्थापना गरिदिएको छ । सेवाग्राहीले भौचर मात्र बुझाए हुने भएको छ । ‘सेवाग्राहीले दुःख नपाउन् भनेर कार्यालयको अनुरोध अनुसार काउन्टर राखेका छौं’ नेपाल बैंक लिमिटेडका कर्मचारीले भने, ‘काउन्टरले सेवा ग्राहीको समय बचत पनि भएको छ ।’ बैंकमा लाग्ने भीड पनि काउन्टरले घटाएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->