स्याङ्जा/ वालिङ उद्योग वाणिज्य संघको १६ औं साधारण सभा एवं ८ औं अधिवेशन स्थगित भएको छ । आज शनिबारको लागि तय भएको संघकोे साधारण सभा एवं अधिवेशन अन्तिम समयमा आएर स्थगित भएको हो । नेपाली कांग्रेस समर्थित व्यवसायी एवं संघमा नेतृत्व गरेका पदाधिकारीले अधिवेशन रोक्न माग गर्दै नगरपालिकामा उजुरी दिएपछि नगर उपप्रमुख कविता तिवारीले अधिवेशन रोक्न वालिङ उद्योग वाणिज्य संघलाई पत्र पठाएकी हुन् ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले अन्तिम समयमा आएर अधिवेशन रोकिनु निकै दुःखद भएको बताए ।उनका अनुसार नगरपालिकाबाट उपमेयर कविता तिवारीले पत्र पठाएपछि बाध्य भएर अधिवेशन रोकिएको हो । साधारण सभा सुरु नहँुदै नेपाली कांग्रेसको तर्फबाट संघमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुले नेतृत्वको विषयलाई लिएर बखेडा गरेको उनको दाबी छ । वालिङ उद्योग वाणिज्य संघको नेतेत्वमा (अध्यक्ष) नेकपा एमाले समर्थित शोभाकान्त पौडेल छन् भने वरिष्ठ उपाध्यक्षमा नेपाली कांग्रेस समर्थित अर्जुनप्रसाद खनाल । महासचिवमा केशर बहादुर खाँण लगायत अधिकाशं पदमा नेपाली कांग्रेस समर्थित व्यवसायीहरु रहेका छनु । वरिष्ठ उपाध्यक्ष खनाल सहितको टोलीले वालिङमा पुगेर अधिवेशन रोक्न माग गर्दै उजुरी गरेपछि शनिबारको लागि तय गरिएको अधिवेशन अन्तिम समयमा आएर रोकिएको हो ।





