बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

खोप कार्ड बनाएर पशुलाई पूर्ण खोप सुनिश्चित गरिँदै

खोप कार्ड बनाएर पशुलाई पूर्ण खोप सुनिश्चित गरिँदै


  • संजय रेग्मी
  • असोज ७ २०७९, शुक्रबार

पर्वत/ खोप कार्ड बनाउँदै पर्वतका पाँच वटा स्थानीय तहका चौपायालाई खोप लगाउन लागिएको छ ।

‘अब एक जिल्लाबाट अर्को जिल्लामा वा एक पालिकाबाट अर्को पालिकामा पशु ओसारपसार गर्दा पूर्ण खोप लगाएको कार्ड देखाउनुपर्ने अवस्था आउँछ,’ पशु सेवा तथा भेटेरिनरी अस्पताल पर्वतका प्रमुख रामजीप्रसाद शर्मा भन्छन्, ‘हाम्रो जिल्ला माछा, मासु, अण्डा, दूध लगायतमा आत्मनिर्भर बन्दै छ । अब केही कुरा निर्यात गर्दा निरोगी पशुको उत्पादन हो भनेर खोप कार्ड देखाउनु पर्ने बाध्यता हुन सक्छ ।’
शर्माका अनुसार गण्डकी प्रदेश सरकारले पशु चौपायामा पूर्ण खोप अभियान विगत तीन वर्षदेखि चलाइरहेको छ । पहिलो वर्ष कुश्मा नगरपालिका–१ पाङमा, दोस्रो वर्ष कुश्मा नगरपालिकाका १४ वटै वडामा र यस वर्ष कुश्मा, फलेवास नगरपालिका, बिहादी, जलजला र मोदी गाउँपालिकामा पशु चौपायालाई पूर्ण खोप सुनिश्चित गर्न लागिएको हो ।

पाँच ओटा स्थानीय तहका चौपायालाई दुई चरणमा गरेर सबै प्रकारका खोपहरू लगाउने गरी ४९ जना कर्मचारीहरू नियुक्ति गरेर काममा खटाइएको छ । ती कर्मचारीहरूसहित सम्बन्धित स्थानीय तहका पशु सेवा शाखाका कर्मचारीहरूको सहकार्यमा दसैँसम्मलाई पहिलो चरण मानेर खोरेत रोग बिरुद्धको खोप लगाउन थालिएको छ ।

यो बेला पशुहरूमा खोरेतको प्रकोप देखिन सक्ने भएकाले दसैँ अगावै उक्त खोप लगाइसक्ने गरी काम भइरहेको छ । यसपछिको दोस्रो चरणमा गाई भैँसीमा देखिने भ्यागुते र चरचरे बिरुद्धको खोप, भेडा बाख्रामा पिपिआर, कुकुरमा रेबिज बिरुद्धको खोप, बंगरमा अहिले खोरेत र पछि स्वाइनफिवर बिरुद्धको खोप लगाइने छ । यी दुवै चरणलाई सकेसम्म तीन महिनाभित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

पूर्ण खोप लगाउनुको तत्कालीन उद्देश्य पशुहरूमा आउने रोगको प्रकोप रोकेर मृत्यु तथा बिरामी हुनबाट जोगाई कृषकलाई क्षति पुग्न नदिने र दीर्घकालीन रूपमा भने पशुजन्य पदार्थलाई विकृत हुन नदिनु रहेको शर्माको भनाई छ । पशु स्वास्थ्य चिकित्सकहरूले कृषकका घर–घरमा पुगेर चौपायालाई खोप लगाएपछि कार्डमा लगाएको खोपको प्रकार, मिति, मात्रा र फेरि लगाउने भन्ने जानकारी लेखिएको हुन्छ ।

पर्वतसहित गण्डकी प्रदेश र देश नै पशुजन्य उत्पादनमा निर्भरताको बाटोमा लागेकोले अब निर्यात गर्ने अवस्था आउने भएकाले त्यसका लागि पनि पूर्ण खोप सुनिश्चित भएको हुनुपर्ने शर्मा बताउँछन् । पशुको खरिद बिक्री गर्दा वा पशुजन्य उत्पादन आयात निर्यात गर्दा पूर्ण खोप लगाएको स्वस्थ पशुको मात्रै लेनदेन हुने भएकाले प्रदेश सरकारले खोप कार्डकै व्यवस्था गरेर पशुलाई पूर्ण खोप दिन लागेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->