बागलुङ/बलेवा एकता बचत तथा ऋण सहकारी संस्था बागलुङ बजार सदस्य सेवा केन्द्रको संयोजकमा चन्द्रप्रकाश शर्मा ‘गणेश’ चयन भएका छन् । सहकारीको १२ औं साधारणसभाअन्तर्गत बागलुङ सदस्य सेवा केन्द्रको क्षेत्रगत साधारणसभाले शर्माको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उप–संयोजकमा प्रकाशप्रसाद शर्मा, सचिवमा तारानाथ आचार्य र कोषाध्यक्षमा कल्पना सुवेदीलाई चयन गरेको सहकारीका प्रबन्धक भरत पौडेलले बताए । सदस्य सेवा केन्द्र सञ्चालक सदस्यहरुमा बाबुराम लम्साल, हरिप्रसाद पौडेल, बालाजी शर्मा, सहारा खड्का र लक्ष्मी घर्ती क्षेत्री खड्का चयन भएका छन् ।
साधारणसभाले परशुराम सुवेदी संयोजक रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण कार्यदलसमेत गठन गरेको छ । कार्यदलको सदस्यहरुमा बालकृष्ण रेग्मी र सिर्जना अधिकारी चयन भएको निर्वाचन समितिका संयोजक नविन शिशिर बिकले बताए ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानमा केन्द्रिय कार्यालय रहेको सहकारीले गत चैतमा बागलुङ बजारमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । तदर्थ समिति बनाएर सञ्चालनमा आएको सेवा केन्द्रले पहिलो पटक साधारणसभाबाट निर्वाचित पदाधिकारी तथा सञ्चालकहरु पाएको प्रबन्धक पौडेलले बताए । साधारणसभालाई सम्वोधन गर्दै सहकारीका अध्यक्ष इन्द्रप्रसाद शर्माले सहकारी नाफामा भन्दा सेवामा रमाउन सक्नुपर्नेमा जोड दिए । उनले बलेवा एकताले सदस्यको हितभन्दा पर कहिलै काम नगर्ने प्रतिवद्धता जनाए ।
साधारण सभामा सहकारीका सल्लाहकारहरु ढुण्डीराज शर्मा, कमलकुमार जिसी, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नविन शिशिर बिक, सहकारीका प्रबन्धक भरत पौडेललगायतले बोलेका थिए । सदस्य सेवा केन्द्र तदर्थ समितिका संयोजक चन्द्रप्रकाश शर्माको अध्यक्षता, उपसंयोजक टीकाराम शर्माको स्वागत र सचिव तारानाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





